सप्तरी, ४ भदौ । सप्तरी जिल्लाको सदरमुकाम राजविराजलाई भारतको प्रमुख नाकाvकुनौलीसँग जोड्ने मुख्य सडक वर्षौंदेखि जीर्ण अवस्थामा रहेको छ । वर्षौदेखि तीनै तहका सरकार र सम्बन्धित निकायले यसतर्फ कुनै चासो देखाएका छैनन् ।
राजविराज–कुनौली सडकखण्ड अन्तर्गत तिलाठी कोइलाडी गाउँपालिका–१ मा रहेको राजविराज भन्सार कार्यालयदेखि झण्डै ३००–४०० मिटरपूर्वको सडक खण्ड हरेक वर्षाको समयमा कटानमा पर्छ । यसले गर्दा गाडी त के, पैदल हिँड्नसमेत मुस्किल हुने अवस्था हुन्छ । वर्षा लागेसँगै बाटोमा गाडी आवतजावतमा रोक लाग्छ भने पैदल हिँडने अवस्था पनि हुँदैन ।
अहिले सुख्खा मौसममा स्थानीय बासिन्दा र सवारी चालकहरूले माटो हालेर अस्थायी रुपमा सडक खुल्ला गरे पनि दुर्घटनाको जोखिम यथावत् रहेको स्थानीय चालक दिनेश खंग बताउँछन् । उनी भन्छन्, ‘कटानपछि पुलसमेत भासिएको थियो । वर्षामा त यहाँ हिँड्नै नमिल्ने गरी नदीजत्रै ठूलो खोला बग्छ । अहिले माटो हालेर चलाएका छौं, तर गाडी कुन बेला दुर्घटनामा पर्छ भन्ने डर लागिरहन्छ ।’
करिब चार वर्षअघि बाढी आएको समय यही सडक पार गर्ने क्रममा दुई युवाको ज्यानसमेत गएको थियो । स्थानीय बासिन्दा सुशील यादव सरकारको उदासीनताप्रति आक्रोशित छन् ।
‘यो बाटो बिना राजविराज वा भारतका आफन्त कहाँ पुग्न सकिँदैन । तिलाठी, बेल्ही, लोखरम, गोरगमा, विपरपुर, रम्पुरा, मल्हनियाँ, डलवा, बिसनपुर लगायत दर्जनौं गाउँका बासिन्दालाई यही बाटो भएर जानुपर्छ । तर तीन तहका सरकार कसैलाई पनि यो बाटोबारे कुनै चासो छैन,’ उनले भने ।
यही सडक भएर भारतको कुनौलीबाट राजविराज भन्सारसम्म मालबाहक गाडी आउँछन् । तर सडकको खराब अवस्थाले गाडी चल्न नसक्दा राजश्व संकलनमा पनि असर परेको छ । राजविराज भन्सार प्रमुख सत्य नारायण सिंह भन्छन् ‘हामीले लक्ष्यअनुसार राजश्व संकलन गरेका छौँ तर यो बाटो वर्षायाममा पूर्ण रुपले बन्द भएपछि राजश्वमा स्वभाविक रुपमै कमी आउने हो, त्यसमा अहिले पनि सबै गाडीहरू आउन सक्ने अवस्था छैन ।’
कटानको समस्या समाधान गरी सडक बनेको खण्डमा राजश्व संकलनमा निकै वृद्धि हुने उनको भनाइ छ । उनले यस सडकबारे जिल्ला प्रशासन कार्यालय, सडक डिभिजन कार्यालय र भन्सार विभागमा समेत जानकारी गराएको तर अहिलेसम्म सडकको समस्या समाधान गर्न कुनै निकायले काम थालेको अवस्था नरहेको बताए ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह र बहालवाला संघीय मन्त्री नवल किशोर साह सुडीको गृहपालिका पनि यही बाटोमा जोडिएको छ । उनीहरू यो बाटो हुँदै प्रायः आवतजावत गर्ने गर्छन् । यद्यपि यसको समाधान गर्न कुनै तदारुकता नदेखाएकामा स्थानीय दुःखी छन् ।