नेभिगेशन
दृष्टिकोण

तीजको व्रत बस्ने पालो श्रीमानको

म सानैदेखि ‘कागले कान जता लग्यो त्यतै दौडने’ खालकी थिइनँ । त्यसैले कतिपय धर्मसंस्कृतिका कुरामा मेरा आमाबुबाका निर्देशनको म पालना गर्दिन थिएँ । फलस्वरूप उहाँहरूको खप्की र कहिलेकाहीँ थप्पडै पनि मेरा भागमा पर्थ्यो । हुन त जबसम्म मभित्र चेतनाले जरो हालेको थिएन तबसम्म त तीजको रमझम, व्रत बस्ने प्रक्रिया र रातैभरि पनि नाचगान गर्दा म रमाउँथें । 

बिस्तारै चेत खुल्दै गएपछि भने अरू रमाइलो कुरा त रमाइलै लाग्थ्यो । त्यसबेला आमा र उहाँका दौंतरीहरूका खुसीले चम्केका चेहरासमेत खामिन जान्थ्यो । आमा र हजुरआमाको जमाना अर्थात् मेरै बाल्यकालमा समेत नाचगान इज्जतिलो मानिँदैनथ्यो । महिलाहरूलाई त्यो बेला मेलापात जाँदा वन घन्क्याउने, ढिकीजाँतो गर्दा वह थन्क्याउने अनि पुरुषलाई जन्ती पठाएपछि महिलाहरूको भेलामा मात्र गाँठो परेर बसेको सबै बह पोख्ने छुट थियो ।

अहिले ‘जो नाच्छ उही धेरै बाँच्छ’ को अवधारणा आएको छ । त्यस्तै गायनले गाउनेको मानसिक निकास हुने र सुन्नेले आफ्ना कतिपय रोगव्याधि निको पार्ने माध्यमका रूपमा विज्ञानले नै प्रमाणित गरको छ । तीजको दर खानुको मनोविज्ञान तत्कालीन आर्थिक समाजिक दरिद्रतासँग गाँसिएको पाउँछु। 

बिहे गरेर पठाइएको घरमा वर्षदिनसम्म काममा जोताएर ढिँडो मात्र खान दिइएका चेली माइत झिकाइन्थे । माइत आएकी ती चेलीलाई एक छाक मीठो खान र एक धरो नयाँ लाउन दिने चलन चल्यो । माइतमा राम्रो नाना र मीठो खाना पाइन्छ भन्ने आशमा ती निरीह नारी घरको दारूण शासनमा शासित भएर बँधुवा मजदूरसरह खटिन्थे ।

हिजोआज आफ्नै हातमा डाडुपन्यू भएका, बाह्रै महिना खाँदाखाँदा अति पोषणको रोग लागेका वा लाग्ने तरखरमा भएका महिलाहरूले एक दिनको दर संस्कृति वा रमाइलो मनाउनुको साटो महिना दिन लामो तीजको दर क्याटरिङमा चलाउनु ‘बिरालो बाँधेर श्राद्ध गर्नु’ जस्तै हो ।

मन लागेका बेला मन परेका लुगा लगाउन सक्ने, दराजभरि लुगा खात लगाउन सक्ने, विदेशी चुरा र पोतेको आयात बढाएर अप्रत्यक्ष अपराध त गरिएको छैन ? महंगिएको बजारमा अनावश्यक खर्च बढाएर आर्थिक अपराधिकरणतर्फ समाजलाई धकेल्ने काम भइरहेको होइन ? 

बढ्दो विलासितापूर्ण तीजको प्रचलनले समाजको विकास होइन विनाश गर्नेछ । त्यसैले, तीजको दरलाई उच्छृंखल र विलासिताबाट जोगाएर सिर्जनात्मक ढंगले स्वस्थ्य मनोरञ्जन तथा शान्त र शालीन आचरणमा मनाउने बेला बित्नै लागेको अनुभव हुँदैछ । बाल्यकालदेखि आफू भोकै बसेर श्रीमान्को दीर्घजीवन माग्दै व्रत बस्ने कुरा मलाई जँचेको र पचेको थिएन । 

श्रीमान्को दीर्घ जीवनका लागि श्रीमतीले व्रत बस्ने यो कसरी सम्भव हुनसक्छ ? अनि त्यसरी व्रत बस्ने श्रीमतीका श्रीमान्ले दीर्घजीवन पाएका खोइ त ? यी प्रश्नले मेरो मस्तिष्क रन्थनिन्थ्यो । समाजको अन्धदौडमा म लागि पर्न सक्तिनथेँ र विद्रोह गर्ने हिम्मत पनि थिएन । म पनि धर्मभीरूताले ग्रस्त थिएँ र अहिलेसम्म पनि त्यसबाट पूर्णतया उम्कन सकेकी छैन । तर, म मौन विद्रोहमा भने रहिरहेँ । मेरो विद्रोह तर्कका साथ औचित्यको खोजी थियो । त्यसैले यस विषयमा खोजी र अनुसन्धानमा लागिरहेँ ।

आमा दुर्गादेवी नेपालको १० वर्षको उमेरमा बिहे भएको थियो । तर बिहेअघिदेखि नै आमाले हुनेवाला पतिको दीर्घजीवनका लागि व्रत बस्नुहुन्थ्यो । निष्ठापूर्वक उहाँद्वारा लिइने व्रतको प्रभाव चाहिँ उल्टो परको थियो । मेरा बुवा गणेशप्रसाद नेपाललाई आमाले पुजेका देउताले ५० वर्षीया मेरी आमालाई एकल बनाउँदै ५६ वर्षमै बुवालाई स्वर्गवासी बनाइदिएका थिए । 

अनेक शल्यक्रिया खपेकी ८२ वर्षीया आमालाई भने परमात्माले हाम्रा लागि यसै धरामा राखेकै छन् । त्यसै गरेर ७ वर्षकै उमेरमा ७ वर्षकै वरसँग बिहे भएर १३ वर्षको उमेरदेखि दाम्पत्य सम्बन्ध सँगाल्न पुगेकी मेरी सासूले पनि हरितालिका तीजको व्रत बस्ने क्रममा आफ्नो सम्पूर्ण समर्पण र निष्ठा महादेवलाई सुम्पेर पतिको दीर्घ जीवन माग्नुभएको थियो । उहाँलाई पनि व्रतको प्रभाव उल्टो पर्‍यो ।

मेरी सासु भागीरथा प्रसाईंलाई पनि ४० वर्षकै उमेरमा एकल महिला बनाएर मेरा ससुरा जयप्रसाद प्रसाईं पनि स्वर्ग प्रस्थान गर्नुभएको थियो । सासू स्वयमले चाहीँ ९३ वर्षको दीर्घजीवन पाउनुभएको थियो । मेरा नाता–कुटुम्ब, इष्ट–मित्रलगायतमा यस्तो उदाहरण धेरै छन् ।

यी दृष्टान्त देखेपछि हरितालिका तीज भन्ने व्रत श्रीमान्को दीर्घजीवन पार्ने व्रत हुँदै होइन भन्ने टुंगोमा म पुगेँ । तर, युगौंदेखि सनातनी परम्पराका रूपमा मानिआएको तीजको व्रत बस्नुहुन्न भन्ने धृष्टता पनि म गर्दिन । परम्परालाई अन्धभक्त भएर पालना गर्नुपर्छ पनि भन्दिन । 

समय सापेक्षरूपमा गरिएका कार्यहरू प्रभावकारी हुन्छन् भन्ने मेरो मान्यता हो । त्यसैले तीजका बारे अनुसन्धानात्मक तरिकाले पुनर्मूल्यांकन गरिनुपर्छ । हाम्रो सनातन हिन्दु धर्मले प्राचीन समयदेखि नै निराहार व्रत प्रावधानबाट निकै ठूलो फल प्राप्तिको बाटो देखाएको हो । 

अहिले जापानका योसिमोरी ओसोमीले अटोफिगो अवधारणा अर्थात् निराहार रहनाले शरीरमा रहेका क्यान्सरजन्य जघन्य रोगका किटाणुहरू नासिने प्रमाण पेस गरेका छन् । उनको यसै विचारलाई सन् २०१६ मा फिजिओलोजी (स्वास्थ्य) अन्तर्गत नोबल पुरस्कारद्वारा सम्मान गरियो । त्यसपछि संसारभर समय मिलाएर निराहर रहनेहरूको संख्यामा उल्लेख्य वृद्धि भइरहेको छ ।

वैज्ञानिक योसिमोरीले प्रस्तुत गरेको तथ्यले पनि निराहार बस्नु स्वस्थ्यकर जीवनका लागि कारक हुनसक्छ भनेकै छन् । हामीलाई संस्कृत नपढाइएका कारण पनि र हाम्रा विद्वानहरूले हाम्रो वेदादि शास्त्रमा लेखिएका हाम्रो जनजीवनसँग प्रत्यक्ष सरोकार राख्ने कुराहरू उजागार नगरकाले पनि योसिमोरीजस्ता परदेशी विद्वानले हामीलाई हाम्रै शास्त्रका कुरा बुझाइ दिनुपर्छ अनि मात्र हामीले बुझ्ने गर्छौं । 

हाम्रा जडीबुटी विदेशीले सित्तैमा लगेर हामीलाई महंगोमा औषधी बेचेझैं मैले पनि यी जापानी वैज्ञानिक योसिमोरीले प्रमाणीकरण गरेपछि मात्र निराहर रहेर व्रत बस्नुको अर्थ बुझें ।योसिमोरीको अनुसन्धानबारे जानकारी पाइसकेपछि मलाई लाग्यो तीज मातृसत्ताको अवशेष रहेछ कि क्या हो ? किनकि पितृसत्ताले श्रीमान्लाई लोग्ने बचाउने कुरा नसिकाएर श्रीमतीलाई स्वस्थ्य र दीर्घजीवन हुने कुरा कसरी र किन सिकायो होला ? अहिले यी प्रश्न पनि थाँती नै राखौं ।

योसिमोरीका अनुरूप शारीरिक अवस्था बलियो भएमा हप्तामा एक दिन निराहार व्रत बस्नु स्वास्थ्यमा सहयोगी हुनसक्ने छ । निराहार बस्न नसक्नेले फलाहार गरेर भए पनि वा हरियो सागपात वा तरकारीमात्र खाएर नरनारी दुवै जातले व्रत बस्ने अभ्यास प्रारम्भ गरौं । यदि यसरी सप्ताहमा व्रत बस्न नसके महिनामा एकपटक र त्यसरी पनि गर्न नसके छ महिनामा अथवा वर्षमै भए पनि एकपटक निराहार व्रत बस्न सक्नुको महत्व अहिले विश्वभरि नै चुलिँदै गएको छ । 

हाम्रामा पनि निराहर व्रत बस्ने महिलाहरू नै दीर्घजीवी देखिएको प्रसंग त आइसकेको छ । त्यसैले अबको तीजमा सबै पुरूषहरूले समेत ‘जोइटिंग्रे’ भनिन्छु कि भन्ने लाज र डर त्यागेर सक्नेजतिले निराहर व्रत बसौं । नसक्नेले फलाहारी व्रत भए पनि लिऔं । स्वस्थ्य र दीर्घजीवन पाउने प्रयत्न गरौं ।

हरेक पत्नीले पतिको दीर्घायुका लागि व्रत बसिआएकै छन् । अबदेखि हरेक पतिले पनि पत्नीको दीर्घायुका लागि नै भनेर भए पनि तीजको व्रत बसेर नयाँ परम्पराको थालनी गरौं ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप दृष्टिकोण