नेभिगेशन
प्रदेश

‘बा’ र बालेनको प्रतिस्पर्धाले धेरैको ध्यान झापा–५ मा

‘ओली यही माटोमा हुर्किएका नेता हुन् । राष्ट्रियस्तरमा अनुभव भएका मान्छे हुन् । त्यस्तै बालेन पनि युवामाझ लोकप्रिय धेरैको आशाको केन्द्र हुन् ।’

झापा । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा झापामा माहोल तातेको छ । पाँच वटा निर्वाचन क्षेत्र रहेको झापामा बिशेषगरी क्षेत्र नम्बर ५ देशकै सबैभन्दा चासोको निर्वाचन क्षेत्र बनेको छ । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवम् काठमाडौं महानगरका निवर्तमान मेयर बालेन शाह चुनावी मैदानमा उत्रिएपछि यहाँको राजनीतिक सरगर्मी चुलिएको हो ।

दुई फरक पुस्ता, फरक राजनीतिक पृष्ठभूमि र फरक कार्यशैली बोकेका भावी प्रधानमन्त्रीका आकांक्षी उम्मेदवारको प्रतिस्पर्धाले झापा–५ लाई राष्ट्रिय बहसको केन्द्रमा ल्याएको छ । एकातिर दशकौंदेखि मुलुकको राजनीतिमा प्रभाव राख्दै आएका ओली छन् भने अर्कातिर छोटो समयमै शासकीय अभ्यासमा चर्चित बनेका बालेन शाह ।

स्थानीय मतदाताहरूबीच ‘स्थायित्व कि परिवर्तन ?’ भन्ने बहस तीव्र बनेको छ । दमक–९ का स्थानीय मतदाता टेकबहादुर दर्जी भन्छन्, ‘ओली यही माटोमा हुर्किएका नेता हुन् । राष्ट्रियस्तरमा अनुभव भएका मान्छे हुन् । त्यस्तै बालेन पनि युवामाझ लोकप्रिय धेरैको आशाको केन्द्र हुन् ।’

दमक–६ की मेनुका थापा भन्छिन्, ‘भाषण धेरै सुनेर थाकिसक्यौं । ओली, बालेन जो भए पनि हामीजस्तो सानोतिनो काम गरेर गुजरा गर्ने नागरिकलाई सजिलो पार्ने नेता चाहिएको छ ।’

ओलीले झापा–५ लाई आफ्नो राजनीतिक आधार क्षेत्रका रूपमा लिँदै आएका छन् । यसअघि उनले स्थानीय विकास, पूर्वाधार विस्तार र राष्ट्रिय राजनीतिमा झापाको पहिचान मजबुत बनाएको दाबी गर्दै आएका छन् । एमाले कार्यकर्ताहरू ओलीको अनुभव र पहुँच नै जितको मुख्य आधार भएको बताउँछन् ।

बालेन शाह भने दलभन्दा माथि उठेर जनताको विश्वास जित्ने रणनीतिमा देखिएका छन् । काठमाडौं महानगरमा देखिएको कार्यशैली, भ्रष्टाचारविरुद्धको कडा अडान र सामाजिक सञ्जालमार्फत युवासँगको सिधा संवाद उनको मुख्य बल बनेको छ । झापा–५ को निर्वाचन परिणामले परम्परागत दलको पकड र नयाँ राजनीतिक विकल्पप्रतिको जनआकांक्षाको वास्तविक परीक्षण गर्ने धेरैको आकलन छ ।

दमक–५ का मतदाता सञ्जय पासवान भन्छन्, ‘यो चुनाव झापा–५ को मात्र नभएर देशकै राजनीतिको जनमत दिने चुनावजस्तो लाग्छ ।’

दमक–३ का ईश्वरीप्रसाद दाहाल भन्छन् ओली र बालेन देशका लागि चाहिने मान्छे हुन् । ‘दुवै जना फरक निर्वाचन क्षेत्रबाट उठ्नुपर्थ्याे,’ उनी भन्छन्, ‘झापा ५ मा ओलीको योगदानलाई भुल्न सकिँदैन ।’

ओली अनुभवी नेताका रूपमा भरोसा जगाउने प्रयासमा छन् भने बालेन परिवर्तनको प्रतीक बनेर मतदातालाई आकर्षित गर्ने ताकमा छन् । निर्वाचन नजिकिँदै जाँदा दुवै उम्मेदवारले घरदैलो अभियान तीव्र बनाएका छन् । क्षेत्र नम्बर ५ मा एमालेका ओली र रास्वपाका बालेनसहित नेकपाका रञ्जित तामाङलगायत अन्य दल र नौ स्वतन्त्र गरी २४ जनाले उम्मेदवारी दिएका छन् ।

यस्तै, झापा १ मा दुई स्वतन्त्रसहित १५ जनाले उम्मेदवारी दिएका छन् । झापा १ मा कांग्रेसबाट केशवराज पाण्डेले उम्मेदवारी दिएका छन् । यो निर्वाचन क्षेत्र कांग्रेस उपसभापति विश्वप्रकाश शर्माको निर्वाचन क्षेत्र हो । शर्माले उम्मेदवारी नदिने भएपछि पाण्डेले टिकट पाएका हुन् । एमालेबाट रामचन्द्र उप्रेती, नेपाली कम्युनिस्ट पार्टीबाट अशेष घिमिरे, रास्वपाबाट निशा डाँगीलगायत अन्य दल र दुई स्वतन्त्र गरी १५ जनाले उम्मेदवारी दिएका छन् ।

झापा २ मा भने निवर्तमान सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा रानासहित १८ जनाको उम्मेदवारी परेको छ । यहाँ कांग्रेसकी सरिता प्रसाईं, नेपाली कम्युनिष्ट पार्टीकी नेतृ धर्मशीला चापागाईं, राप्रपाबाट भद्रप्रसाद नेपाल (स्वागत) सहित १८ जनाले उम्मेदवारी दिएका छन् । यो क्षेत्रमा तीनजनाको स्वतन्त्र उम्मेदवारी परेको छ ।

झापा ३ मा दुई स्वतन्त्रसहित १७ जनाको उम्मेदवारी परेको छ । लामो समय कांग्रेसबाट कृष्णप्रसाद सिटौलाले प्रतिस्पर्धा गरेको यो निर्वाचन क्षेत्रमा कांग्रेसबाट राजेन्द्रकुमार घिमिरे, एमालेबाट हरिबहादुर राजवंशी, राप्रपाबाट अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन, नेपाली कम्युनिष्ट पार्टीबाट डिल्लीराम घिमिरे, रास्वपाबाट प्रकाश पाठकसहितको उम्मेदवारी परेको छ । यस्तै, झापा ४ मा एक स्वतन्त्रसहित १६ जनाको उम्मेदवारी परेको छ । कांग्रेसबाट जिल्ला सभापति देउकुमार थेबे, एमालेबाट लालप्रसाद साँवा लिम्बू, नेपाली कम्युनिष्ट पार्टीबाट पुरुषोत्तम चुडाल, रास्वपाबाट शम्भुप्रसाद ढकाल, राप्रपाबाट निवर्तमान प्रदेशसभा सदस्य भक्तिप्रसाद सिटौलाले उम्मेदवारी दिएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्