नेभिगेशन
दृष्टिकोण

रूपान्तरण नभएको संस्कार

हुँदा युवापुस्ताले आफ्नो पहिचानलाई गौरवका साथ बोकेर आधुनिकता र परम्पराको हातेमालो सुनिश्चित गर्न सक्छन् । जरा सम्हालेर माथि बढ्ने रुख नै दिगो हुन्छ; जरा काटेर उभिएको रुख धेरै समय टिक्न सक्दैन ।

आजको विश्व तीव्र गतिमा रूपान्तरण भइरहेको छ । विज्ञान, प्रविधि, सूचना प्रवाह र उदारीकरणले मानवीय जीवनका हरेक आयामलाई स्पर्श गरिसकेको छ । आधुनिक समाज निरन्तर गति, प्रतिस्पर्धा र नवप्रवर्तनका आधारमा अघि बढिरहेको छ । यस्ता परिवर्तनहरूको केन्द्रमा आजको युवापुस्ता उभिएको छ, जसलाई कुनै पनि राष्ट्रको भविष्यको आधारशिला मानिन्छ । देश कस्तो हुन्छ र कता फर्कन्छ भन्ने खाका युवाको सोच, आचरण र निर्णयबाटै तय हुन्छ । तर यति धेरै तीव्र रूपान्तरणका बीच पुस्तान्तरणसँगै संस्कारको रूपान्तरण भने अपेक्षितरूपमा हुन सकेको छैन ।

परिवर्तन स्वीकार्नु विकासको पूर्वशर्त हो । तर जरा काटेर गरिएको परिवर्तन दिगो हुँदैन । अग्रज पुस्ताले दिएको अनुशासन, मूल्य, अनुभव, सांस्कृतिक चेतना र सामाजिक उत्तरदायित्वको भावनासँग जोडिन नसक्दा आधुनिकताले युवालाई जति अघि बढाए पनि विखण्डित तुल्याइरहेको देखिन्छ । अति विकसित मुलुकको उदाहरण हेर्दा, त्यहाँ औद्योगिक उत्थान, प्रविधिको उत्कर्ष र आधुनिक जीवनशैलीको हुलमुलबीच पनि परम्परा, इतिहास, सांस्कृतिक संरचना र पहिचानप्रतिको आस्था बलियो छ । उनीहरूले आधुनिकताको जग आफ्नै जरा र पहिचानमै राखेका छन् । यसैले आधुनिक राष्ट्रहरू दिगो र सुदृढ छन् ।

नेपालको सन्दर्भलाई हेर्दा २०४६ सालको राजनीतिक परिवर्तनपछि २०५२ सम्मको समय युवापुस्ताको जागरणको कालखण्ड थियो । राजनीतिक चेतना, सामाजिक प्रतिबद्धता, अनुशासन, देशप्रेम र अग्रजप्रति सम्मान युवाको आचरणमा देखिन्थ्यो । तर २०५२ पछि सुरु भएको द्वन्द्वले देशको राजनीतिक संरचना मात्र होइन, सामाजिक जीवन, समुदाय, परिवार र पुस्तान्तरणको स्वाभाविक प्रक्रियालाईसमेत गम्भीररूपमा प्रभावित गरिदियो । द्वन्द्वकालमा १५ देखि १८ वर्षका किशोर–किशोरीहरू अभिभावकविहीन अवस्थामा सहर–सहर, विद्यालय–विद्यालय बदल्दै बाँच्न बाध्य भए । २० वर्षभन्दा माथिका युवाहरू रोजगारी वा सुरक्षाको खोजीमा ठूला सहर, भारत वा विदेशिन बाध्य भए । यसले युवापुस्तालाई पारिवारिक निगरानी, नैतिक मार्गदर्शन, सामाजिक जिम्मेवारी र संस्कारयुक्त वातावरणबाट टाढा पुर्‍यायो । परिणामस्वरूप युवामा अनुशासनहीनता, सामाजिक मूल्यप्रति उदासीन, धर्म–संस्कृति र परम्पराप्रतिको बेवास्ता, परिवार र समुदायसँगको दूरी तथा ‘म र मेरो’ को सोच विकास हुन थाल्यो । प्रविधिमा अत्यधिक निर्भरता, सामाजिक सञ्जालको भुलभुलैयामा हराउने मनोवृत्ति, पश्चिमी जीवनशैलीको अन्धानुकरणले युवालाई आफ्नो पहिचान र परम्परादेखि टाढा बनाउँदै लान थाल्यो । विशेषगरी २०५२ देखि २०६५ बीच जन्मिएको पुस्तामा प्रविधिको पहुँच, खुला बजार, विश्वव्यापी सूचना–प्रवाह र आधुनिक जीवनशैलीको प्रभावले आफ्नै संस्कृति, भाषा, भेषभूषा, चाडपर्व र सामूहिकताजस्ता परम्परागत मूल्यप्रति चासो घट्दै गएको देखिन्छ ।

तर संस्कारको रूपान्तरण नहुनु पुराना पुस्ताले सिकाएका सबै मूल्यहरू जस्ताको त्यस्तै थामिरहनुपर्छ भन्ने होइन । संस्कार सदैव समयअनुसार अद्यावधिक हुन्छन् । तर रूपान्तरणको अर्थ विस्थापन होइन, विस्तार हो । पुरानो मूल्यलाई सुधारेर, आधुनिक सोचसँग जोडेर र राष्ट्रिय पहिचानलाई सबल बनाउँदै अघि बढ्ने प्रक्रिया नै रूपान्तरण हो । आधुनिकता अँगाले पनि जरा सम्हाल्नु, परम्परा नबिर्सिनु, पहिचान नछोड्नु र अग्रजको मार्गदर्शनको सार ग्रहण गर्नुले मात्र समाज सही दिशातर्फ उन्मुख हुन सक्छ ।

पूर्खाले नेपाललाई ‘चार जात छत्तीस वर्णको फूलबारी’ भनेका छन् । यो सुन्दर उपमा मात्र होइन, गहिरो अर्थ बोकेको पहिचान हो । नेपालमा आज दुई सयभन्दा बढी मातृभाषा बोलिन्छन् । प्रत्येक भाषाले आफ्नो इतिहास, सभ्यता, भूगोल, संस्कृति र समुदायको जीवनशैली बोकेका छन् । जातीय समूहहरूको भेषभूषा, चाडपर्व, खानपान, पूजा–पद्धति, कुलपूजा, प्रकृति पूजा, मौलिक नृत्य र लोकगीतजस्ता परम्परा नेपालका धरोहर हुन् ।

यिनै विविधताले नेपाललाई सांस्कृतिक दृष्टिले समृद्ध बनाएको छ । तर पछिल्लो केही समय युवापुस्तामा आफ्नै भाषाप्रति उपेक्षा, सांस्कृतिक पोशाकप्रति लज्जा, परम्पराप्रति उदासीनता र चाडपर्वप्रतिको चासो घट्दै गएको छ । यसले पुस्तान्तरण मात्र होइन, राष्ट्रिय पहिचानमा पनि चुनौती सिर्जना गरिरहेको छ । भाषा र संस्कृति कमजोर हुँदा पहिचान हराउन धेरै समय लाग्दैन । पहिचान कमजोर भयो भने राष्ट्र पनि कमजोर बन्न पुग्छ । नेपालको सांस्कृतिक धरोहर पर्यटन उद्योगसँग प्रत्यक्ष जोडिएको छ । आज संसारभर सांस्कृतिक पर्यटन र जातीय पर्यटनको माग बढिरहेको छ । नेपालका गुरुङ, नेवार, शेर्पा, थकाली, थारु, मगर, तामाङ आदिका परम्परा, भेषभूषा, भाषा, नृत्य, गीत, खानपान र जीवनशैलीले नै विदेशी पाहुनालाई नेपालप्रति आकर्षण बढाएको छ । युवापुस्ताले आफ्नै सांस्कृतिक सम्पदाको पहिचान गरेर, यसको अध्ययन र संरक्षणमा लागेर, इतिहास र परम्परालाई आधुनिक व्याख्यामा प्रस्तुत गरेर समुदायमा आधारित सांस्कृतिक पर्यटनलाई प्रवर्धन गरे मात्र देशको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुग्छ ।

युवा नै वास्तविक अर्थमा दुई पुस्ताबीचका संवाहक भएकाले उनीहरूकै काँधमा भाषा, संस्कृति र परम्पराको जगेर्नाको जिम्मेवारी छ । आधुनिकतामा रमाएर संस्कारबाट टाढा जाँदा व्यक्तिगत पहिचान मात्र होइन, सामूहिक पहिचान पनि कमजोर बन्छ । तर आधुनिकता र संस्कार बीचको दूरी घटाउन सकिँदा नयाँ पुस्ता जिम्मेवार, पहिचानयुक्त र सक्षम बन्नेछ । यसका लागि परिवार, समुदाय, राज्य सबैले समानरूपमा भूमिका खेल्न आवश्यक छ । परिवारले संस्कार, भाषा र मूल्यको पहिलो पाठ सिकाउने वातावरण दिनुपर्छ । विद्यालयले स्थानीय संस्कृति, इतिहास र पहिचानका विषयलाई व्यावहारिक रूपमा सिकाउनुपर्छ । समुदायले परम्परागत कला, संस्कार, रीतिरिवाजलाई जगेर्ना गर्ने  कार्यक्रमलाई निरन्तरता दिनुपर्छ । राज्यले सांस्कृतिक सम्पदा, भाषा र पर्यटनका क्षेत्रमा दीर्घकालीन योजना बनाएर कार्यान्वयन गर्नुपर्छ । त्यसो हुँदा युवापुस्ताले आफ्नो पहिचानलाई गौरवका साथ बोकेर आधुनिकता र परम्पराको हातेमालो सुनिश्चित गर्न सक्छन् । जरा सम्हालेर माथि बढ्ने रुख नै दिगो हुन्छ; जरा काटेर उभिएको रुख धेरै समय टिक्न सक्दैन । त्यसैले आजको युवापुस्ताले आधुनिकताको उडान र संस्कारको जरा रक्षा गर्दै  अघि बढ्नुपर्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्