नेभिगेशन
दृष्टिकोण

नेपालमा साइकल सिटीको सम्भावना

नेपालका धेरै सहरलाई साइकल सिटीका रूपमा विकास गर्न सकिने सम्भावना छ । विशेषतः काठमाडौं उपत्यकाजस्तो भैगोलिक अवस्थाले अनुकूल ठाउँलाई साइकल सिटी बनाउन सकिन्छ । काठमाडौं उपत्यका समथर भएकाले र हावापानी पनि साइकलका उपयुक्त भएकाले यसतर्फ सोच्नुपर्ने देखिन्छ । यहाँ छोटो र मध्यम दूरीका यात्राका लागि साइकल ठिक हुनेछ । तर काठमाडौंको विद्यमान यातायात प्रणाली निजी मोटरसाइकल र सार्वजनिक गाडीमा आधारित हुनाले दिन–प्रतिदिन सडकमा ट्राफिक जामको समस्या बढ्दैछ ।

सरकार र स्थानीय निकायहरूले साइकलका लागि साइकल लेन र अनुकूल संरचनागत सुधार गर्न पहल गरिरहेका छन् । साइकल सिटी बनाउन जनचेतना कार्यक्रमहरू पनि हुँदै आएका छन् । यसै मेसोमा भरतपुरलगायतका शहरमा साइकल सिटी बनाउन सडकमा साइकल लेन विस्तार गर्ने र विद्यालयका विद्यार्थीलाई साइकल वितरण गर्ने काम पनि भएका छन् । 

Shekhar-Lamichhane-1756008135.jpg
शेखर लामिछाने

साइकल सिटी बनाउन चाहिने प्रावधान नीतिगत प्राथमिकतामा पार्नुपर्ने पहिलो काम हो भने साइकल मार्गहरू निर्माण गर्ने काम पनि सँगै लानुपर्छ । काठमाडौं उपत्यकाको हकमा भने पूर्व–पश्चिम र उत्तर– दक्षिण मार्ग विस्तार गरी साइकल मार्ग बनाउन जरुरी छ ।

यसले पार्ने सकारात्मक प्रभाव भनेको पर्यावरणीय प्रदूषण न्यून हुने, व्यक्तिको स्वास्थ्य सुधार हो । साथै, सार्वजनिक र निजी यातायातमा परेको दबाब कम गर्न पनि साइकल सिटी बनाउनुपर्ने हुन्छ । अर्कोतर्फ, साइकल चलाउन पनि निकै चुनौती छन् । जस्तै सडकको स्थिति, सडक नियमन अभाव, र मोटरहरूको चापका समस्यालाई सम्बोधन गर्नु आवश्यक छ ।

काठमाडौं उपत्यकामा बढ्दो सवारी–साधनको चापले वातावरणीय प्रदूषण, ट्राफिक जाम, र जनस्वास्थ्यमा प्रतिकूल असर परेको हामी सबैलाई विदितै छ । यसर्थ, पनि काठमाडौं उपत्यकालाई साइकल सिटी बनाउने अवधारणा अत्यन्त सान्दर्भिक देखिन्छ । यो अवधारणाले वातावरण संरक्षण, जनस्वास्थ्यमा सुधार, र दिगो विकासलाई मूर्तरूप दिन सक्छ । तर, सम्बोधन गर्नुपर्ने प्रश्न धेरै छन् । पहिला त चरणबद्ध योजना, नीति निर्माण, जनचेतना अभिवृद्धि, र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्नुपर्ने देखिन्छ । 

साइकल सिटी बनाउने पहिलो र महत्त्वपूर्ण कदम भनेको उपत्यकाभरि सुरक्षित र सुविधाजनक साइकल लेनहरूको निर्माण गर्नु हो । प्रत्येक मुख्य सडकमा कम्तीमा एकतर्फी साइकल लेन बनाइनुपर्छ । फुटपाथ र गाडी लेनको बीचमा स्पष्टरूपमा साइकल लेनको चिह्न लगाउनुपर्छ । साथै, विद्यालय, कार्यालय, बजार, बसपार्क आदि सार्वजनिक स्थानहरूमा पर्याप्त साइकल पार्किङ स्थाल बनाउनुपर्छ ।

पहिलो चरणमा पुरानो बानेश्वर, ठमेल, असनजस्ता स्थानहरूलाई ‘साइकलमैत्री क्षेत्र’ घोषणा गरी त्यहाँ मोटर सवारीको पहुँचलाई सीमित बनाउनुपर्छ । काठमाडौं उपत्यकाभित्रै केही क्षेत्रहरूलाई ‘नमूना साइकल सिटी’ बनाई यसको व्यावहारिकता परीक्षण गर्न सकिन्छ ।

ललितपुरको पाटन क्षेत्र वा भक्तपुर दरबार क्षेत्रजस्ता स्थानमा साइकलमैत्री वातावरण निर्माण गरेर त्यसको असर मूल्यांकन गर्न सकिन्छ । सफल भएमा अन्य क्षेत्रहरूमा विस्तार गर्न सकिन्छ, र कमजोरीबाट पाठ लिन सकिन्छ ।

साइकल सिटी बनाउन केवल पूर्वाधार मात्र पर्याप्त हुँदैन । त्यसको सफल कार्यान्वयनका लागि नीति, कानून, र सरकारी प्रतिबद्धता पनि आवश्यक हुन्छ । यातायात नीतिमा साइकल यातायातलाई प्राथमिकता दिइनुपर्छ । जस्तै, यातायात मन्त्रालयले साइकल प्रयोगमा कर छुट, र साइकलसवारहरूको सुरक्षामा जोड दिने नियम ल्याउनुपर्छ । 

यसबाहेक साइकल किन्नेलाई अनुदान, कार्यालयहरूलाई ‘साइकल टू वर्क’ कार्यक्रम ल्याउने, र विद्यालयस्तरबाटै साइकल प्रयोगको बानी लगाउनुपर्छ । सडकमा साइकल यात्रीमाथि हुने दुव्र्यवहार, असावधानीपूर्ण ड्राइभिङ वा दुर्घटनाका घटनामा कडा कानूनी कारबाहीको व्यवस्था गर्नुपर्छ । साइकल प्रयोगको संस्कृति बसाउँदै सोच र व्यवहारको रूपान्तरण चेतना अभिवृतिलाई पनि जोड दिनुपर्नेछ ।

यसको लागि वार्षिक साइकल महोत्सव, साइक्लोथन, वा साइकल र्‍याली आयोजना गरी जनसमुदायलाई साइकलप्रति आकर्षित गर्न सकिन्छ । विद्यालय–कलेजमा साइकल प्रयोगलाई प्रोत्साहन दिन ‘साइकल डे’ वा ‘नो मोटर डे’ मनाउने परिपाटी सुरु गर्न सकिन्छ । साइकलको प्रयोगले वातावरण र स्वास्थ्य दुवैमा सुधार ल्याउँछ भन्ने कुरा तथ्यमा आधारित छ । यस्तो लाभलाई जनसमक्ष प्रस्तुत गरेर साइकल अभियानलाई सहज बनाउन सकिन्छ ।

काठमाडौंमा प्रदूषणको मुख्य कारण मोटर गाडी नै हो । यदि केही प्रतिशत मानिसले मात्र साइकल प्रयोग गर्न थाले भने पनि वायु प्रदूषणमा उल्लेखनीय कमी आउन सक्छ । व्यक्तिगत दृष्टिले साइकल चलाउनु भनेको शारीरिक व्यायाम हो । यसले जसले मुटु, मांसपेशी र मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ भने दीर्घरोगहरूको सम्भावना घटाउँछ ।

काठमाडौं उपत्यकालाई साइकल सिटी बनाउने सपना केवल आदर्शमात्र होइन । यसलाई आवश्यकताका रूपमा हर्ने थालिएको छ । जलवायु परिवर्तन, ऊर्जा संकट, ट्राफिक समस्या, र जनस्वास्थ्यका चुनौतीहरूसँग जुझ्नका लागि यो सपना अब नीतिमा मात्र होइन, व्यवहारमा लागू गर्नुपर्ने समय आएको छ । 

सरकारले नीतिगत समर्थन, नगरपालिकाले पूर्वाधार विकास, र नागरिकले मानसिकता परिवर्तन गर्न सक्दा यसलाई साकार पार्न नसकिने कुरा छैन । किनभने साइकल केवल साधन मात्र होइन, दिगो भविष्यतर्फको यात्रा पनि हो । तसर्थ, साइकललाई विकल्प नभई प्राथमिकताका रूपमा स्वीकार गर्ने बेला भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप दृष्टिकोण