रौतहट, ९ भदौ - गौरमा सुटकेशभित्र शव भेटिएको घटनाका प्रहरी संदिग्ध दोषीनजिक पुगेको छ । रौतहटको माधवनारायण– ६ की ३० वर्षीया रुबीकुमारी साहको हत्या गरेर सुटकेशमा राखेको अवस्थामा शनिबार शव फेला परेको थियो ।
प्रहरीले घटनास्थल आसपासको सीसीटीभी क्यामरा, मृतकको मोबाइलको कल डिटेल लगायत विविध पक्षहरूबाट अनुसन्धान थालेको थियो । मान्छे अटाउने सुटकेश कसैले सजिलै बोकेर छाडेको ठाउँसम्म पुर्याउन सजिलो थिएन ।
यस कोणबाट हेर्दै गौर क्षेत्रमा चल्ने ई–रिक्साका चालकहरूलाई सोमबार जिल्ला प्रहरी कार्यालयमा बोलाएर सोधपुछ गरेको प्रवक्ता डीएसपी राजु कार्कीले बताए । ‘हामी अनुसन्धानमै क्रमममा छौं, कसैलाई पक्राउ गरिसकेका छैनौं,’ सोमबार साँझ उनले भने, ‘शंकास्पद व्यक्ति हाम्रो अनुसन्धानको घेरामा छन् तर, ठ्याक्कै उही हो भन्ने पर्याप्त प्रमाण पुगिसकेको छैन ।’
केही सञ्चारमाध्यममा प्रहरीले कसुरवारका सहयोगी शंकास्पदलाई पक्राउ गरेको र हत्यारा पहिचान भइसकेको भनेर आएका खबरमा सत्यता नभएको उनले दाबी गरे । ‘हामीले घटनालाई गम्भीररूपमा लिएर अनुसन्धान गरिरहेका छौं,’ अनुसन्धानमा अप्ठ्यारो पर्नेगरी समाचार सम्प्रेषण नगरिदिन उनले अनुरोध गरे ।
‘समाचारहरूमा आएजस्तो हामीले अनुसन्धानका क्रममा कसैलाई पक्राउ पनि गरेका छैनौं । हत्यामा संलग्नहरूको ठ्याक्कै पहिचान पनि भइसकेको अवस्था छैन । तर, अनुसन्धानको क्रममा धेरै कुराहरू खुलिसकेका छन् । चाँडै नै अपराधी पक्राउ पर्छन्,’ उनले भने ।
घटनाको अनुसन्धानमा संलग्न अर्का एक प्रहरीले हत्यामा संलग्नको पहिचान भइसकेको भए पनि अनुसन्धानमा असर पर्ने भएकाले गोप्य राखिएको दाबी गरेका छन् । उनले भने ‘अनुसन्धानबाट हत्यारा को हो भन्ने पत्ता लागिसक्यो तर, पक्राउ पर्न बाँकी छ । नाम सार्वजनिक गर्दा ऊ हाम्रो पकडमा नआउन सक्छ,’ उनले भने ।
उनका अनुसार शव भारतीय सीमानजिक भेटिएको भए पनि हत्या गौरकै कुनै घरमा गरेर लासलाई सुटकेशमा हाली लगेर छाडिएको अनुसन्धानमा देखिन्छ । ‘हत्या जसले गरे पनि शव भएको सुटकेश उसले सहयोगीबिना लगेर सुनसान ठाउँमा छाड्न सम्भव देखिदैन,’ उनले भने ।
शव रहेको सुटकेश शनिबार राति सडकछेउ फेला परेको थियो । प्रहरीले बम हुनसक्ने शंकामा रातभर पहरा दिएर आइतबार बिहानमात्रै खोलेर हेरेको थियो । त्यसमा रुविदेवीको शव थियो । भारतको मुजफ्फरपुर घर भएकी रुविदेवी चार वर्षीय छोरालाई स्कूल आउजाउ गर्ने बानी लगाउने भन्दै केही महिनाअघि माइती आएकी थिइन ।
उनी छोरा र आमा मिथिलादेवीसँगै गौर–२ महादेवपट्टीमा डेरा गरेर बस्दै आएकी थिइन । शनिबार साँझ शृंगार गराउन ब्युटीपार्लर गएकी उनको अन्तिम पटक आमा मिथिलादेवीसँग मोबाइलमा कुरा भएको थियो । आमाले उनलाई ‘घर आउँदा छोराका लागि चकलेट ल्याइदिनू’ भनेकी थिइन ।
उनी बेलुकी अबेरसम्म डेरामा फर्किनन् । पछि रिङ गर्दा उनको मोबाइल पनि स्वीच अफ थियो । आफन्तले खोजी गर्दा पनि भेटिएकी थिइनन् । सुटकेशमा शव फेला परे पनि उनको मोबाइल सेट भेटिएको छैन । उनका श्रीमान शिवसागर साह आइतबार नै भारतबाट गौर आएका छन् ।