नेभिगेशन
अर्थतन्त्र
बर्दघाट लगानी फोरम

‘एसएमई भिलेज समुन्नतिको आधार बन्छ’

नवलपरासी । बर्दघाट लगानी फोरममा सहभागी लगानीकर्ताहरूले ‘बर्दघाट एसएमई भिलेज’ नवलपरासी जिल्लाको औद्योगिक विकासका लागि महŒवपूर्ण आधार बन्न सक्ने विश्वास व्यक्त गरेका छन् । नेपाल उद्योग परिसंघको आयोजना तथा बर्दघाट उद्योग वाणिज्य संघ, उद्योग व्यापार संघ बर्दघाट र परिसंघ युवा उद्यमी मञ्चको सहआयोजनामा बर्दघाटमा भएको छलफलका सहभागीले सम्भावनाका क्षेत्र फराकिलो रहेकोमा जोड दिएका हुन् । 
फोरममा साना तथा मझौला उद्योग (एसएमई) प्रवद्र्धनका लागि औद्योगिक ग्रामको अवधारणालाई प्राथमिकतासाथ अघि बढाउनुपर्ने धारणा अधिकांशको थियो । परिसंघका कार्यवाहक अध्यक्ष निर्वाण चौधरीले ‘बर्दघाट एसएमई भिलेज’लाई नमूना औद्योगिक ग्रामका रूपमा पाइलट परियोजनाबाट कार्यान्वयन गर्नुपर्ने बताए । उनले भने, ‘उद्योग स्थापना गर्दा कुल लगानीको ठूलो हिस्सा जग्गामा खर्चिनुपर्ने बाध्यता छ । औद्योगिक ग्रामले पूर्वाधार साझा गरी लागत घटाउन र उद्योगमै लगानी केन्द्रित गर्न सहयोग गर्छ ।’
उनका अनुसार नवलपरासीमा ठूला उद्योग स्थापना भइसकेका र सडक पूर्वाधार विस्तार भइरहेकाले एसएमई विस्तारका लागि अनुकूल वातावरण बनेको छ । उनले परिसंघले सञ्चालन गरिरहेको ‘मेक इन नेपाल–स्वदेशी अभियान’बारे जानकारी दिँदै थपे, स्वदेशी उत्पादन प्रवद्र्धन र रोजगारी सिर्जनाका लागि यस्ता परियोजनामा परिसंघको पूर्ण सहयोग रहने बताए ।
नेपाल सरकारका पूर्वसचिव अर्जुन पोखरेलले ‘एक पालिका–एक औद्योगिक ग्राम’ अवधारणाअनुसार बर्दघाटमा एसएमई भिलेज अघि बढाइएको जानकारी दिए । उनले भने, ‘निजी क्षेत्रको सक्रिय सहकार्यबिना औद्योगिक ग्राम सफल हुँदैन । लगानी, व्यवस्थापन र नवप्रवर्तनमा निजी क्षेत्रको नेतृत्व आवश्यक छ ।’
नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छाले औद्योगिक ग्रामले औद्योगिकीकरणमा दीर्घकालीन टेवा दिने धारणा राखे । उनका शब्दमा, ‘रोजगारी सिर्जना र उत्पादनमूलक अर्थतन्त्रका लागि उद्योग विस्तार अपरिहार्य छ । वातावरणीय प्रभावलाई सन्तुलित रूपमा व्यवस्थापन गर्दै अघि बढ्नुपर्छ ।’  कानुनसम्मत प्रतिफलको सम्मान र लगानीमैत्री वातावरण आवश्यक रहेकोमा उनले जोड दिए ।
परिसंघका पूर्वअध्यक्ष विष्णुकुमार अग्रवालले जीडीपीमा उत्पादनमूलक उद्योगको योगदान घट्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै भने, ‘उद्योगको योगदान बढाउन औद्योगिक पार्क र ग्राममा समान सुविधा, कर प्रोत्साहन र पूर्वाधार विस्तार अनिवार्य छ ।’ परिसंघका उपाध्यक्ष रोहित गुप्ताले स्थानीय सहयोगकै कारण एक वर्षभित्र बर्दघाटमा उद्योग स्थापना गर्न सफल भएको अनुभव सुनाए । उनले भने, ‘ठूला उद्योगसँगै एसएमई विकासले मूल्य अभिवृद्धि, लागत न्यूनीकरण र रोजगारीमा प्रत्यक्ष प्रभाव पार्छ ।’
बर्दघाट उद्योग वाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपानेले साना उद्योग प्रवद्र्धनका लागि औद्योगिक ग्राम अपरिहार्य भएको बताए । उद्योग व्यापार संघ बर्दघाटका उपाध्यक्ष लीलाहरि पौडेलले सीमाना नजिकको भौगोलिक अवस्था, सहज यातायात, विद्युत् आपूर्ति र दक्ष जनशक्तिलाई बर्दघाटको मुख्य बलका रूपमा उल्लेख गरे ।
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले कृषि, पर्यटन र उद्योग क्षेत्रमा लगानी सम्भावना उच्च रहेको बताए । उनले भने, ‘वित्तीय पहुँच विस्तार र उद्यमशीलता विकासका कार्यक्रममार्फत बैंकिङ क्षेत्रले पनि योगदान बढाइरहेको छ ।’
परिसंघ युवा उद्यमी मञ्च लुम्बिनीका अध्यक्ष राजन कसजुले युवालाई स्वदेशमै उद्यम गर्न प्रोत्साहन गर्ने नीति आवश्यक रहेकोमा जोड दिए । अन्तरक्रियामा एक सयभन्दा बढी उद्योगी तथा व्यवसायी सहभागी थिए । सहभागीले ‘बर्दघाट एसएमई भिलेज’ सफल कार्यान्वयन भए नवलपरासीलाई औद्योगिक केन्द्रका रूपमा स्थापित गर्न ठोस आधार तयार हुने विश्वास व्यक्त गरेका थिए ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्