नेभिगेशन
नेपाल

नक्कली नोटको काठमाडौं–मोतिहारी कनेक्सन

काठमाडौं । भारतको मोतिहारीबाट नक्कली नोट छाप्ने मेसिन र सामग्री नेपालतर्फ ल्याउँदै गरेका एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएपछि काठमाडौंमा खुलेको नक्कली नोट कारोबारको जालो विस्तारै सतहमा आएको छ ।

जिल्ला बारा, फेटा–३ घर भई हाल भारतको मोतिहारी लाला टोलस्थित पतौनामा डेरा गरी बस्दै आएका २८ वर्षीय रविकुमार श्रीवास्तवलाई प्रहरीले सोमबार नियन्त्रणमा लिएको हो । भारतीय नम्बरप्लेट बीआर ०५ एएफ २५११ रहेको बुलेट मोटरसाइकलमा नोट छाप्ने प्रिन्टिङ मेसिन, कम्प्युटर र अन्य सामग्री नेपाल ल्याउँदै गरेको अवस्थामा जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले जिल्ला प्रहरी कार्यालय बाराको समन्वयमा उनलाई सीमा क्षेत्रबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार रविकुमारले भारतमै नक्कली नोट छाप्दै आएको र अब नेपालमै छाप्ने योजना बनाइ आवश्यक सामग्री ल्याउँदै गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । हालसम्म कति नोट छापेर बजारमा पठाइएको छ भन्ने खुल्न बाँकी छ । मोतीहारीमा छापिएको नोट एकैपटक काठमाडौंको गोकर्णेश्वरबाट बरामद हुनुले अन्य ठाउँ पनि नक्कली नोटको सञ्जाल विस्तार भएको हुनसक्ने शंका छ । 

अग्रवालसम्म प्रहरी सजिलै पुगेको भने होइन । गत बुधबार राति काठमाडौंको गोकर्णेश्वर–८ अत्तरखेलचोकबाट यसको अनुसन्धान सुरु भएको हो । नक्कली नोटको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरीले त्यहाँबाट ६ जनालाई पक्राउ गरेको थियो । उनीहरूको साथबाट एक हजार दरका ९३ वटा नक्कली नोट बरामद भएको थियो ।

पक्राउ परेका उनीहरूलाई प्रहरीले ७ दिनका लागि हिरासतमा राखी अनुसन्धान थालेको थियो । बयानकै आधारमा प्रहरीले सूत्र फेला पारेको हो । हिरासतमा सोधपुछका क्रममा नक्कली नोट नेपालमा कहाँबाट आयो र कसले ल्यायो भन्ने प्रश्नमा नयाँ तथ्य खुल्दै गयो ।

अनुसन्धानकै क्रममा यो धन्दामा संलग्न रहेको आरोपमा बाराको कलैया–२ कबलपुर बस्ने २८ वर्षीय गौरीशंकर यादवलाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो । सोधपुछमा उनले रविकुमार श्रीवास्तवले भारतमा नक्कली नोट छाप्ने गरेको र नेपालमै छाप्नका लागि आवश्यक सामग्री ल्याउने तयारी भइरहेको जानकारी दिएका थिए । यही सूचनाको आधारमा प्रहरी टोलीले निगरानी बढाउँदै जाँदा रविकुमार पक्राउ परेका हुन् । प्रहरीले रविकुमारका साथबाट भारु ५०० दरका ५ गड्डीमा रहेको ३१७ वटा नोट, एक सेट डेस्कटप कम्प्युटर, हेडफोन, १० वटा तार, एचपीको कलर प्रिन्टर, लेजर टोनर, ९ एमएमको एउटा पेस्तोल, लालीगुराँसको वाटरमार्क छापिएको १००० लेखिएको १८० वटा कागज तथा ७६ वटा सादा कागज बरामद गरेको छ । प्रहरीका अनुसार यो नक्कली नोट छपाइ र वितरणको संगठित गिरोह हुन सक्ने आशंका गरिएको छ । गिरोहमा संलग्न अन्यको खोजी भइरहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप नेपाल