नेभिगेशन
खेलकुद

कराते च्याम्पियनमा भाग लिन नेपाली टोली भारत जाँदै

अन्तर्राष्ट्रिय कराते च्याम्पियनशिपमा भाग लिन नेपाली राष्ट्रिय कराते टिम भारतको महाराष्ट्र जाने भएको छ । टोलीको नेतृत्व जापान गोजुरियो कराते डो मिसन संघ नेपालले गर्दैछ । भारतको पुणेमा आगामी सोमबारदेखि १७औं अन्तर्राष्ट्रिय खुला कराते च्याम्पियनशिप–२०२५ हुँदैछ । संघले मंगलबार भैरहवामा पत्रकार सम्मेलन गर्दै नेपाली टोली त्यसतर्फ जान लागेको जानकारी गराएको हो । दुई दिनसम्म चल्ने प्रतियोगितामा नेपालसहित भारत, श्रीलंका, बंगलादेश र भुटान गरी पाँच राष्ट्रका खेलाडीहरूको सहभागिता रहनेछ ।

नेपाली टिमको नेतृत्व गर्दै प्रमुख प्रशिक्षक काजी रानाले गर्दैछन् । टिममा २२ कराते खेलाडी, प्रशिक्षक र अफिसियल ६ गरी २८ जना सहभागी हुनेछन् । संघका सचिव गिरीप्रसाद पुनले विगतका वर्षहरूमा जस्तै यसपटक पनि उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण पदक जित्ने विश्वास व्यक्त गरे । प्रमुख प्रशिक्षक तथा संघ संस्थापक काजी रानाले प्रशिक्षण अनुशासन, शिक्षा खेल कौशल हेरेर खेलाडी छनोट गरिएकाले च्याम्पियन बन्ने विश्वास व्यक्त गरे । संघका लुम्बिनी प्रदेश सल्लाहकार भरत केसीले नेपालको मान राख्न खेलाडीहरूलाई शुभकामना दिए । उनले राम्रो प्रशिक्षण लिएको र लगनशील भएकाले उपाधि जित्ने विश्वास गरे । कुनै तहका सरकारले सहयोग नगरेको उनको दुखेसो थियो । प्रतियोगितामा सहभागी हुन जाने खेलाडीहरू लुम्बिनी प्रदेशका जिल्लाका छन् । संघका अनुसार भारतमा नेपाली खेलाडीले उमेर र तौल समूहमा स्पर्धा गर्नेछन् । नेपाली टिम यसअघि २०१७, २०२१ र २०२३ मा च्याम्पियन बनेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद