नेभिगेशन
दृष्टिकोण

मानसिक रोग : अन्धविश्वास र उपचारका चुनौती

डा निराकारमान श्रेष्ठ
मानसिक रोगप्रतिको सामाजिक कलंक विकसित देशहरूमा भन्दा विकासोन्मुख देशहरूमा धेरै पाइन्छ । गाउँले परिवेशमा मात्र नभई सहरी परिवेशमा हुर्केका व्यक्तिहरूमा पनि व्यापकरूपमा छ । मानसिक रोग लागेका व्यक्तिको विवाह गर्न, जागिर खान गाह्रो हुने र आधारभूत मानवअधिकारबाट पनि वञ्चित हुनसक्छ भनेर परिवार वा बिरामी आफैंले रोग लुकाएको पाइन्छ । यसमा महिला बढी पीडित भएको पाइन्छ । एकपटक मानसिक रोग लागेर निको भइसकेका व्यक्तिलाई कतिपयले ‘यो त साइको हो’ भन्ने गरेको सुनिन्छ । त्यसैले पनि मानसिक रोग लुकाउने गरेको पाइन्छ ।

मानसिक रोग खराब कर्मको फल हो, देवी–देवताको श्राप हो भन्ने अन्धविश्वासमा परी चिकित्सकबाट उपचार गर्नुभन्दा देवी–देवतालाई खुसी पार्न व्रत बस्ने, तीर्थ जाने, भाकल गर्ने, बलि चढाउनेजस्ता काम गर्छन् । मानसिक रोग भूत, प्रेत, पिशाच, वायु, बोक्सी आदिले गर्दा हुन्छ भनेर चामल फुक्नेदेखि बिरामीलाई सिस्नुपानीले पिट्ने, तातो फलामले डाम्ने, थप्पड लगाउनेजस्ता अनेक प्रकारका अमानवीय यातना दिने गरेको पनि पाइन्छ । कतिपय मानसिक रोगीहरूले धर्म प्रचार गर्नेहरूको फन्दामा परेर ‘धर्म परिवर्तन गर्दा रोग निको हुन्छ’ भन्ने भ्रममा परी धर्म परिवर्तन गर्ने गरेको समेत पाइन्छ ।

धेरैजसो मानसिक रोगहरूमा कैयौं महिनादेखि कैयौं वर्षसम्म नै औषधि सेवन गर्नुपर्ने हुन्छ । धेरै बिरामीले आर्थिक अभावका कारण नियमित औषधि किनेर सेवन गर्न सक्दैनन् र नचाहेर पनि औषधि सेवन गर्न छोड्छन् । औषधि पसलहरू प्रायः सहरमा हुने र धेरैले मानसिक रोगसम्बन्धी औषधि नै नराख्ने भएकाले पनि कतिपय बिरामी दुर्गम ठाउँबाट आएर औषधि किन्न नसक्ने पनि हुन्छन् । टाढा तथा दुर्गम क्षेत्रका कैयौं मानसिक बिरामीहरू चिकित्सकले सुझाव दिएझैं बीच–बीचमा जँचाउन; फलोअपमा आउन सक्तैनन् र औषधि खान छुट्ने हुन्छ । यसले गर्दा निको हुँदै गरेको रोग पनि बल्झिन्छ ।

उपचारमा ढिलाइ

मानसिक रोगका बिरामीहरू नजानेर अरू विषयका चिकित्सकसँग जँचाउन जाने समस्या पनि छ । कतिपय मानसिक रोगहरूमा विभिन्न प्रकारका शारीरिक लक्षणहरू पनि हुन्छन् । कसैमा त मानसिक लक्षण केही नहुने र शारीरिक लक्षणहरू मात्र पनि हुन्छन् । त्यसैले लक्षणहरूअनुसार विभिन्न विषयका चिकित्सकसँग जँचाउन जान्छन् । धेरै चिकित्सकहरूले विभिन्न प्रकारका रगत जाँच, एक्सरे, पिसाब जाँच, सीटी स्क्यान, एमआरआई आदि गराउँछन् र कुनै शारीरिक खराबी नदेखिँदा पनि बिरामीलाई साइकियाट्री औषधि लेखी धेरै समयसम्म बिरामीलाई होल्ड गरिरहन्छन् ।

कसैले मानसिक रोग विशेषज्ञकहाँ जानू भनी सल्लाह दिँदा पनि ती बिरामीले उल्टै ‘म केही मानसिक रोग नभएको व्यक्तिलाई डाक्टरले मानसिक रोग विशेषज्ञकहाँ किन रिफर गरेको ?’ भनी रिसाउँछन् । त्यसपछि मानसिक रोग विशेषज्ञसँग नजँचाई फेरि त्यस्तै अरू चिकित्सकसँग जँचाउन जान्छन् । यो काम लामो समयसम्म चल्छ र धेरै खर्च पनि हुन्छ । कोही बिरामी त भारत, थाइल्याण्ड, सिंगापुर तथा अन्य देशमा पनि जँचाउन जान्छन् । केही सीप नलागेपछि अरू यस्तै बिरामीले मानसिक रोग विशेषज्ञसँग उपचार गराएपछि ठीक भएको सुनेर उनीहरू पनि रोग छिप्पिइसकेपछि र धेरै सम्पत्ति खर्च गरेपछि मानसिक रोग विशेषज्ञसँग जँचाउन आइपुग्छन् ।

नियम–विपरीत औषधि बिक्री

कुनै–कुनै औषधि चिकित्सकको पुर्जीबेगर बेच्न पाउने प्रावधान छ । तर डाक्टरको पुर्जीबेगर बेच्न नपाउने औषधिहरू र लत लाग्ने समूहका औषधिहरूसमेत राजधानी काठमाडौंका फार्मेसीलगायत देशभरि नै बेचबिखन भइरहेको पाइन्छ । डाक्टरले लेखेको पुर्जी केवल एकपटकलाई मात्र हो र सो बुझी–बुझी पनि सोही पुर्जीमा थपीथपी लामो समयसम्म र कसैले त वर्षौंसम्म औषधि बेचेको पाइन्छ ।

डाक्टरले लेखेअनुसार बिरामीले औषधि नखाने, डाक्टरले भनेअनुसारको अरू सल्लाह नमान्ने, डाक्टरले फेरि यो दिन आउनु भनेको दिन नआउने, बीचैमा औषधि छोड्ने, आफैं औषधि किन्दै खाने, आफूले नै औषधिको मात्रा थपघट गर्ने आदि समस्याहरू पर्याप्तरूपमा देखिन्छन् ।
नेपालको ठूलो जनसंख्या गाउँमा बस्ने हुन्छ । दुर्गम र अति दुर्गम ठाउँबाट बेला–बेलामा सहरमा आई डाक्टरसँग जँचाउने र आउने–जाने खर्च अनि होटलमा बस्ने खर्च आदिको कठिनाइका कारणले पनि ठूलो समस्या देखिन्छ । हाल केही वर्षदेखि धेरै मानसिक रोग विशेषज्ञहरू ठाउँ–ठाउँमा गएर बिरामी जाँच्ने काम गरेकाले केही हदसम्म केही बिरामीले यो समस्याबाट राहत पाएको देखिन्छ ।

कडा खालको मानसिक रोग लागेका बिरामीमा बिरामी हो र उपचार गर्नुपर्छ भन्ने अन्तर्दृष्टि नहुने भएकाले उपचारका लागि नआउने, औषधि नखाने, परिवारमा गाह्रो हुने र कुटपिट, तोडफोडको समस्या धेरै हुने देखिन्छ ।

मानसिक रोग र औषधिको भ्रामक प्रचार

उपचार गर्न आउने धेरै बिरामीले ‘मानसिक रोगको उपचार एकपटक गरेपछि छाड्न नहुने र सधैंभरि गरिरहनुपर्ने हुन्छ’ भनी सोच्ने गर्छन् । यो गलत कुरा हो । धेरैजसो मानसिक रोगहरूमा केही महिना औषधि खाएर छोड्न सकिन्छ भने कुनै–कुनै मानसिक रोगमा त बिनाऔषधि केवल साइकोथेरापी, काउन्सिलिङले पनि ठीक हुन्छ ।

कसैले त ‘मानसिक रोगको औषधि खाँदा मिर्गौला बिगार्ने, कलेजो आदि बिगार्ने भनेको कुरा सत्य हो ?’ भनी सोध्छन् । यो पनि गलत कुरा हो । कुनै पनि औषधि बजारमा बिक्रीमा आउनुअघि थुप्रै जीवजन्तु तथा स्वयंसेवक मानवहरूमा परीक्षण गरी त्यसले कुनै प्रकारको ठूलो हानी–नोक्सानी शरीरलाई गर्दैन भनी प्रमाणित भएपछि मात्र बजारमा बेच्न पाइने भनिएको हुन्छ । उपर्यक्त गलत प्रचारका कारणले पनि मानसिक रोगको उपचारमा समस्या भएको पाइन्छ ।

जनशक्ति र बजेट अभाव

मानसिक रोगको उपचार भनेको सामूहिक काम हो । मानसिक रोग विशेषज्ञ, क्लिनिकल साइकोलोजिस्ट, साइकियाट्रिक नर्स, साइकियाट्रिक सोसल वर्कर, अक्युपेसनल थेरापिष्ट आदि सबै यो समूहमा पर्छन् ।

३ करोडभन्दा ज्यादा जनसंख्याका लागि हाल नेपालमा साढे २ सय जति मात्र मानसिक रोग विशेषज्ञ छन् । मानसिक रोग विशेषज्ञ र जनसंख्याका हिसाबले हालको अनुपात एकदम कम छ । विश्व स्वास्थ्य संगठनको सिफारिसअनुसार १० हजार जनसंख्याका लागि एकजना मानसिक रोग विशेषज्ञ हुनुपर्नेमा नेपालमा १ लाख २० हजार जनसंख्याका लागि एकजना मात्र मानसिक रोग विशेषज्ञ पर्दछ ।

विश्व स्वास्थ्य संगठनका अनुसार हरेक राष्ट्रले आफ्नो राष्ट्रिय बजेटको कम्तीमा १० प्रतिशत बजेट स्वास्थ्य क्षेत्रका लागि छुट्याउनुपर्नेमा नेपालले करिब ५ प्रतिशत मात्र छुट्याउने गरेको पाइन्छ । स्वास्थ्य क्षेत्रमा प्राप्त कुल रकममध्ये केवल ०.२ प्रतिशत मात्र मानसिक स्वास्थ्यलाई छुट्याउने गरेको पाइन्छ । यसरी बजेटको कमीले गर्दा पनि मानसिक रोगको उपचारमा प्रत्यक्ष तथा अप्रत्यक्ष नकारात्मक असर परेको देखिन्छ ।

मनोचिकित्सकले मात्र सम्पूर्ण जनताको उपचार गर्न असम्भव छ, न त उपयुक्त नै हुन्छ । प्यारामेडिक्स जस्तै– अहेव, हेल्थ असिष्टेन्ट तथा एमबीबीएस डाक्टरले पनि बेलाबेलामा आफ्नो स्तरअनुसारको मानसिक रोगसम्बन्धी सेवाकालीन तालिम लिएर धेरैजसो मानसिक रोगको उपचार गर्न सक्षम हुन्छन् । तर यस प्रकारको सेवाकालीन तालिम नियमितरूपमा भएको देखिँदैन ।
सचेतना अभाव

धेरै मानिसमा शारीरिक स्वास्थ्य तथा शारीरिक रोगप्रति सचेतना राम्रो भएमा पनि मानसिक स्वास्थ्य तथा मानसिक रोगप्रतिको सचेतना तथा शिक्षा एकदमै कम भएको पाइन्छ । सर्वसाधारण जनता मात्र नभई समाजसेवी, राजनीतिक कार्यकर्ता, राजनीतिक नेताहरू तथा अन्य शिक्षित वर्गमा पनि मानसिक स्वास्थ्य तथा मानसिक रोगप्रतिको सचेतना कम भएकाले उपचारका लागि नआउने, ढिलो आउने र आए पनि रोगबारे राम्ररी नभन्ने वा चिकित्सकको सुझाव पालना नगर्ने समस्या प्रशस्त देखिन्छ ।

नेपालमा औषधि उपचार गरिरहेका कतिपय मानसिक रोगका बिरामीहरू विभिन्न कारणले विदेशमा जान्छन् । जाँदा केही समयका लागि औषधि लिएर जाने र औषधि सकिएपछि नेपालमा फोन गरेर चिकित्सकलाई औषधि लेखिदिन आग्रह गर्छन् वा उनीहरूको नातेदार आएर औषधि लेखिदिन अनुरोध गर्छन् । तर, विदेशमा रहेका बिरामीको लागि यहाँबाट यसरी औषधि लेख्न प्राविधिक हिसाबले र कानूनी हिसाबले पनि सम्भव हुँदैन ।

गलत शब्दावली

हामीले मधुमेह भएमा मधुमेह भन्छौं । उच्च रक्तचाप भएमा उच्च रक्तचाप भन्छौं, शारीरिक रोग भन्दैनौं । तर डिप्रेसन भयो, मेनिया स्किजोफ्रेनिया भयो भने हामीले सो रोग किटान नगरी मानसिक रोग लागेको भन्छौं । यसरी किटान नगरी मानसिक रोग मात्र भन्दा यो केवल एक प्रकारको मात्र हुन्छ भन्ने बुझिन्छ । तर त्यसो नभई शारीरिकजस्तै मानसिक रोगहरू पनि धेरै प्रकारका हुन्छन् । मानसिक रोग मात्र भन्दा साधारणतया दिमाग बिग्रेको, पागल भएको, बौलाहा भएको भन्ने बुझ्ने गर्छन् । यसले गर्दा पनि मानसिक रोगप्रतिको सामाजिक कलंक तथा गलत धारणा बढ्न गएको पाइन्छ ।
वरिष्ठ मनोचिकित्सक डा श्रेष्ठको पुस्तक ‘संघर्षबाट सफलता’बाट ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप दृष्टिकोण