सप्तरी । सप्तरीको निर्वाचन क्षेत्र नम्बर १ मा मतदाताहरूले ‘नो भोट’ अभियान सुरु गरेका छन् । आफूहरूका माग मुद्दा कुनै नेताले सम्बोधन नगरेकोले यसपालि मतदान नगर्ने सोच उनीहरूको छ । आफ्ना मागहरू उल्लिखित ब्यानर झुण्डाएर ‘नो भोट’ अभियान चलाएका हुन् ।
जेनजी आन्दोलनपछि नयाँ नेतृत्व चयन गर्ने उत्साह युवा वर्गमा रहेको पाइन्छ । तर सप्तरीको निर्वाचन क्षेत्र नम्बर–१ मा मतदाताहरूले ‘नो भोट’ अभियन चलाउँदा मतदाताहरू सोचमग्न भएका छन् । यस क्षेत्रको हनुमाननगर कंकालिनी नगरपालिका–१४ डलवा टोलका मतदाताहरूले चलाएको सो अभियान अन्तर्गत टोलका मुख्य सडकमा ब्यानर झुण्ड् याउँदै आफ्ना माग उल्लेख गर्दै ‘नो भोट’ अभियान चलाएका हुन् ।
आफ्ना समस्या कुनै पनि नेताले सम्बोधन गर्नेतर्फ गम्भीरता नदेखाएको हुँदा यसपटक ‘नो भोट’ अभियान चलाइएको स्थानीय रामकृष्ण यादव बताउँछन् ।
कोशी तटबन्ध निर्माणले २०२० सालमा बस्ती विस्थापित भएपछि बसोबास गर्दै आएको ठाउँको लालपुर्जा हालसम्म प्राप्त नगर्न सकेको आफ्नो गुनासो रहेको अर्का स्थानीयले बताए । तटबन्धको छेउमा बसोबास गर्दै आएकोले बाढीको जोखिम पनि उच्च रहने गरेको हुँदा तटबन्ध मर्मतको माग पनि आफूहरूले राखेका उनले बताए ।
स्थानीयका अनुसार सात सय बिघाको सो बस्ती अझै पनि लालपुर्जाविहीन रहेकाले थुप्रै समस्या आउने गरेका छन् । २०२० सालदेखि लालपुर्जाविहीन जग्गामा बस्दै आएको गुनासो गराउँदा पनि प्रत्येक निर्वाचनमा नेताहरूले समस्या समाधान गर्ने वाचा गरे पनि हालसम्म लालपुर्जा दिलाउन भने नसकेको उनीहरूको दुखेसो छ । लालपुर्जा नभएकाले बैंकिङ कारोबार गर्न नपाउनेदेखि बिजुली जडानलगायत अनेकौं समस्या स्थानीयले भोग्दै आएका छन् । ‘हाम्रो समस्या कसले सुन्ने ? कहिले सुन्ने ?’ स्थानीय अशोक कुमार यादवले प्रश्न गरे ।
सो बस्तीमा एक हजार मतदाता छन् । आफ्ना समस्या समाधान नभएसम्म यो पटक कसैले पनि भोट नदिने उनीहरूको अडान छ । यो अडानमा जेनजी पुस्ताका नवयुवादेखि वृद्धहरूसमेत एकमत छन् । ‘यसपटकको निर्वाचनमा कुनै उम्मेदवारले आफ्ना यी समस्याहरू समाधान गर्ने वाचा गरे मात्र मतदान गर्ने हाम्रो सोच छ,’ स्थानीय अरुण यादवले सुनाए ।