नेभिगेशन
दृष्टिकोण

प्रकाशतर्फको यात्रा : ध्यान

आज मानिस शारीरिक रूपमा मात्र होइन, मानसिक, भावनात्मक रूपमा पनि थकित हुँदै गएको छ । तनाव, चिन्ता, अवसाद, अनिद्रा, क्रोध, असन्तुलित जीवनशैली र सामाजिक दबाबले समग्र मानव स्वास्थ्यलाई गम्भीर असर पारिरहेको छ । यस्ता चुनौतीको समाधानका लागि आधुनिक विज्ञानले पनि स्वीकार गरेको एक प्रभावकारी र सरल उपाय हो–ध्यान । ध्यानको महत्वलाई आत्मसात गर्दै संयुक्त राष्ट्रसंघले २१ डिसेम्बरलाई “विश्व ध्यान दिवस” का रूपमा मनाउने घोषणा गरेको छ । यो दिवसले ध्यानलाई मानवताको साझा अभ्यासको रूपमा स्थापित गर्न खोजेको छ । २१ डिसेम्बर वर्षको सबैभन्दा छोटो दिन पनि हो । दिन छोटो हुँदा रात चाँडो हुन्छ त्यसैले बाह्य रूपमा अँध्यारो बढी भए पनि यही दिनबाट प्रकाशतर्फको यात्रा शुरू गर्न सकिन्छ भन्ने सांकेतिक अर्थ पनि दिन सक्छ । ध्यानले मानिसलाई अन्तरमुखी बनाएर आत्मचेतनाको उज्यालोतर्फ लैजान्छ ।

ध्यान चमत्कार वा कर्मकाण्ड होइन । यो त आफैँभित्र फर्किने सचेत यात्रा हो । ध्यानले मानिसलाई वर्तमान क्षणमा ल्याउँछ, जहाँ जीवन वास्तवमै अनभूति हुन्छ । ध्यानको मूल अर्थ हो सचेतता । हामी प्रायः या त विगतका स्मृतिमा अल्झिरहेका हुन्छौं, वा भविष्यका चिन्तामा हराइरहेका हुन्छौं । ध्यानले हामीलाई अहिले, यहाँ जीवन छ भन्ने अनभूति दिलाउँछ । यही अहिलेको क्षणमा पूर्ण रूपमा उपस्थित हुनु नै ध्यानको पहिलो ढोका हो । वर्तमान क्षणमा पूर्ण रूपमा उपस्थित हुनु ध्यानको उपलब्धि हो । ध्यानको अभ्यासमा जे भइरहेको छ, त्यसलाई ठीक त्यही रूपमा स्वीकार गर्न सिक्छौँ । स्वास भित्र आउँदैछ, स्वास बाहिर जाँदैछ को सचेत अनुभूतिबाट आत्मस्वीकृतिको यात्रा हो, ध्यान । ध्यानको उपस्थितिले मन मलिन हुँदै जान्छ, भौंतारिने गति सीमित हुँदै जान्छ । स्वास, शरीर र मनलाई सचेत रूपमा अवलोकन गर्नुले मनलाई विस्तारै एकाग्र बनाउँदै ै लैजान्छ । ध्यानले स्वासलाई नियन्त्रण गर्न, शरीरलाई जबर्जस्ती शान्त पार्न वा मनलाई खाली बनाउन खोज्दैन बरु जे भइरहेको हुन्छ त्यसलाई दर्शक बनेर हेर्न सिकाउँछ । प्रतिक्रिया विहीन द्रष्टा बन्न सिकाउँछ । स्वास कसरी चलिरहेको छ ? शरीरमा कहाँ कस्तो संवेदना छ ? मनमा कुन विचार उठिरहेको छ ? यी सबैलाई कुनै मूल्यांकन नगरी, कुनै प्रतिक्रिया नदिई साक्षीभावमा हेर्नु नै ध्यान हो । यही अवलोकनले हामीलाई शरीर र मनको गहिरो बुझाइको अनुभवमा लैजान्छ ।

प्रायः ध्याता भ्रममा पर्छन् र ध्यान गर्दा विचार आउनु हुँदैन भन्ने धारणा राख्छन् । वास्तवमा, विचार आउनु स्वाभाविक प्रक्रिया हो । ध्यानमा हामी विचारसँग लड्दैनौं, न त त्यसलाई दबाउन खोज्छौं । हामी विचारलाई यसरी हेर्छौं, जसरी आकाशमा बादल आएर जान्छन्, तर आकाश रहिरहन्छ । विचार आउँछ, हामी त्यसलाई हेर्छौं, बुझ्छौं, अनि त्यससँग नअल्झी छोडिदिन्छौं । यही प्रक्रियाले मन हलुका हुँदै जान्छ र मानसिक बोझ कम हुन्छ । यसरी क्रमशः आफूभित्रको शान्ति र स्पष्टतासँग जोडिनु ध्यान हो । जब मनको हल्ला बिस्तारै शान्त हुँदै ै जान्छ तब भावनाहरू सन्तुलित हुन्छन् । ध्यानको अवस्थामा कुनै प्रतिक्रिया हुँदैन, सचेत अनुभूति भइरहन्छ, त्यो नै आन्तरिक शान्ति हो । यो शान्ति परिस्थिति बदलिँदा पनि कायम रहिरहन सक्छ ।

त्यसैले ध्यान आफूलाई भागदौडबाट रोक्ने, आफूलाई बुझ्ने र आफूभित्रको सत्य साक्षात्कार गर्ने साधना हो । सचेत भएर आफूलाई जान्ने कला नै ध्यान हो । यसले हामीलाई “म को हुँ ?”, “म किन यस्तो प्रतिक्रिया गर्छु?”, “मेरो वास्तविक आवश्यकता के हो ?” भन्ने प्रश्नहरूको उत्तर आफैँभित्र खोज्न सिकाउँछ । ध्यानको अभ्यास मानव सभ्यताको प्रारम्भिक चरणदेखि नै विकसित हुँदै आएको हो । वैदिक परम्परामा ध्यानलाई आत्मज्ञान प्राप्त गर्ने सर्वोच्च साधनका रूपमा लिइएको छ । ऋग्वेद, यजुर्वेद तथा सामवेदमा ऋषिहरूले “ध्यान” र “तपस्या” मार्फत सत्यको अनुभूति गरेको उल्लेख छ । उपनिषद्हरूले यस अभ्यासलाई अझ स्पष्ट दार्शनिक आधार दिएर “आत्मा र ब्रह्मको एकत्व” अनुभूति गर्न ध्यान अपरिहार्य भएको बताउँछन् ।

उपनिषद्को शिक्षामा ध्यान भनेको इन्द्रिय र मनलाई भित्र फर्काएर आत्मबोधमा स्थिर हुनु हो । ईसा पूर्व छैटौं शताब्दीमा भगवान बुद्धले ध्यानलाई दुःख मुक्ति गर्ने व्यवहारिक मार्गका रूपमा प्रस्तुत गर्नुभयो । बुद्ध दर्शनमा विशेष गरी विपश्यना ध्यानको विकास भयो, जसले शरीर, वेदना, चित्त र धर्म (धम्म) को सचेत अवलोकनमार्फत अनित्यता, दुःख र अनात्मताको बोध गराउँछ । विपश्यना ध्यानले अनुभूति र सचेत जागरणमार्फत मुक्तितर्फ लैजान्छ । यसैगरी, योग दर्शनका महर्षि पतञ्जलीले योगसूत्रमार्फत ध्यानलाई व्यवस्थित र वैज्ञानिक ढंगले परिभाषित गर्नुभयो । अष्टांग योगको सातौं अंगका रूपमा ध्यानलाई राखिएको छ, जहाँ धारणा (एकाग्रता) बाट ध्यान र ध्यानबाट समाधिसम्म पुग्ने क्रम वर्णन गरिएको छ । पतञ्जलीका अनुसार ध्यान भनेको “चित्तवृत्तिको निरन्तर एकाग्र प्रवाह” हो, जसले मनलाई पूर्ण शान्ति र स्पष्टतामा पुर्‍याउँछ । यस दर्शनले ध्यानलाई केवल आध्यात्मिक मुक्ति मात्र होइन, मानसिक अनुशासनको अभ्यासका रूपमा पनि स्थापित गरेको छ । पूर्वी एसियामा ताओवादी र जेन परम्पराले ध्यानलाई प्रकृतिसँगको सामञ्जस्य र तत्कालिक सचेतताको अभ्यासका रूपमा विकास गरे । ताओवादमा ध्यान प्रकृतिको लयसँग मिलेर सहज जीवन जिउने माध्यम हो भने जेन परम्परामा ध्यान (जाजेन) ले क्षणक्षणको जागरूकतामार्फत बोधि प्राप्ति गर्ने मार्ग देखाउँछ । पश्चिमी र मध्यपूर्वी परम्परामा सूफी साधनाले पनि ध्यान, मौन, स्मरण (जिक्र) र प्रेममार्फत ईश्वर अनुभूति र आत्मशुद्धिलाई प्राथमिकता दिएको छ । यी सबै परम्पराहरू फरक सांस्कृतिक पृष्ठभूमिबाट विकसित भए तापनि ध्यानलाई आत्मबोध र दुःख मुक्ति गर्ने साझा साधनका रूपमा स्वीकार गरेका छन् ।

आजको युगमा ध्यान वैज्ञानिक रूपमा प्रमाणित मानसिक, शारीरिक स्वास्थ्य अभ्यासका रूपमा स्थापित हुँदै गएको छ । आधुनिक न्युरोसाइन्सले ध्यानको अभ्यासले मस्तिष्कको संरचना र कार्यप्रणालीमा सकारात्मक परिवर्तन ल्याउने देखाएको छ । नियमित ध्यानले मस्तिष्कको एकाग्रता, स्मरण शक्ति र निर्णय क्षमतासँग सम्बन्धित भागहरू सुदृढ बनाउँछ, जसलाई न्युरोप्लास्टिसिटी भनिन्छ । मनोविज्ञान र चिकित्सा विज्ञानका अध्ययनहरूले ध्यानले तनाव हर्मोन (कोर्टिसोल) घटाउने, भावनात्मक प्रतिक्रियामा सन्तुलन ल्याउने र चिन्ता तथा अवसादका लक्षणहरू कम गर्ने पुष्टि गरेका छन् । साथै, ध्यानले निद्रा सुधार, रक्तचाप सन्तुलन र समग्र मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्दछ । यी वैज्ञानिक प्रमाणहरूले ध्यानलाई धार्मिक अभ्यासभन्दा पर, मानव स्वास्थ्य, मानसिक सन्तुलन र जीवनको गुणस्तर सुधार गर्ने प्रभावकारी वैज्ञानिक साधनको रूपमा स्थापित गरेका छन् ।

(लेखक ओशोधारा नेपालकी आचार्य हुनुहुन्छ ।)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप दृष्टिकोण