झापा, माघ १८
लामो समयदेखि राष्ट्रिय राजनीतिमा स्थापित र प्रभावशाली नेताहरूको प्रतिस्पर्धाको केन्द्र रहँदै आएको झापा क्षेत्र नम्बर १ यसपटक भने फरक राजनीतिक सन्देश बोकेर चुनावी प्रक्रियामा छ । विगतका हरेक निर्वाचनमा ‘हेभिवेट’ उम्मेदवारहरू रहने यो क्षेत्रले आसन्न निर्वाचनमा नयाँ अनुहारलाई प्राथमिकता दिँदै नेतृत्व पुनर्संरचनाको अभ्यास सुरु गरेको देखिन्छ ।
विगतका निर्वाचनहरूमा यहाँबाट राष्ट्रिय राजनीतिमा चर्चित नेताहरूको प्रतिस्पर्धा देखिँदै आएको थियो । चक्र बास्तोला, द्रोणचार्य आचार्य, देवी ओझा, सीपी मैनाली, राधाकृष्ण मैनाली, पूर्व कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री नरेन्द्रविक्रम नेम्वाङ, पूर्व सूचना तथा सञ्चार मन्त्री राम कार्की, पूर्व महान्यायाधिवक्ता तथा कानुन मन्त्री अग्नि खरेल, संविधानसभा सदस्य रविन कोइराला, कांग्रेस उपसभापति विश्वप्रकाश शर्माजस्ता स्थापित नेताहरूले यहाँबाट चुनावी प्रतिष्पर्धा गरेका हुन् । त्यसैले पनि यसपटकको निर्वाचनमा पनि हेभिवेट अनुहार नै दोहोरिने अपेक्षा गरिएको थियो । तर न विश्वप्रकाश फर्किए, न त राम कार्कीले नै यो फोत्रलाई फर्केर हेरे । विगतका अरु नेताहरू त प्रत्यक्ष निर्वाचनको मोहबाट टाढै भइसकेका छन् ।
प्रतिनिधि सभाको २०७९ को निर्वाचनमा विजयी र निकतम प्रत्यासीबीचको मतान्तर १४ हजार २ सय ७५ मतको थियो । कांग्रेसका विश्वप्रकाश शर्मा ३९ हजार ६ सय २४ मतले विजयी हुँदा निकटतम प्रतिष्पर्धी एमालेका अग्निप्रसाद खरेलले २५ हजार ३ सय ४९ मत पाएका थिए । तेस्रो बनेका रास्वपाका ओमनाथ भण्डारीले ८ हजार ५ सय ६४ मत ल्याएका थिए भने चौथो बनेका मंगोल नेशनल अर्गनाइजेसनका सन्तोष तामाङले १ हजार ५ सय ७७ मत ल्याएका थिए ।
त्यसअघि २०७४ को निर्वाचनमा विजयी र निकटतम प्रतिष्पर्धीबीचको मतान्तर २ हजार ८ सय ६३ मतको थियो । त्यो बेला माओवादी केन्द्रका राम कार्की ३६ हजार १ सय ७३ मतले विजयी हुँदा निकटतम प्रत्यासी कांग्रेसका विश्वप्रकाश शर्माले ३३ हजार ३ सय १० मत पाएका थिए । तेस्रो बनेका मंगोलका सन्तोष तामाङले १ हजार ३ सय ८९ मत पाएका थिए । तर २०७९ सालको निर्वाचनमा समीकरण बद्लियो । कांग्रेसका विश्वप्रकाश शर्मा ठूलो मतान्तरसहित विजयी भए भने एमाले दोस्रो स्थानमा सीमित भयो । यसले मतदाताको धारणा स्थायी नभई समयअनुसार बदलिँदै जाने संकेत दिएको छ ।
बदलिँदो राजनीतिक परिवेश, मतदाताको मनोविज्ञानमा आएको परिवर्तन, युवापुस्ताको राजनीतिक चेतना र लामो समयदेखि स्थापित नेताहरूप्रतिको असन्तुष्टिले पनि प्रमुख दलहरूलाई नयाँ नेतृत्व अघि सार्न बाध्य बनाएको देखिन्छ । यसपटक झापा–१ मा कांग्रेस, एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा, श्रम संस्कृति पार्टी लगायत सबैजसो दलहरूले नयाँ उम्मेदवारलाई मैदानमा उतारेका छन् । यसले यो क्षेत्रलाई केवल प्रतिस्पर्धाको थलो मात्र नभई दलहरूको दीर्घकालीन राजनीतिक रणनीति परीक्षण गर्ने प्रयोगस्थलका रूपमा पनि उभ्याएको छ ।
कांग्रेसले पार्टीका जिल्ला उपसभापति केशवराज पाण्डेलाई उम्मेदवार बनाएर स्थानीय संगठनलाई मजबुत बनाउने संकेत दिएको छ । कांग्रेसको यो निर्णयलाई केन्द्रमुखी राजनीतिभन्दा स्थानीय आधार बलियो बनाउने प्रयासका रूपमा हेरिएको छ । एमालेले सहकारी अभियानमा सक्रिय र पुरानो वामपन्थी पृष्ठभूमि भएका रामचन्द्र उप्रेतीलाई अघि सार्दै स्थानीय जरा र संगठनात्मक अनुभवलाई जोड दिएको देखिन्छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले पूर्व सांसद तथा जेनजी पुस्ताकी प्रतिनिधि निशा डाँगीलाई उम्मेदवार बनाएर अनुभव र नयाँ राजनीतिक धारबीच सन्तुलन खोज्ने प्रयास गरेको छ । पछिल्लो समय वैकल्पिक राजनीतिमा चर्चा बटुलिरहेको रास्वपाको उम्मेदवारीलाई मतदाताले चासोका साथ हेरिरहेका छन् । राप्रपाले प्राध्यापक हेमराज कार्कीलाई चुनावी मैदानमा उतारेको छ भने नेकपाबाट इन्जिनियर अशेष घिमिरे उम्मेदवार बनेका छन् ।
यसैगरी हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीबाट युवा नेता केवलराम राई, उज्यालो नेपाल पार्टीबाट नरेशकुमार लावती, नेपाल जनमुक्ति पार्टीबाट खान्द्रु कुरुवा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट मनबहादुर साँवा लिम्बू, जनता समाजवादी पार्टीबाट रमा मेचे, नेमकिपाबाट हिरण्यप्रसाद भट्टराई, नेपाल सद्भावना पार्टीबाट ओलीन राजवंशी र मंगोल नेशनल अर्गनाइजेशनबाट सन्तोष तामाङ उम्मेदवार छन् । यस्तै स्वतन्त्रतर्फबाट गणेशकुमार खरेल र दुर्गाबहादुर साँवा लिम्बू पनि चुनावी प्रतिस्पर्धामा छन् ।
उम्मेदवारहरूको यो विविधताले झापा–१ को चुनावलाई बहुआयामिक बनाएको छ । स्थानीय मतदाताहरू पनि यसपटकको चुनावलाई फरक रूपमा लिइरहेका छन् । ‘पहिला चुनाव ठूला नेताको नाममा सीमित हुन्थ्यो,’ झापा–१ का मतदातामध्येका प्रवीन चापागाईं भन्छन्, ‘यसपटक उम्मेदवारको काम, सोच र भविष्यको योजनालाई हेरेर मात्र मत हाल्ने सोच बनाएका छौं ।’ यस्तो धारणा धेरै मतदातामा देखिन थालेको छ ।
निर्वाचन आयोगका अनुसार भद्रपुर नगरपालिकाका ९, १०, बुद्धशान्ति गाउँपालिकाका ४, ५, ६, ७ नम्बर वडा, मेचीनगर नगरपालकिाका १ देखि १५ वटा वडा पर्छन् । मतदाता संख्या १ लाख ३१ हजार ६७ भएको छ । यसमा पुरुषको संख्या ६५ हजार ८ सय ५८ छ भने महिला ६५ हजार २ सय ९ जना छन् । जिल्लाभर यसपटकको चुनावमा ५० हजार नयाँ मतदाता थपिँदा झापा–१ मा पनि मतदाता थपिएका छन् । यो क्षेत्रमा ४३ मतदानस्थल र १४५ मतदान केन्द्र निर्धारण भएको आयोगले जनाएको छ ।
चुनावको मिति नजिकिँदै जाँदा उम्मेदवारहरू घरदैलो अभियान, भेटघाट र संवादमा सक्रिय बन्दै गएका छन् । स्थानीय मुद्दा, विकासका आवश्यकता, रोजगारी, शिक्षा र सुशासनजस्ता विषय चुनावी बहसको केन्द्रमा आउन थालेका छन् । मतदाताहरू पनि आफ्नो समर्थनमा रहेका नयाँ वा पुराना दलका उम्मेदवारलाई खुलेर समर्थन गर्दै मतदान गर्ने तयारीमा छन् ।
यसरी हेभिवेट राजनीतिबाट केही हदसम्म ‘ब्रेक’ लिएको झापा–१ ले यसपटक नयाँ नेतृत्वलाई अवसर दिने संकेत गरेको छ ।