नेभिगेशन
अर्थतन्त्र

नेप्सेसँगै घट्यो कारोबार

काठमाडौं । शेयरबजारमा बुधबार नेप्से परिसूचकसँगै कारोबार रकममा समेत गिरावट आएको छ । नेप्से परिसूचक १३.३५ अंकले घटेर २,६३५.९५ विन्दुमा कायम भएको छ । कारोबार रकम पनि मंगलबारको तुलनामा करिब दुई अर्ब रुपैयाँ घटेको छ । मंगलबार सात अर्ब १२ करोडको कारोबार भएकोमा बुधबार पाँच अर्ब १७ करोड रुपैयाँको भएको छ ।

कारोबार भएका २५९ कम्पनीमध्ये १८७ वटाको शेयरमूल्य घट्दा बजार दबाबमा परेको हो । तर ६२ कमपनीका शेयरधनीले भने कमाएका छन् । बाँकी १० कम्पनीको शेयरमूल्य मंगलबारको तुलनामा स्थिर रहेको छ । सूचीकृत १३ समूहमध्ये फाइनान्स र व्यापार बाहेक सबै घटेका छन् । फाइनान्स समूह ०.२१ प्रतिशत र व्यापार समूह ०.२४ अंकले बढेका छन् ।

सबैभन्दा धेरै होटल तथा पर्यटन समूह १.३९ प्रतिशत घटेको छ । त्यसपछि उत्पादन तथा प्रशोधन समूह १.१६ प्रतिशत, विकास बैंक ०.८४, जलविद्युत् ०.७९, निर्जीवन बीमा ०.६०, लगानी ०.५४, अन्य ०.५३, लघुवित्त ०.४०, म्युचुअल फण्ड ०.२०, बैंकिङ ०.२४ र जीवन बीमा ०.०७ प्रतिशत घटेका छन् । आज सबैभन्दा बढी नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको शेयरमूल्य ६.०८ प्रतिशतले बढेको छ भने सबभन्दा बढी एसवाई प्यानल नेपाल लिमिटेडको शेयर मूल्य ८.४५ प्रतिशतले घटेको छ । एसवाई प्यानल नेपालको शेयरकारोबार सर्वाधिक २६ करोड ९४ लाख रुपैयाँको भएको छ । यसपछि श्रीनगर एग्रिटेक इन्डष्ट्रिजको २३ करोड ५६ लाख रुपैयाँको कारोबार भएको छ ।

लगानीकर्ताको सम्पत्ति २३ अर्ब रुपैयाँ घटेको छ । बजार पुँजीकरण ४४ खर्ब ४८ अर्ब रुपैयाँ बाट घटेर ४४ खर्ब २५ अर्ब रुपैयाँ कायम भएको छ । यस्तै, साधारण शेयरतर्फको बजार पुँजीकरण पनि आठ अर्ब रुपैयाँ घटेर १५ खर्ब दुई अर्ब रुपैयाँ कायम भएको छ ।

विश्लेषकहरूका अनुसार शेयरबजार सुधारका लागि राजनीतिक स्थिरता, बजेट तथा विकास खर्चको प्रभावकारी कार्यान्वयन, राष्ट्र बैंकबाट लगानीमैत्री सन्देश र ब्याजदर तथा कर्जा नीतिमा थप स्पष्टता आवश्यक देखिएकाले शेयरबजार सीमित दायरामा उतारचढाव भइरहेको देखिन्छ ।

पछिल्लो समय बैंकिङ प्रणालीमा अधिक तरलता देखिए पनि कर्जाको प्रभावकारी विस्तार हुन सकेको छैन । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत निजी क्षेत्रमा कर्जा विस्तार १२ प्रतिशत बढ्ने प्रक्षेपण गर पनि बैंक तथा वित्तीय संस्थाहरू कर्जामा कडाइ गरिरहेका छन् । यस्तै, खराब कर्जा बढ्दै गएपछि कर्जा असुलीमा आक्रामक बन्दा नयाँ कर्जाको माग समेत बढ्न सकेको छैन । उद्योगी व्यवसायीहरू बैंक तथा वित्तीय संस्थाको व्यवहारका कारण नयाँ कर्जा लिएर उत्पादन बढाउने कार्यमा लाग्न सकिरहेका छैनन् । यसको प्रभाव शेयरबजारमा देखिनु स्वभाविक भएको विश्लेषकहरू बताउँछन् । ब्याजदर घटेको भएपनि लगानीकर्ताले अझ स्पष्ट संकेतको प्रतिक्षा गरिरहेका छन् । समग्र अर्थतन्त्रको जोखिम नियन्त्रणलाई प्राथमिकता दिँदा शेयरबजारमा अपेक्षित सुधार आउन सकेको छैन । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्