नेभिगेशन
अर्थतन्त्र
जीवन बीमाको कारोबारमा उछाल

१४ कम्पनीले सात महिनामा उठाए २५ अर्बभन्दा बढी

काठमाडौं । जीवन बीमाको व्यापार बढेको छ । कम्पनीहरूले चालु आर्थिक वर्षको ७ महिनामा नयाँ व्यापार भनिने प्रथम बीमाशुल्क ३६ प्रतिशत बढीले बढाएका छन् । कम्पनीहरूले गत साउनदेखि माघ मसान्तसम्मको अवधिमा २५ अर्ब ११ करोड ६८ लाख रुपैयाँ संकलन गरेका हुन् । 
नेपाल बीमा प्राधिकरणले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार यो रकम अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३६.२८ प्रतिशतले बढी हो । गत आर्थिक वर्षमा साउनदेखि माघ मसान्तसम्मको अवधिमा १८ अर्ब ४३ करोड ४ लाख रुपैयाँ मात्र प्रथम बीमाशुल्क संकलन भएको थियो ।
१४ जीवन बीमा कम्पनीमा सबैको नयाँ व्यापार वृद्धि भएको तथ्यांकले देखाएको हो । संकलित प्रथम बीमाशुल्कका आधारमा नेपाल लाइफ इन्स्योरेन्स अग्रस्थानमा  छ । उक्त कम्पनीले माघसम्म ६ अर्ब ७५ करोड ७२ लाख रुपैयाँ संकलन गरेको छ । उसको यो बीमाशुल्क संकलन अघिल्लो वर्षको तुलनामा ४७.१७ प्रतिशत बढी हो । यो कम्पनीले गत वर्ष यही अवधिमा ४ अर्ब ५९ करोड १३ लाख रुपैयाँको बीमाशुल्क संकलन गरेको थियो । 
दोस्रो स्थानमा नेसनल लाइफ इन्स्योरेन्स छ । यो कम्पनीले ७ महिनाको अवधिमा ३ अर्ब ६३ करोड ५० लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । जुन अघिल्लो वर्षको यही अवधिको भन्दा ३२.७९ प्रतिशतले बढी हो । 
त्यस्तै, लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल तेस्रो स्थानमा रहँदै १ अर्ब ९३ करोड ८३ लाख रुपैयाँ नयाँ व्यापार गर्न सफल भएको छ । यो गत आवको यही अवधिको तुलनमा २५.४२ प्रतिशत वृद्धि हो ।
गत आवका तुलनामा बढी बीमाशुल्क संकलन गर्ने अन्य कम्पनीहरूमा सूर्यज्योति लाइफ इन्स्योरेन्सले १ अर्ब ६९ करोड ८५ लाख, सिटिजन लाइफ इन्स्योरेन्सले १ अर्ब ५१ करोड ९९ लाख र हिमालयन लाइफ इन्स्योरेन्सले १ अर्ब ३८ करोड ७६ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको बीमा प्राधिकरणले जनाएको छ । 
बीमा प्राधिकरणको तथ्यांक अनुसार अघिल्लो वर्षको तुलनामा यो अवधिमा सूर्यज्योति लाइफको नयाँ व्यापार २२.७८ प्रतिशतले बढ्दा सिटिजन लाइफको ४५.०४ प्रतिशत र हिमालयन लाइफको ०.५० प्रतिशतले बढेको छ ।
यस्तै, आईएमई लाइफ इन्स्योरेन्सले १ अर्ब ३५ करोड ९३ लाख रुपैयाँ संकलन गर्दै वृद्धिदरमा सबैभन्दा अगाडि देखिएको छ । यो कम्पनीको नयाँ व्यापार गत आर्थिक वर्षको यही अवधिको तुलनामा ९८.३२ प्रतिशतले बढेको बीमा प्राधिकरणको तथ्यांकले देखाएको छ । 
यस्तै, एसियन लाइफले १ अर्ब ३० करोड ९८ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले १ अर्ब १५ करोड रुपैयाँ, रिलायबल नेपाल लाइफले १ अर्ब १४ करोड २७ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले ९१ करोड ८८ लाख रुपैयाँ, मेट लाइफले ८८ करोड १० लाख रुपैयाँ, राष्ट्रिय जीवन बीमा कम्पनीले ७७ करोड ६९ लाख रुपैयाँ र सन नेपाल लाइफले ६४ करोड ११ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेका छन् । यो अवधिमा एसियन लाइफको ३६.९०, सानिमा रिलायन्स लाइफको ३१.४६, रिलायबल नेपाल लाइफको ५६.७६, प्रभु महालक्ष्मी लाइफको ३०.५०, मेट लाइफको १९.३७, राष्ट्रिय जीवन बीमा कम्पनीको ५०.६३ र सन नेपाल लाइफको १८.७० प्रतिशतले बीमा शुल्क संकलन बढेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्