नेभिगेशन
अर्थतन्त्र

पर्यटन नेपालको अर्थतन्त्रको मेरुदण्डः अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले पर्यटन क्षेत्र नेपालको अर्थतन्त्रको मेरुदण्ड रहेको बताएका छन् । नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा परिसूचक मिडियाले आयोजना गरेको कार्यक्रममा उनले पर्यटनले रोजगारी सिर्जना, विदेशी मुद्रा आर्जन र समग्र आर्थिक वृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।
दिगो, समावेशी र जिम्मेवार पर्यटन अभ्यासमार्फत नेपालको अमूल्य प्राकृतिक सम्पदा र समृद्ध सांस्कृतिक सम्पदाको संरक्षण गर्दै पर्यटन प्रवर्धन गर्ने दिशामा सरकार निरन्तर लागिरहेको जानकारी उनले दिए । ‘नेपाललाई अन्तर्राष्ट्रिय पर्यटन गन्तव्यका रूपमा कसरी अझ प्रभावकारीरूपमा प्रस्तुत गर्ने भन्ने विषयमा प्राप्त सुझावहरू अत्यन्त महत्वपूर्ण छन्,’ मन्त्री खनालले भने ।
जेनजी आन्दोलनपछि  देखिएका विभिन्न आशंका र अन्योललाई वर्तमान सरकारले सफलतापूर्वक सम्बोधन गर्न थालेको दाबी उनले गरे । सरकारले पर्यटन क्षेत्रलाई उद्योगसरह विकास गर्ने नीति अघि बढाएको तथा भ्रष्टाचार न्यूनीकरण, सुशासन र आर्थिक सुधारलाई प्राथमिकतामा राखेर काम भइरहेको खनालले बताए ।
सरकारका यी उपलब्धिलाई संस्थागत गर्दै अर्थतन्त्रका सबै क्षेत्रलाई समानरूपमा अघि बढाउनेतर्फ सरकार प्रतिबद्ध रहेको पनि उनले स्पष्ट पारे । मन्त्री खनालले आफ्ना कार्यकालमा भएका आर्थिक सुधारका कामलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । ‘आफ्नो कार्यकालमा गर्न सकिने काम म आफैं सम्पन्न गर्छु, बाँकी रहेका योजना आगामी दिनमा आउने अर्थमन्त्रीलाई जिम्मेवारीका साथ हस्तान्तरण गरेर जानेछु,’ उनले भने ।
कार्यक्रममा महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले जलवायु परिवर्तनले पर्यटनमा प्रत्यक्ष असर पार्दा सबैभन्दा बढी समस्यामा महिला परेकाले महिला केन्द्रित लगानीमा जोड दिइन् । ‘पर्यटनबाट प्राप्त आम्दानीलाई सामूहिक सहनशीलतासँग जोड्दै संरक्षणकर्तालाई प्रत्यक्ष लाभ सुनिश्चित गर्नुपर्ने आवश्यकता छ,’ उनले भनिन् ।
हिमताल विस्फोट, अनियमित हिमपात र पहिरोका कारण ट्रेकिङ पदमार्ग अवरुद्ध हुनु, पर्यटकीय क्षेत्रमा पानीको अभाव, जैविक विविधता क्षय र सम्पदामा क्षति जस्ता घटनाले पर्यटनलाई बढ्दो रूपमा प्रभावित गरिरहेका प्रति चिन्ता व्यक्त गरिन् ।
त्यस्तै पाटा नेपाल च्याप्टरका अध्यक्ष खेमराज लकाईले अहिलेको पुस्तालाई हिजोको सोच र पढाइले अघि बढाउन नसक्ने बताए । ‘हामी अझै पनि अध्ययन भनेको ब्याचलर र मास्टर्समात्र हो भन्ने मानसिकतामा छौं,’ उनले भने, ‘अब १२ कक्षादेखि नै विद्यार्थीलाई व्यावसायिक र सीपमूलक कामतर्फ अग्रसर गराउनुपर्छ ।’
युवालाई विदेश जानबाट रोक्न ‘पढ्दै कमाउँदै’ नीति लिनुपर्ने उनले बताए । ‘राज्यले स्वदेशमै अध्ययन गर्न चाहने विद्यार्थीका लागि लगानी र रोजगारीको सुनिश्चितता गर्नुपर्छ,’ लकाईले भने, ‘यसले मानव पुँजी देशमै रोक्न ठूलो सहयोग पु¥याउँछ ।’

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्