रौतहट, ८ भदौ - रौतहटमा सुटकेशभित्र एक महिलाको शव फेला परेको छ । गौर–सिर्सिया सडकखण्डअन्तर्गत मुडवलवा रोडनजिकै शनिबार राति करिब साढे १० बजे स्थानीयले शंकास्पद अवस्थामा देखिएको सुटकेशबारे प्रहरीलाई खबर गरेका थिए ।
डोरीले बाँधिएको अवस्थामा भेटिएको उक्त सुटकेशमा बम हुनसक्ने प्रहरीले शंका गरेको थियो । गाउँलेको सहयोगमा रातभर घटनास्थललाई सिल गरेर सुरक्षा दिएको थियो । आइतबार बिहान सुटकेश खोलेर हेर्दा रातो कपडा लगाएकी महिलाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी राजु कार्कीले बताए ।
शव ३० वर्षीया रुबिदेवी साह भएको पुष्टि भएको छ । घाँटीका डाम हेर्दा सल वा डोरीले कसेर हत्या गरेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । तर, मृत्युको कारण पोष्टमार्टमबाट मात्रै यकिन हुने प्रहरीले जनाएको छ । शव भेटिएको स्थान नेपाल–भारत सीमानजिकै पर्छ ।
रौतहटको माधवनारायण–६ की रुबीदेवीको विवाह भारतको बिहार मुजफ्फरपुर जिल्ला रक्साटोलमा भएको थियो । चार वर्षको छोरालाई स्कूल जाने बानी लगाउन भन्दै उनी माइती आएकी थिइन् । गौर–२ महादेवपट्टीमा डेरा गरेर उनी छोरालाई स्कूल आउजाउको बानी लगाइरहेकी थिइन् । साहको हत्या कसले र किन गरेको भन्ने विषय खुल्न बाँकी छ ।
‘हामीले घटनाको संवेदनशीलतालाई मध्यनजर गर्दै सबै कोणबाट अनुसन्धान अघि बढाइरहेका छौं,’ डीएसपी कार्कीले भने, ‘आसपासका सीसीटीभी फुटेज, मृतकको कल डिटेललगायतका आधारमा अनुसन्धान भइरहेको छ । चाँडै अपराधी पत्ता लाग्नेमा हामी विश्वस्त छौं ।’
रुविको मोबाइल सेट फेला परेको छैन । उनलाई अन्तै कतै हत्या गरेर सडकमा ल्याएर शव छाडेको शंका छ । मृतकको शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको छ । घटनापछि उनका श्रीमान् शिवसागर साह भारतबाट गौर आएका छन् । उनले आगामी आइतबार सपरिवार मुजफ्फरपुर घर जाने सल्लाह रहेको प्रहरीलाई बताएका छन् ।
साहका आफन्त मुन्ना पटेलका अनुसार रुवि शनिबार साँझ बजार गएकी थिइन् । शृंगार गर्न ब्युटीपार्लर पसेका बेला साँझ करिब साढे ६ बजे आमा मिथिलादेवीसँग मोबाइलमा कुरा भएको थियो । उनले बजारबाट के ल्याउने भनेर सोधकी थिइन् । मिथिलादेवीले ‘छोराका लागि चकलेट लिएर आउन’ भनेकी थिइन् ।
फोन गरेको एक घण्टापछिसम्म पनि उनी डेरामा आइ पुगिनन् । सुरुमा उनको मोबाइलमा रिङ जाँदै थियो । पछि तारन्तार डायल गर्दा ‘स्वीच अफ’ भएको थाहा भएपछि आफन्तहरू खोज्न निस्किए । ‘उनीहरूको डेरा र त्यो ब्युटीपार्लरको दूरी बढीमा २ किलोमिटर पनि छैन । तर, कतै नभेटेपछि रातभरिजसो नै खोजी गर्ने काम भयो,’ पटेलले भने, ‘राति बाटोमा कतै बेवारिसे सुटकेश पुलिसले भेटेको छ भन्ने सुनेका पनि हौं, तर, त्यसमा लास होला भन्ने कसले सोचेको थियो !’
रुबिका पिता भारतमा मजदुरी गर्छन् । दुई भाइमा एउटा काठमाडौंमा काम गर्छन् भने अर्को भारतमै ससुरालीसँगै घर बनाएर बसेका छन् । प्रहरीले अनुसन्धान गरिरहेकाले हत्याको कारण र दोषी पत्ता लाग्नेमा परिवार आशावादी रहेको उनले बताए ।
यो साता मात्रै रौतहटमा तीनजनाको शव फेला परिसकेको छ । सप्तरीको खडग–७ का ५९ वर्षीय उपेन्द्र भगत गत सोमबार नेपाल लजको कोठामा मृत फेला परेका थिए भने बुधबार गौर–५ मा छुरा प्रहारबाट हत्या गरिएको अवस्थामा एक युवकको शव फेला परेको थियो । गौर–५ बरहवाताल पुलनजिक यमुनामाई–५ का २२ वर्षीय सहाबुद्दीन मियाको हत्या भएको थियो । उक्त घटनामा हत्या गरेर भाग्दै गरेका गौर–३ का २० वर्षीय सनोज रामलाई पक्राउ गरिएको र घटनास्थलबाट चक्कु बरामद गरेको प्रहरीले जनाएको छ ।
मिया र राम लागुऔषध सेवनकर्ता भएको र आपसी झगडामा घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी राजु कार्कीले बताएका छन् । गौर–५ स्थित नेपाल लजको २०२ नम्बर कोठामा मृत फेला परेका सप्तरीका भगतका विषयमा अझै अनुसन्धान जारी छ । भगतको हब दुई खाटाका बीचमा लडेको अवस्थामा थियो, मुखबाट रगत आएको थियो । जीउमा घाउचोट नदेखिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार गत साउन २९ मा उक्त लजमा आएका भगत सप्तरीको श्यामबाबा राइस एण्ड आयल मिलका मेनेजर थिए । उनी त्यहाँबाट असार २५ देखि बेपत्ता थिए । भगत स६प ३६९४ नम्बरको मोटरसाइकल र मोबाइल छाडेर बेपत्ता भएको खबर आएपछि परिवारले खोजतलासका लागि असार २६ मा सप्तरी प्रहरीमा खबर गरेका थिए ।
श्यामबाबा सप्लायर्स प्रालिका सञ्चालकसमेत रहेका भगतले लालुप्रसाद अग्रवाल र श्यामसुन्दर अग्रवालसंगै कारोबारमा संलग्न थिए । भगतका छोरा विकासले आर्थिक लेनदेनका विषयमा बाबुको अपहरणपछि हत्या भएको आरोप लगाएका छन् । बुवा हराएको दिन नै फर्मको बैंक खाताबाट ४४ लाख रुपैयाँ झिकिएको देखिएको उनले प्रहरीलाई बताएका छन् ।
प्रहरीले गरेको सोधपुछमा लजका सञ्चालक अमित केशरीले भगत यसअघि दुईपटक लजमा आएर बसेको बताएका छन् । पछिल्लो पटक भगत आएर बसेका बेला भने आफू काम विशेषले बाहिर रहेको बताएका केशरीले सोमबार आएर ग्राहकको रजिस्टर हेर्दा कोठा छाडेको नदेखिएकाले कर्मचारीलाई २०२ नम्बर कोठामा हेर्न पठाउँदा शव देखेपछि प्रहरीलाई खबर गरेको उल्लेख गरेका छन् ।