नेभिगेशन
विश्व

संसारभर चरम थकान बढ्दो, उपाय खोज्दै वैज्ञानिक

हिजो राति सुत्न जाँदा ठीकै थियो । निद्रा पनि पूरा भएकै हो तर बिहान उठ्दा किन निद्रा नपुगेजस्तो हुन्छ ? मज्जाले सुते पनि किन थकान महसुस हुन्छ ? अचेल यस्ता समस्या अधिकांश युवाहरूमा बढ्न थालेको छ र विशेषज्ञहरूले यसलाई चिन्ताजनक रूपमा बढ्न थालेको समस्याका रूपमा हेरिरहेका छन्  । कतिपय अवस्थामा ‘बर्नआउट’ (चरम मानसिक र शारीरिक थकान) ले मानिसलाई निकै कमजोर बनाउन सक्छ । आखिर यो समस्याको उपचारका लागि हामी के गर्न सक्छौं त?

एक तिहाइभन्दा बढी वयस्कहरूले आफू प्रायः वा सधैं थकित महसुस गर्ने बताउँछन् भने अत्यधिक मानसिक र शारीरिक थकान (बर्नआउट) को निदान अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । हामीलाई यति धेरै थकित बनाउने तत्व के हो ? हामी कसरी आफूभित्र थप सहनशक्ति विकास गर्न सक्छौं ? यसको खोजी हुन थालेको छ  ।

हालै सांस्कृतिक इतिहासकार तथा बर्नआउट विशेषज्ञ कार्यकारी प्रशिक्षक अन्ना क्याथरिना साफ्नरले एउटा पुस्तक लेखेकी छन् । ‘एग्जस्टेडः एन ए टू जेड फर द वेयरी’ पुस्तकले थकानको इतिहास र विज्ञानको परीक्षण गर्दै जीवनका तनावहरूसँग जुध्न निकै गतिलो सल्लाह दिएको छ । सोही पुस्तकका आधारमा हामीले यहाँ जानकारी दिने प्रयास गरिएको छ ।

थकान र बर्नआउटबीच के फरक छ ?

प्राचीन कालदेखि नै मानिसहरूले थकान र यसका कारणहरूबारे चिन्ता व्यक्त गर्ने गर्थे । यसको विपरीत, ‘बर्नआउट’ एउटा यस्तो समस्या हो जसका लक्षणहरू विशिष्ट हुन्छन् । यसलाई कार्यस्थलको समस्याका रूपमा परिभाषित गरिएको छ । कम ऊर्जा र कार्यक्षमताका साथै ‘डी–पर्सनालाइजेसन’को रूपमा प्रकट हुन्छ । यसको अर्थ, आफूले काम गर्ने मानिसहरू वा संस्थाप्रति अत्यन्त नकारात्मक वा वितृष्णापूर्ण दृष्टिकोण राख्नु हो ।

यदि थकान एउटा फराकिलो दायरा हो भने बर्नआउट त्यसको अन्तिम र गम्भीर विन्दु हो । बर्नआउट भएका केही मानिसहरू आफूलाई पूर्णरूपमा असक्षम भएको महसुस गर्न थाल्छन् । तिनीहरूको शरीरले ‘म सक्तिनँ’ भन्छ र काम गर्न छोडिदिन्छ । यस्ता व्यक्तिले आफ्नो पेसा नै नबदले यो समस्याबाट पार पाउन निको हुन वर्षौं लाग्न सक्छ ।

‘बर्नआउट’ किन सामान्य बन्दैछ ?

विश्वभरका कार्यालयहरूमा ‘बर्नआउट’ बढिरहेको कुरा धेरै अध्ययनहरूले देखाएका छन् । लेखिका एना भन्छिन्, यसको एउटा कारण हामी झन् अस्थिर र ज्यादै प्रतिस्पर्धी काम गर्ने संस्कृतिको चपेटामा छौं । अर्को कारण, हामी कामलाई बढी महत्व दिन्छौं । अचेल हामी कामबाट धेरै अपेक्षा गर्छौं र यसैलाई प्रतिष्ठा र आम्दानी मात्र होइन र वैधानिकताको कारक मान्छौं । यसले जीवनको उद्देश्य र आत्म–साक्षात्कारको अवसर प्रदान गरोस् भन्ने चाहना भए पनि यसबाट ती सबै कुरा पूरा हुँदैनन् ।

पहिले काम र फुर्सद बीचको सिमाना स्पष्ट थियो । अहिले भने आधुनिक प्रविधिले गर्दा हामी सधैं जोडिएका हुन्छौं । हामी सचेत भएनौं भने हामीसँग सधैंभरि काम झुण्डिरहेकै हुन्छ । 

‘बर्नआउट’ गराउने मुख्य कारण

अनुसन्धानले ‘बर्नआउट’का मुख्य ६ कारणहरू रहेको देखाउँछ । अत्यधिक कार्यभार, काममा स्वतन्त्रताको कमी, अपर्याप्त पारिश्रमिक, समुदायको अभाव, मूल्य–मान्यतासँग मेल नखानु र अन्यायको अवस्था रहनु । अधिकांश कामदारहरूमा बर्नआउट हुने सबैभन्दा महत्वपूर्ण पक्ष ‘अन्याय’ देखिन्छ । मिहिनेतको कदर वा प्रशंसाको अभावले गहिरो सामाजिक पीडा दिन सक्छ । केही अध्ययनअनुसार, प्रशंसाको अभावले बर्नआउटको जोखिम दोब्बर बनाउन सक्छ । कदर गर्न सजिलो भए पनि धेरै कम्पनीले आफ्ना कामदारलाई सोचेजस्तो काम गरिरहेको महसुस गराउन सकिरहेका हुँदैनन् ।

व्यक्तिगत सोचले बढाइरहेको तनाव 

‘पर्फेक्सनिज्म’ र ‘बर्नआउट’बीच पनि सम्बन्ध रहेको देखिन्छ । आफूले पाउनुपर्ने कुरामा अवास्तविक र उच्च अपेक्षा राख्ने अनि आफ्नै कामलाई कठोररूपमा खराब मूल्यांकन गर्छौं भने ‘बर्नआउट’ हुने सम्भावना बढी हुने अध्ययनले देखाएको छ । धेरै मानिसहरूको मनमा एउटा ‘भित्री आलोचक’ हुन्छ । यो ज्यादै कडा र नकारात्मक आवाज हुन्छ । यसले निरन्तर नकारात्मक टिप्पणीहरू गर्ने हुनाले भित्रैबाट ऊर्जा निल्ने गरेको छ ।

थकान र बर्नआउटलाई जित्ने तरिका

थकानलाई जित्ने पहिलो कदम भनेको आफ्ना रुचि वा प्राथमिकताहरू बुझ्नु हो ताकि आफ्नो ‘कम्फर्ट जोन’ बाहिर कति समय बिताउने र कहिले आराम गर्ने भन्नेमा सचेत हुन सकौं । हामीले हाम्रा मुख्य तनावका कारकहरूलाई पनि बुझ्न आवश्यक छ । तीमध्ये नियन्त्रणमा हुने र नहुने छुट्याउनुपर्छ । यसका लागि बर्नआउट प्रशिक्षकहरूले ‘एसेप्टेन्स एन्ड कमिटमेन्ट थेरापी’ (एसीटी) का सिद्धान्तहरू प्रयोग गर्छन् । आफ्ना सीमालाई स्वीकार गर्न सक्नुपर्छ । डर, रिस र दुःख जस्ता ‘नकारात्मक’ विचार र भावनाहरू आउनु सामान्य मान्दै तिनीहरूसँग हरबखत जुझिरहनुहुँदैन । अन्य थेरापीहरूमा आफ्नो भित्री आलोचक गलत हो भनेर प्रमाणित गर्न प्रमाणहरू जुटाउनुपर्छ । यस्ता मानसिक अवस्थाहरूसँग तर्क र युक्ति लडाउन ठूलो मानसिक ऊर्जा खर्च हुन्छ । एसीटीको प्रयोग गरेर हामी ती नकारात्मक विचार र भावनाहरूबाट आफूलाई अलग (डिफ्यूज) गर्न सक्छौं । दृष्टिकोणमा सामान्य परिवर्तनबाटै यो हासिल गर्न सक्छौं ।

आफैंप्रति कठोर आलोचकका लागि यो ज्यादै डिफ्यूज प्रभावकारी विधि हो । तपाईं आफू आफ्नो काममा नराम्रो छु, अनाकर्षक छु वा माया पाउन योग्य छैन भन्ने सोच्नुहुन्छ भने, तपाईंले सचेत भई यो तपाईंको ‘भित्री आलोचक’ बोलिरहेको हो भनी त्यसलाई न्यूनीकरण सक्नुहुन्छ । हामी हाम्रो दिमागलाई ‘सुसी कन्भेयर बेल्ट’ जस्तै सोच्न सक्छौं । भनाइको अर्थ, तपाईं सडकमा हिँड्दै गर्दा लोभलाग्दा परिकार देख्नुहुन्छ तर ती सबै परिकार उठाएर खानुपर्छ भन्ने छैन । हामीले ती कम पोषिला परिकार हेर्दै, त्यसको मजा लिँदै अघि बढ्नुपर्छ ।

पुरातन विधिहरूले कसरी सघाउँछन् ?

हाम्रा अपेक्षाहरू व्यवस्थापन गर्न हामीले प्राचीन ‘स्टोइक’ दर्शन प्रयोग गर्न सक्छौं । मार्कस ओरेलियसको एउटा सुन्दर भनाइ छः ‘पागल मानिस मात्र हिउँदमा अन्जिर खोज्न निस्कन्छ ।’ हामीले धेरै अवास्तविक अपेक्षाहरू पाल्नुहुँदैन । गलत अपेक्षाले हामीलाई निराश मात्र बनाउँछ । एसीटीमा ‘डर्टी पेन’ (फोहोरी पीडा) हेर्न सिकाइन्छ । हामीले कहिलेकाहीँ फोहोरी पीडाको तह पनि थप्ने गर्छौं । हाम्रो ऊर्जाको भावनामा पनि यही लागू हुन्छ । कुनै दिन हाम्रो ऊर्जा स्तर उच्च हुनेछ र कहिलेकाहीं कम । यी उतारचढावहरूमा स्टोइक दृष्टिकोण अपनाउँदा थप मानसिक बोझ थपिनबाट जोगिन सकिन्छ ।

काम र फुर्सदलाई अलग कसरी गर्ने ?

जब हामी आफ्नो काममा पूर्णरूपमा फस्छौं र हाम्रो पहिचान नै यसमा मिसिन्छ, तब काम रोक्नु वा अन्य केही गर्ने सोच्नु पनि धेरै डरलाग्दो हुन सक्छ । किनकि हामीले जति धेरै समय र ऊर्जा काममा दिन्छौं, हाम्रो जीवनका अन्य क्षेत्रहरू उति नै रित्तो हुँदै जान्छन् । जब हामी काम गर्न छोडेर वरपर हेर्छौं अनि मात्र हामी ती सबै खाली ‘कोठाहरू’ देख्छौं । त्यसैले हाम्रो जीवनमा अर्थ, आनन्द र खुसीका अन्य स्रोतहरू क्रमशः निर्माण गर्नुपर्छ ताकि काम नै हाम्रो सर्वस्व नबनोस् । विकल्पमा हामीले राम्रो ‘हबी’ वा रुचि पाल्न सकिन्छ । यी यस्ता ‘गैर–यन्त्रवत् गतिविधिहरू’ हुनुपर्छ जुन प्रतिस्पर्धात्मक भावना वा उत्पादकत्व बढाउने दौडबाट पूर्णरूपमा मुक्त हुन् । यसको मुख्य उद्देश्य उपलब्धिका लागि दिइने दबाबलाई हटाउनु हो । हबीको एकमात्र उद्देश्य हामीलाई आनन्द दिनु र कतै नपुग्ने एउटा सुखद गतिविधिमा संलग्न भएर मानसिक शान्ति अनुभव गर्नुपर्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्