नेभिगेशन
अर्थतन्त्र

नयाँ दिल्लीमा इन्डो–नेपाल ट्रेड फेस्टिभल २०२६

व्यापारदेखि संस्कृतिसम्मको ‘कनेक्टिभिटी डिप्लोमेसी’

संवाददाता
काठमाडौं, फागुन ५
भारत र नेपालबीचको द्विपक्षीय सहकार्यलाई नयाँ उचाइ दिने उद्देश्यसहित इन्डो–नेपाल ट्रेड फेस्टिभल आयोजना गरिएको छ । भारतको राजधानी नयाँ दिल्लीमा फेब्रुअरी २० देखि २२ सम्म आयोजना हुने महोत्सवले व्यापारिक संवादसँगै सांस्कृतिक कूटनीतिलाई पनि सशक्त बनाउने अपेक्षा गरिएको छ । महोत्सवको नारा ‘कनेक्टिङ पिपुल, इन्हान्सिङ बाइल्याटरल ट्रेड’ रहेको छ ।

उद्घाटन सत्रमा नेपालका लागि भारतका राजदूत शंकरप्रसाद शर्मा, भारत सरकारका पर्यटनमन्त्री गजेन्द्रसिंह शेखावत, केन्द्रीय सञ्चारमन्त्री ज्योतिरादित्य सिंधिया एवं नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाललगायत उच्चस्तरीय सहभागिता रहने आयोजकले जनाएको छ ।

पहिलो संस्करणको सफलतापछि महोत्सव भारत–नेपालबीच आर्थिक कूटनीति, पर्यटन एकीकरण, लगानी साझेदारी र सांस्कृतिक आदान–प्रदान सुदृढ गर्ने प्रमुख मञ्चका रूपमा स्थापित हुँदै गएको छ । यस वर्ष जलविद्युत् तथा ऊर्जा साझेदारी, सीमापार व्यापार र कनेक्टिभिटी, रामायण र बौद्ध सर्किट, बैंकिङ, फिनटेक र डिजिटल अर्थतन्त्र, मिडिया तथा सांस्कृतिक कूटनीति, युवा सहभागिता, शिक्षा तथा नवप्रवर्तन र स्टार्टअप इकोसिस्टम जस्ता विषयमा १० भन्दा बढी उच्चस्तरीय सत्र आयोजना हुनेछन् । ती सत्रहरूमा ६० भन्दा बढी विज्ञ तथा वक्ता सहभागी हुने कार्यक्रम छ ।

महोत्सव अवधिमा बीटुबी र बीटुजी बैठक, व्यावसायिक नेटवर्किङ तथा नीतिगत संवाद पनि सञ्चालन गरिनेछ । आयोजकका अनुसार यी छलफलले दुवै देशका नीति–निर्माता, कूटनीतिज्ञ, उद्योगी, लगानीकर्ता र उद्यमीलाई साझा विकास र दिगो क्षेत्रीय सहकार्यका नयाँ अवसरहरू पहिचान गर्न सहयोग गर्नेछन् ।
नयाँ दिल्लीस्थित पीएचडी चेम्बरको भवनमा हुने महोत्सवमा व्यापारिक प्रदर्शनीसँगै नेपालको समृद्ध सांस्कृतिक पहिचान पनि प्रस्तुत गरिनेछ । सांगीतिक कार्यक्रम, चलचित्र प्रदर्शन, परम्परागत कला र प्रामाणिक नेपाली परिकारमार्फत सहभागीलाई नेपाल–भारतको विशेष सांस्कृतिक अनुभव प्रदान गरिने बताइएको छ । महोत्सवमा ६५ भन्दा बढी स्टल रहनेछन् भने २५ हजारभन्दा बढी अवलोकनकर्ता आउने अनुमान गरिएको छ ।

मंगलबार नयाँ दिल्लीस्थित प्रेस क्लबमा आयोजित पत्रकार सम्मेलनमा भारतमा रहेका नेपाली उद्योगी–व्यवसायीहरूको छाता संस्था एभरेस्ट चेम्बर अफ कमर्स (ईसीसीआई)का अध्यक्ष युवराज बरालले महोत्सवलाई ‘व्यापार, पर्यटन, संस्कृति र नवप्रवर्तनमार्फत द्विपक्षीय सहकार्य सुदृढ गर्ने परिवर्तनकारी मञ्च’का रूपमा परिकल्पना गरिएको बताए । उनले महोत्सवले ‘लगानी अवसर विस्तार गर्दै भारत–नेपाल ऐतिहासिक मित्रतालाई अझ गहिरो बनाउने’ विश्वास व्यक्त गरे ।

ईसीसीआईको मुख्य आयोजनामा नेपाली दूतावास, नेपाल पर्यटन बोर्ड र व्यापार तथा प्रवद्र्धन केन्द्रको सहकार्यमा महोत्सव आयोजना हुन लागेको हो । सन् २००८ मा स्थापना भएको ईसीसीआईमा भारतका विभिन्न क्षेत्रका ८ सयभन्दा बढी सदस्य छन् । महोत्सवले व्यापारिक ‘डिल–मेकिङ’ मात्र नभई ‘पिपुल–टु–पिपुल कनेक्टिभिटी’ र सांस्कृतिक कूटनीतिलाई पनि समानान्तररूपमा अघि बढाउने अपेक्षा गरिएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्