नेभिगेशन
प्रदेश

खाँडो र जिता नदीको बाँधले १५ सय बिघामा सिँचाइ

सप्तरी, ११ भदौ - खडेरीका कारण धान बाली सुक्न थालेको बेला सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा सिँचाइले ठूलो राहत दिएको छ । गाउँपालिकाको पहलमा दुईवटा नदीमा बाँध बाँधेर करिब १५ सय विघा खेतमा पानी पु¥याइएपछि किसानले राहतको अनुभव गर्न पाएका छन् ।

गाउँपालिकाको वडा नम्बर १ र २ भएर बग्ने खाँडो नदीमा अस्थायी बाँध बनाइएको हो । यसबाट दुई वडाका करिब ७ सय विघा खेतमा सिँचाइ पुगेको छ । जिता नदीमा बाँध बाँधिएपछि ४ र ५ नम्बर वडाको आठ सय विघाभन्दा बढी खेतमा सिँचाइ भएको स्थानीय कृषक राजेन्द्र साहले बताए ।

‘खेत सुकिसकेको थियो, धान फलाउने आशा थिएन तर नदीको पानी पुगेपछि धानमा ज्यान आयो,’ उनले भने, ‘बर्षा नहुँदा बोरिङबाट आउने पानीले पनि सिँचाइ हुन सक्ने अवस्था थिएन । बाँधले राहत दिएको छ । सुक्न लागेको खेत हराभरा बनेको छ ।’

पालिकाका विपद् व्यवस्थापन अधिकृत राजेश झाले बाँध निर्माणपछि किसानलाई ठूलो राहत पुगेको बताए । गाउँपालिका अध्यक्ष अरुण मण्डलले किसानको गुनासोपछि समाधानको उपाय खोजिएको बताए । ‘किसानको समस्या समाधान गर्न उपाय खोज्दै गर्दा
छलफलबाट यो उपाय आएपछि काम गरियो, अहिले किसानलाई खडेरीबाट धेरै राहत भएको छ, अन्य वडामा पनि समाधानको उपायको प्रयास भइरहेको छ,’ अध्यक्ष मण्डलले भने ।

यसबाट केही समयका लागि राहत मिले पनि किसानहरूले स्थायी सिँचाइको माग गरेका छन् । ‘नदीमा अस्थायी बाँधमात्रै समाधान होइन । सरकारले दीर्घकालीन उपाय ल्याउनुपर्छ,’ उनीहरूको भनाइ छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्