रौतहट, ११ भदौ - रौतहटमा गत शनिबार सुटकेसमा शव फेला परेकी रुबी साहको हत्याकाण्डले एउटा नयाँ र दुःखद मोड लिएको छ । हत्याका मुख्य आरोपी लक्ष्मण पासवान बुधबार बिहान जलेर गम्भीर घाइते अवस्थामा फेला परे, जसको उपचारका क्रममा काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पतालमा साँझ मृत्यु भएको छ ।
उनको मृत्युसँगै एउटा जटिल र त्रासदीपूर्ण प्रेम कथाको अन्त्य भएको छ, तर उनले आत्महत्याअघि सामाजिक सञ्जालमा पोष्ट गरेको भिडियोले यो घटनामा नयाँ प्रश्नहरू र पात्रहरूलाई अनुसन्धानको दायरामा तानेको छ ।
गत शनिबार राति गौर–सिर्सिया सडकखण्डको मुडबलवा गेटनजिक एउटा बन्द सुटकेसभित्र २६ वर्षीया रुबीदेवी साहको शव भेटिएपछि रौतहटमा सनसनी फैलिएको थियो । प्रहरी अनुसन्धानले हत्यामा उनकै बाल्यकालका प्रेमी, माधवनारायण नगरपालिका–६ माधोपुरका लक्ष्मण पासवानको संलग्नता देखायो । त्यस दिनदेखि फरार रहेका पासवानको प्रहरीले टिकटक भिडियोको आधारमा खोजी तीव्र पारेको थियो । अन्ततः बुधबार बिहान उनी आफ्नै घरनजिकैको बगैंचामा पेट्रोल छर्केर आफैंलाई आगो लगाई छटपटाइरहेको अवस्थामा भेटिए ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी नेत्रमणि गिरीका अनुसार उनको शरीरको करिब ३५ प्रतिशत भाग जलेको थियो । स्थानीयबासी र प्रहरीले उद्धार गरी तत्कालै गरुडाको अस्पतालमा पुर्याए पनि अवस्था गम्भीर भएपछि थप उपचारका लागि काठमाडौंको कीर्तिपुर पठाइएको थियो, तर चिकित्सकहरूले उनलाई बचाउन सकेनन् ।
मृत्युअघिको भिडियो : ‘सुसाइड नोट’ र आरोपहरूको शृंखला
आफूलाई आगो लगाउनुअघि लक्ष्मणले ‘कुमारी ज्योति’ नामक फेसबुक अकाउन्टबाट ९ मिनेट ३६ सेकेन्ड लामो एक भिडियो सार्वजनिक गरेका थिए । यो भिडियो उनको ‘सुसाइड नोट’ मात्र होइन, वर्षौंदेखिको प्रेम, धोका, पारिवारिक दबाब र पीडाको एकमुष्ट बयान पनि हो । भिडियोमा उनले रुबीको हत्या गर्नुको पछाडि आफूमात्र नभएर अन्य धेरै पात्र र परिस्थिति जिम्मेवार रहेको दाबी गरेका छन् ।
उनका अनुसार, उनी र रुबीबीच कक्षा ६–७ पढ्दादेखि नै गहिरो प्रेम सम्बन्ध थियो । कक्षा १० मा पढ्दा उनीहरूले घरबाट भागेर भारतको सीतामढी र नेपालको सर्लाहीमा गई कोर्ट म्यारिजसमेत गरेका थिए । तर, पासवान गरिब परिवारको भएको भन्दै रुबीको परिवारले उनीहरूको सम्बन्ध अस्वीकार गर्या र बलपूर्वक छुट्याएर भारतको मुजफ्फरपुरमा उनको विवाह गराइदियो । यो वियोगपछि पनि उनीहरूको प्रेम मरेन ।
पासवानले आफ्नो छातीमा रुबी र आफ्नो तस्बिरसहितको ट्याटु खोपाएका थिए भने हातमा ‘माई हार्ट रुबी कुमारी’ लेखाएका थिए । उनले भिडियोमा रुबीकी आमालाई उनले आफ्नो र रुबीको सम्बन्धको सबैभन्दा ठूलो ‘दुस्मन’का रूपमा प्रस्तुत गरेका छन् ।
पासवानले सखुवाका दुईजनाको नाम लिएर रुबीलाई अनैतिक कामका लागि पैसा र कारको लोभ देखाएर दबाब दिएको दाबी गरेका छन् । यति मात्र होइन, रुबीका देवरमाथि पनि उनले भिडियो बनाएर भाउजूलाई ब्ल्याकमेल गरेको आरोप लगाएका छन् ।
हत्याको त्यो दिन
आफ्नी आमा र अन्यको व्यवहारका कारण रुबी डिप्रेसनमा गएको र बारम्बार आफूसँग आएर रुने गरेको पासवानले भिडियोमा बताएका छन् । घटना भएको दिन पनि रुबी उनलाई भेट्न गौरस्थित उनको डेरामा आएकी थिइन् । ‘उनी आइन्, हामी बस्यौं, कुरा गर्यौ । हाम्रो झगडा भयो ।
उनले अब म बाँच्दिन भनिन्,’ भावुक हुँदै पासवानले भिडियोमा भनेका छन्, ‘मैले उनलाई तिमी मलाई मार भने“, उनले मलाई तिमीले मार भनिन् । मैले सक्दिन“ भनें । आजसम्म मेरो हात काँपिरहेको छ, म पागल भइसकेको छु।’ भिडियोमा उनले हत्या कसरी गरे भन्ने नखुलाए पनि प्रहरीलाई दिएको बयानमा घाँटी थिचेर हत्या गरेको स्वीकारेका थिए ।
१४ वर्ष पुरानो अपहरणको मुद्दा
यो घटना उनीहरूको सम्बन्धमा पहिलो कानूनी उल्झन भने थिएन । १४ वर्षअघि, २०६८ मा लक्ष्मणले १४ वर्षीया रुबीलाई भगाएर भारत लगेका थिए । त्यसबेला रुबीको परिवारले लक्ष्मण, उनका काका र भिनाजुविरुद्ध अपहरण, शरीर बन्धक तथा मानव बेचबिखनको मुद्दा दायर गरेको थियो । सोही मुद्दामा लक्ष्मण १७ दिन प्रहरी हिरासतमा बसेर १५ हजार धरौटीमा छुटेका थिए ।
झण्डै दुई वर्ष चलेको मुद्दामा २०७१ सालमा जिल्ला अदालतले उनलाई सफाइ दियो । अदालतबाट सफाइ पाएपछि लक्ष्मण वैदेशिक रोजगारीका लागि मलेसिया गए र करिब १० वर्षपछि, रुबीको हत्या हुनुभन्दा डेढ साताअघि मात्रै नेपाल फर्केर गौरमा डेरा लिएर बसेका थिए ।
यता परिवारले रुबीको विवाह भारतमा गरिदिएका थिए र उनको ४ वर्षको एक छोरा पनि छ । लक्ष्मण आफैं पनि विवाहित थिए र उनका ५ र ७ वर्षका दुई छोरा छन् । उनकी श्रीमती लचिया कुमारीले गत साउन ३० मा मात्रै श्रीमानले आफू र परिवारको हेरचाह नगरेको भन्दै प्रहरीमा निवेदन दिएकी थिइन् ।
अन्तिम शब्द र अनुत्तरित प्रश्नहरू आफ्नो अन्तिम भिडियोमा लक्ष्मणले आफूलाई कानूनले सजाय दिनुनपर्ने, आफूले आफैंलाई सजाय दिने बताएका छन् । ‘कानूनले के गर्छ ? १०–२० वर्ष जेल हाल्छ, तर म जेल जाँदिन, म मर्छु । मेरो ज्यान (रुबी) गइसकेकी छे, म ऊ बिना बाँच्न सक्दिन,’ उनले भनेका छन् ।
उनले रुबीको शव राखेको सुटकेस ओसार्न प्रयोग भएको टेम्पोका चालक निर्दोष रहेको र उनलाई छाडिदिन प्रहरीलाई अनुरोध गरेका छन् । साथै, उनले नाम लिएका तीनजनामाथि कारबाही गर्न माग गरेका छन् । लक्ष्मणको आत्महत्यासँगै रुबी हत्याकाण्डको मुख्य अभियुक्तको अध्याय त समाप्त भएको छ, तर उनले उठाएका प्रश्नहरूले घटनालाई थप जटिल बनाएको छ । के उनको आरोपमा सत्यता छ ? के रुबीको मृत्युमा उनको परिवार र अन्य व्यक्तिहरूको पनि भूमिका थियो ?
प्रहरीले अब लक्ष्मणको भिडियोलाई आधार मानेर घटनाको थप अनुसन्धान अगाडि बढाउने बताएको छ ।