नेपालमा प्रायः कोदो, चिनो, कागुनो, जुनेलो, धानकोदो, बाज्रा, सामा, फापर, लट्टे, जौ, उवालगायतका कोदोजन्य र सहायक अन्न बालीलाई रैथाने बाली भन्ने गरिएको छ । यी बाली जलवायु परिवर्तन अनुकूलनका दृष्टिले उपयुक्त छन् । यिनले सुक्खा, खडेरी तथा उच्च तापक्रम सहन सक्छन् । अनुसन्धानले के पुष्टि गरेको छ भने यी बालीलाई धानलाई भन्दा करिब ७० प्रतिशतसम्म कम पानी भए पुग्छ । धान, गहुँजस्ता बालीभन्दा छोटो अवधिमै तयार हुन्छन् । स्याहारसुसार पनि धेरै नचाहिने यस्ता बालीमा रोगकीरा पनि कम लाग्छ ।
अन्य बाली उति नसप्रने कमसल माटोमा पनि यी बाली सफलतापूर्वक खेती गर्न सकिन्छ भने रासायनिक मलखादबिना पनि सन्तोषजनक उत्पादन लिन सकिन्छ । यी बालीको उत्पादनलाई अन्य जातको भन्दा लामो समय भण्डारण गर्न सकिन्छ । अचेल यसलाई भविष्यको बाली अर्थात् ‘फ्युचर स्मार्ट क्रप’ पनि भन्न थालिएको छ । करिब ३० वर्षअघिसम्म कोदो, फापर, जौ, उवा, चिनो, कागुनो र लट्टेजस्ता रैथाने बाली हाम्रो गाउँघरको खाद्य सुरक्षाका प्रमुख आधार थिए ।
तर, यातायातको बिस्तार र बजारको विकाससँगै चामलजस्ता खाद्यान्न सहजै उपलब्ध हुन थाले । रैथाने खाद्यान्नको उत्पादन र उपभोग घट्दै गयो । कोदो, फापरलगायत बालीको उचित प्रचारप्रसार र बजारीकरण हुन सकेन । चामलको भातलाई वैभवको प्रतीक मानिने र कोदोजन्य रथाने बालीको उत्पादनलाई ‘गरिबको खाना’का रूपमा हेला गरिने सामाजिक मान्यताले पनि रैथाने बाली ओझेलमा परे ।
रामकृष्ण श्रेष्ठ
त्यस्तै, लागतको तुलनामा फाइदा कम हुने, चुट्न तथा फल्न गाह्रो र झन्झट हुने कारणले पनि खेती सङ्कुचित भएको हो । हाम्रो खाद्य संस्कृतिको ‘कुअन्न’ र ‘सुअन्न’ को भाष्यले पनि यी बाली सीमान्तमा परिरहे । अनुसन्धान र विकासमा पनि रैथाने बाली एवं जातले कम प्राथमिकता पाए । सरकारी सेवासुविधा र अनुदानलगायत विषय पनि धान, मकै, गहुँजस्ता बालीको उत्पादन बढाउनमा बढी केन्द्रित भएको कारण रथाने बाली टुहुरा बने ।
पछिल्लो समय रैथाने बालीको उत्पादन र प्रशोधित खाद्य पदार्थको माग शहर बजारमा बढ्दै छ । यी बालीमा निहित पौष्टिक गुण तथा स्वास्थ्यका लागि हुने फाइदाबारे विश्वव्यापीरूपमा नै सचेतना बढ्यो । अनि, यी बालीमा विद्यमान जलवायु अनुकूलन गुणका कारण पनि यिनको महत्त्व बढ्न गयो । जलवायु परिवर्तनका कारण विश्वव्यापीरूपमा धान, मकै, गहुँलगायत बालीहरूको उत्पादन घट्ने प्रक्षेपण भइरहँदा यी बाली भावी दिनमा खाद्य पोषण सुरक्षाका दृष्टिले वरदान साबित हुन सक्ने देखिन्छ ।
त्यसैगरी, यी बालीमा विद्यमान प्रतिकूल अवस्था सहन सक्ने गुण र पौष्टिक गुण आधुनिक बाली प्रजनन विधिमार्फत जातीय विकास तथा बाली सुधारमा समेत उपयोग गर्न सकिन्छ । आजभोलि आवश्यक मात्रामा पौष्टिक खानाको कमी, बढी चिनी हुने पेय पदार्थ, खराब चिल्लो पदार्थ र प्याकेटको तयारी खानेकुराको कारण हाम्रा बालबालिका र युवायुवती कुपोषणको शिकार भएका छन् । यो समस्या दुर्गममा अझ गम्भीर छ । दुर्गममा बाटो पुगेसँगै शहरबजारमा समेत नदेखिने अखाद्य चाउचाउ र बिस्कुट पनि गाउँ–गाउँमा पुगेका छन् । अखाद्य वस्तुले हाम्रो एउटा पुस्ता नै सिध्याउँदै छ ।
कुपोषणले बालबालिकाको शारीरिक र मानसिक विकास राम्रोसँग हुन पाउँदैन । भिटामिनको क्याप्सुल खाएर, आइरन चक्की खाएर, फ्रोटिफाइट फर्मुला खाएर दीर्घकालीनरूपमा मान्छेको पोषण सुधार हुँदैन । हामीले पोषणयुक्त खाना उत्पादन र उपभोग गर्यौँ भने मात्र कुपोषण हटाउन सक्छौं । यस्तो भयावह स्थिति रोक्न पनि रथाने बाली प्रवर्द्धनमा जोड दिनुपर्छ ।
नेपालले ‘कोदोजन्य परिकारको आहार, खाद्य सुरक्षा र स्वस्थ्य जीवनको आधार’ भन्ने नाराका साथ साउन १६ गते पहिलोपटक ‘राष्ट्रिय कोदो दिवस’ मनाइएको छ । हामीले कोदो दिवस मनाउनुको विशेष सन्दर्भ छ । नेपालको तीन चौथाइभन्दा बढी भूभाग हिमाली र पहाडी क्षेत्र भएकाले कोदोलगायतका रैथाने बालीको खेती गर्न बढी उपयुक्त छ । त्यसैले यो हाम्रा लागि अवसर पनि हो । ती बालीहरूको खेती र उत्पादन बढाएर चामलमाथिको अत्यधिक निर्भरता कम गरी खाद्य सुरक्षा र आत्मनिर्भरतामा प्रत्यक्ष टेवा पुर्याउन सकिन्छ ।
कोदोजन्य रैथाने बालीमा कार्बोहाइड्रेटसहित अधिक मात्रामा प्रोटिन र फाइबर पाइन्छ । यस्तै क्याल्सियम, म्याग्नेसियम, आइरनजस्ता खनिज र एन्टिअक्सिडेन्ट पनि पाइने भएकाले मूलतः अस्वस्थकर खानपानका कारण बालबालिकामा व्याप्त कुपोषणको समस्या कम गर्न पनि यस्ता उत्पादन सहयोगी हुन्छन् । नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण, २०२२ अनुसार अहिले नेपालमा पाँच वर्षमुनिका ४३ प्रतिशत बालबालिकामा र ३४ प्रतिशत महिलामा रक्तअल्पता छ । यो संसारकै खराबमध्येको एक हो । कोदोजन्य बाली रक्तअल्पता लगायत कुपोषण घटाउन उपयोगी छ ।
पछिल्लो समय हामीकहाँ मोटोपन, मधुमेह र मुटुरोगीको संख्या बढ्दै गएकाले जनस्वास्थ्यको दृष्टिले ती रोग लाग्ने जोखिम कम गर्न र लागेको अवस्थामा समेत नियन्त्रणमा राख्न त्यस्ता बाली उपयोगी हुन्छन् । ग्रामीण क्षेत्रमा कोदोजन्य बालीको उत्पादन, यसमा आधारित विभिन्न प्रशोधित खाद्य पदार्थको उद्यम एवं व्यवसाय, होटल, रेस्टुराँ, कोसेली घर एवं होमस्टे सञ्चालन र बजारीकरणमा ग्रामीण महिला तथा युवाहरूको संलग्नता बढाउन सकिन्छ ।
स्वास्थ्य सचेतना बढ्दै जाँदा खासगरी शहरी उपभोक्तामाझ र सचेत उपभोक्ताबीच कोदोजन्य रैथाने बालीको उत्पादनको माग बढ्दै गएकाले ग्रामीण उत्पादनलाई शहरसँग जोड्न सकिन्छ । त्यस्ता केही प्रयास भइरहेका पनि छन् । रैथाने जातको परस्थानीय बीउ संरक्षणका लागि नेपाल कृषि अनुसन्धान परिषद् अन्तर्गत राष्ट्रिय जीन ब्यांक क्रियाशील छ । उक्त जीन ब्यांकमा १० हजारभन्दा बढी विभिन्न बालीहरूका रैथाने जात संरक्षित छन् । त्यसैगरी, परिषद् अन्तर्गत नै कोदोजन्य बालीको अनुसन्धानका लागि दोलखामा छुट्टै अनुसन्धान केन्द्र छ ।
विगतमा पनि ‘मिलेट मिशन’ सञ्चालनमा ल्याइएको थियो । वर्तमानमा संघीय सशर्त वित्तीय हस्तान्तरण मार्फत प्रांगारिक कृषि मिसन कार्यक्रममार्फत पनि रैथाने बाली प्रवर्द्धनका कार्यक्रम सञ्चालन हुँदै आएका छन् । त्यसैगरी, सातै प्रदेश र केही स्थानीय तहमार्फत आफ्नै स्रोतबाट पनि रैथाने बाली प्रवद्र्धनका काम भएका छन् ।
त्यस्तै, हामीले देशभरका होटल व्यवसायी, रेस्टुराँ सञ्चालक र होमस्टे सञ्चालकलाई कोदोजन्य रैथाने बालीमा आधारित परिकार तयारीबारे तालिम दिइएको छ । बाली प्रवर्द्धन कार्यक्रमअन्तर्गत स्थानीय तहमार्फत कोदोजन्य रैथाने बालीका परिकार एवं अन्य प्रशोधित खाद्य परिकार विज्ञलाई गाउँ–गाउँमा लगेर विभिन्न परिकार बनाउने तालिम पनि भएका छन् । यसले, कोदोको प्रवर्द्धनमा सघाउनेछ ।
रैथाने बाली संरक्षण कार्यक्रम अन्तर्गत सरकारी फार्महरूमा ‘डाइभर्सिटी ब्लक’ तथा ‘फिल्ड जीन ब्यांक’ स्थापना गर्ने, समुदाय स्तरमा सामुदायिक फिल्ड जीन ब्यांक स्थापना गर्ने, विद्यालयमा स्कूल फिल्ड जीन ब्यांक स्थापना गर्ने, कृषि वंशाणु आरक्षस्थल निर्माणजस्ता कार्य हुँदै आएका छन् । हाम्रा रैथाने जातको स्वामित्व र संरक्षणका लागि राष्ट्रिय बीउबिजन समितिमा दर्ता गर्ने गरिएको छ । यसअन्तर्गत २० वटा जति रैथाने जात दर्ता भइसकेका छन् ।
भोलि नयाँ कानून बन्दा अहिले हामीले गरेको दर्ताले कानूनी मान्यता पाउँछ । त्यो भएपछि हाम्रो स्वामित्व स्थापित हुन्छ । समुदायको पनि स्वामित्व स्थापित हुन्छ । त्यसबाहेक, रैथाने बाली प्रवर्द्धनका अलावा सुदूरपश्चिम पहाडमा नै पहिलोपटक बेमौसमी तरकारी खेतीका लागि ‘सेमिप्रोटेक्टेड’ प्लास्टिक घरको सुरुआत र बिस्तार, पाखोबारीमा दुई सिजन आलु खेती र बीउ आलु भण्डारणका लागि ‘रस्टिक स्टोर’ निर्माण, जिल्लालाई खाद्यान्न बीउमा आत्मनिर्भर बनाउन कृषक समूह तथा सहकारीमार्फत बीउ उत्पादन र वितरण, स्याउ र ओखर खेती बिस्तारका लागि बगैँचा स्थापना र हजारौँ बेर्ना वितरण भएका थिए ।
एक वर्ष एकै पटक १२ हजार घरपरिवारमा राम्रो उत्पादन दिने डब्लू के १२०४ जातको गहुँको बीउ प्रत्येक घरधुरीलाई एक–एक किलोका दरले वितरण गरियो, जुन कार्यले तत्कालीन अवस्थामा बाजुराको खाद्य सुरक्षामा ठूलो योगदान पुर्याएको थियो । बाजुराको गौमूल गाउँपालिका र मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले दुई वर्षदेखि दिवा खाजामा रैथाने परिकार समावेश गर्दै आएका छन् ।
अन्य पालिका, संघीय एकाइहरूले पनि सुरू गरेका छन् । अर्को महत्त्वपूर्ण पक्ष, रैथाने बालीका उत्पादनको न्यूनतम समर्थन मूल्य तोकी खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कृषकबाट खरिद गर्ने व्यवस्था गर्नुपर्ने देखिन्छ । यसरी, खरिद गरिएको खाद्य वस्तु सार्वजनिक वितरण प्रणालीमा समावेश गर्न सकिए देशमा कुपोषण कम गर्नसमेत सहयोगी हुन्छ ।