नेभिगेशन
अर्थतन्त्र

सफलताको कथाः सयौं बेरोजगारहरूका लागि उदाहरण बनेकी ‘चुना बाँस्तोला’

बनेपा  (काभ्रे) ।  भनिन्छ नि, ‘हातमा सिप भए भोकै मर्नुपर्दैन ।’ तर सिप सिक्ने के ? कहाँ र कसरी ? यस्तै अन्योलमा भएर स्वदेशमा काम पाइएन भन्दै पछिल्ला दिनहरूमा दैनिक हजारौं युवायुवती रोजगारीका लागि विदेश गइरहेका छन् । तर स्वदेशमै केही गर्न सकिन्छ भनेर सिप सिक्नेहरू पनि भेटिएका छन् । 
काभ्रेको बनेपा नगरपालिका–१४ साँगामा छ ‘चुना बाँस्तोला’को ढाकाको कपडा बनाउने घरेलु उद्योग । यहाँ बेलाबेलामा कपडा बनाउने तालिम पनि दिइन्छ । नगरपालिकाका १४ वटा वडाबाट १६ जना महिलाहरूले गत वर्ष यस्तो सिप सिके । नगरपालिकाको उपमेयरसँग महिला कार्यक्रम अन्तर्गत यसरी उनीहरूले तीन महिने तालिम सिकेका थिए । ती महिलाहरूलाई नारी स्वरोजगार सिप विकास केन्द्रले तालिम दिइएको हो । 
तालिममा धागोबाट ढाकाका विभिन्न साइज र रंगका कपडा बुनाउन सिकाइएको थियो । यस केन्द्रले विगत एक दशकदेखि यसरी महिलाहरूलाई आत्मनिर्भर बनाउँदै आएको छ । यहाँ अहिलेसम्म चार सयभन्दा बढी महिलाले यस्तो सिप सिकेका छन् भने धेरैजसोले आफैंले कपडा बनाएर बेच्ने गरेका केन्द्रकी प्रशिक्षक चुना बाँस्तोलाले जानकारी दिइन् । 
आफूले २०५३ सालदेखि यस्तो सिप सिकेको र अहिले व्यवसायिकरुपमै काम गर्न सहज भएको बाँस्तोला बताउँछिन् । स्वदेशमा केही काम नै पाइएन भन्नेहरूका लागि उदाहरण बनेकी उनी काम गर्नका लागि विदेशिनु नै पर्छ भन्ने नभएको र स्वदेशमै थुप्रै अवसर भएको अनुभव सुनाउँछिन् । सुरुमा आफूले काम सिक्नकै लागि निकै दुःख खेपेको उनले बताइन् । काम गर्न खोज्नेहरूका लागि सरकारले पनि सहयोग गरे स्वदेशमै निकै अवसर रहेको भन्दै उनले बुबाको प्रेरणाले यो काममा हात हालेको र विस्तारै व्यवसायिकरूपमा काम गर्न सहज भएको बताइन् । 
सोलुखुम्बु जिल्लामा जन्मिएर काभ्रेलाई कर्मथलो बनाएकी बाँस्तोलाको रुचिलाई उनको परिवारले पनि सहयोग गरेको छ । आफूले सिकेको ढाकाको कपडा बुन्ने सिप अरुलाई सिकाउन उनी कहिले सिन्धुपाल्चोक पुग्छिन् त कहिले भक्तपुर । उनको आँट र साहसको कदर गर्दै दुई वर्षअघि वागमती प्रदेश सरकारले २ लाख रुपैंयाँको पुरस्कार पनि प्रदान गरेको थियो । त्यो रकमले उनले आफ्नो उद्योगमा कपडा बुन्ने तान किनेकी छिन् । काम पाइएन भनेर भौंतारिइरहेका युवायुवतीहरूलाई उनी स्वदेशमै भएका काममा हात हालेर सुन फलाउन सुझाव दिन्छिन् । अरुको देशमा पनि काम गर्न सजिलो छैन, त्यसैले जे काम गरे पनि जाँगर लगाएर स्वदेशमै गर्न सके देश समृद्ध बन्न सक्ने उनी बताउँछिन् ।
दुःख गरेर खारिएकी चुना बाँस्तोलाको अनुभव
‘सिप नै मेरो इच्छाको विषय बन्यो । पूर्व सोलुखुम्बुको नेचा बेतघारी गाउँमा मेरो जन्म भयो । घरकी जेठी छोरी जिम्मेवारी बढी नै थियो । नेपाल आर्मी मेरो बुवाले बुनाइका अधिकांश डिजाइनहरू बनाउनुका साथै साइनबोर्ड आर्ट बनाएको हेर्थें र सिकाइ माग्थें । आमाले पनि बुनाइसँगै नारीका लागि आवश्यक सम्पूर्ण घरायसी सिप सिकाइरहनु हुन्थ्यो । यस्तै प्रेरणाबाट नै म सिपतिर प्रभावित हुँदै गएँ । जहाँ जे काम गर्दा पनि फरक तरिकाले गर्ने बानी पर्न थाल्यो । यसमा नै मलाई बढी रमाइलो लाग्दै गयो तर भरपुर कच्चा बस्तुको कमी, आफ्नो पढाइ, सानासाना भाइबैनीलगायत बाध्यताले म बाँधिएँ । यस्तै यस्तै हुँदै गर्दा म कक्षा ५ मा टेकेकी मात्र थिएँ, हामी सपरिवार काठमाडौं आयौं । बुबा हनुमानढोका व्यारेकमा भएका कारण हामी त्यही नजिकै बस्न थाल्यौं र बुबाको ब्यारेकसँगै जोडिएको यट्खाको कन्या माविमा पढ्न थाल्यौं । यसबेला पनि मैले सिपको काममा आमालाई सघाउने गर्थें । ४ वर्षपछि फेरि हामी पहाड गयौं । २०५० सालमा म सेकेन्ड डिभिजनमा एसएलसी पास भएँ । पास भएकै भोलिपल्ट बुबाले मलाई काठमाडौं लिएर आउनु भयो र मैले आर्मी कलेजमा पढ्न सुरु गरें । 
मलाई सिपप्रति रुची भएकाले मेरो विषय पनि होम साइन्स नै भयो । आफ्नो विषयमा गर्नुपर्ने क्रियाकलापले मेरो सिपमा अझ ऊर्जा मिल्दै गयो । यसैबीचमा मेरो विवाह भयो । भाग्यवश मेरो इच्छा बुझ्ने श्रीमान पाएँ मैले । १२ कक्षा पासपछि मेरो आफ्नै कारणले पढाईलाई निरन्तरता दिन सकिनँ तर मेरो सिपले भने निरन्तरता पायो । विवाहपछि हामी केही जग्गा लिएर काभ्रेको साँगामा बस्न थाल्यौं । मेरो श्रीमान् धुलिखेल वन कार्यालयमा कार्यरत हुनुहुन्थ्यो । मेरो भाग्यले उहाँले मलाई आफ्नो साथी धुलिखेल घरेलु कार्यालयका प्रशिक्षक सरसँग भेटाइदिनुभयो । जुनबेला सिलाइको तालिम भइरहेको रहेछ । त्यहाँबाट मेरो सिप कक्षा सुरु भयो । 
सिलाइ तालिम प्राप्तपछि मैले एउटा सिलाइ मेसिन लिएर आफ्नो घरको वेसिक सिलाइ गर्दै गएँ । यो २०५४ सालको कुरा हो । केही समयको अन्तरपछि घरबाट नै हाते कटाइको वेसिक सिप प्राप्त गरें । तालिम सकिने वित्तिकै एउटा इम्ब्रोइडरी मेसिन र काठको तान लिएर बनेपाको तीनदोबाटोमा सिप कक्षा संचालन गर्दैगर्दा मलाई सिपप्रति अझ बढी चासो त बढ्यो तर मेरो बच्चा सानो भएको, घरको काम, बारीको काम, गाईको स्याहार सबै मैले सम्हाल्नु पर्ने थियो । श्रीमान्ले बिहान कलेज पढाउने, दिउँसो वन कार्यालयको जागिर, फिल्डमा धेरै व्यस्त हुनुहुन्थ्यो तर पनि धेरै सहयोग त गर्नुहुन्थ्यो मलाई । धेरै गाह्रो थियो तर पनि जहाँ इच्छा त्यहाँ उपाय भनेझंै सबै मिलाएर आफ्नो सिपलाई निरन्तरता दिँदै गएँ ।
यसै सिलसिलामा नारी चेतना सहकारीमा पहिलो पटक आफू प्रशिक्षक भएर हाते कटाइको तालिम दिन सफल भएँ । त्यसपछि मेरो सिपको खुट्किलो छिटोछिटो बस्दै गयो । २०६५ सालमा भक्तपुर घरेलु कार्यालयमा मेसिनबाट इम्ब्रोइडरी तालिम दिने अवसर मिल्यो । 
त्यसपछि अपांगता भएका भाइबहिनीलाई हाते कटाइ, ढाका बुनाइ तालिम दिने खुशी मिल्यो । अब मलाई झन विश्वास र चासो बढ्दै गयो । अनि सिटिइभिटीको स्किल टेस्टको बारेमा जानकारी भयो र हाते कटाइमा तह १ पास गर्न सफल भएँ । खोजी गर्दै जाँदा क्रमिकरूपमा सिप बढ्दै गयो । त्यसपछि एसेसरिजको तालिम लिएँ र विभिन्न ठाउँमा स्किल टेस्ट लिने जाने अवसर मिल्यो । १ वर्षको कार्य अनुभवको आधारमा हाते कटाइ तह २ पनि पास भएँ । सिपतिर तानिएकी मैले ढाका तालिमको खबर थाहा पाएँ । इम्ब्रोईडरीसँगै ढाका बुनाइ पनि मलाई रहर थियो र नियमित जान नपाए पनि नयाँ नयाँ बुट्टा डिजाइन गर्न आउने भएकाले ढाका कपडा बुन्न सुरु गर्ने तरिका मात्र सिक्नु थियो मलाई । थोरै समय निकालेर एकछिन पुगेर तरिका सिकेर आउने गर्थें । कोर्ष सकेर प्रमाणपत्र लिने साथै भक्तपुरबाट एउटा कपडा बुन्ने तान खोजेर ल्याएर कपडा उत्पादन गर्न थालें । इच्छाको विषय भएर होला सिपसम्बन्धी क्षमता विकासतर्फ हरपल लागि रहें । भोक निन्द्राभन्दा पनि नयाँ कुरा पत्ता लगाउनतर्फ दौडिरहन्थें । यी दुईवटा मुख्य सिपलाई अगाडी बढाउने क्रममा स्किल टेस्टको लागि फर्म भरें तर ५ जना प्रशिक्षार्थी नपुगेर १ बर्ष कुरेर आफैंले ५ जना साथी खोजेर स्किल टेस्ट दियांै र सबैजना तह १ पास पनि भयौं । धेरै खुशी लाग्छ मेरो सिपले मलाई साथ दिँदा ।
सिक्ने र सिकाउने निरन्तर मेरो प्रयासपछि अब स्वरोजगार बन्ने र बनाउने उद्देश्यले आफ्नो एउटा संस्था दर्ता गर्न मन लागेर नारी स्वरोजगार सिप विकास केन्द्र भनेर धुलिखेल घरेलु कार्यालयमा २०७२ सालमा संस्था दर्ता भयो । पान नम्बरसहितको यो संस्थाले हजारौं दिदीबहिनीलाई विभिन्न किसिमका सिप प्रदान गर्दै ५ जना दिदीबहिनीहरूलाई रोजगारी दिँदै अगाडी बढिरह्यो । सिकाइ जति थपे पनि भरिएन । यो पछि मलाई टिओटीको आवश्यकता महसुस हुँदै गर्दा टिआइटिआइको सूचना मिल्यो र टिओटी प्राप्त गरें । यसले मलाई झन सहज र प्रभावकारी बनायो । क्षमता विकाससँगै योग्यता पनि बढ्दै गयो । मलाई भोक, निन्द्राभन्दा पनि सिप प्यारो लाग्न थालेको थियो । 
भोक निन्द्रालाई बिर्सेर सिप सिक्ने र सिकाउने हुँदै गर्दा, ढाका एड्भान्स कोर्ष टोखा पुगेर सिक्दै गर्दा, समयलाई व्यवस्थापन गर्दै गर्दा धुलिखेल घरेलु कार्यालयको प्रविधि हस्तान्तरणबाट ढाकाको सेमिअटोमेटिक तान प्राप्त भयो । यसले मलाई ढाका बुनाइतिर बढी नै आकर्षित गरायो । घरका सबै वातावरण मिलाउँदै आफ्नो सिपलाई केही समय दिँदै गर्दाको यो उपलब्धीलाई आत्मसाथ गर्दैगर्दा ढाकाको तह २ पास भएको लगत्तै हस्तकला महासंघद्वारा आयोजित समसामयिक विधामा भएको ढाका बुनाइ प्रतिस्पर्धामा पहिलो स्थान प्राप्त गर्न सफल भएँ । नगदसहित सम्मानित हुन पाउँदा मेरो सफलताको अर्को खुट्किलो थपियो । यो २०७४ सालको कुरा हो । यसपछि नगरपालिका बनेपामा पनि मेरो संस्थालाई आवद्ध गराएँ । काममा निरन्तर लागिरहँदा पहिलादेखि चलिआएका ढाकाका बुट्टालाई परिमार्जन गरी अहिलेको पुस्ताले रुचाउने र बुढाबुढीलाई पनि मन पर्ने गुणस्तर धागो र आकर्षक बुट्टा डिजाइनबाट ढाकाका सम्पूर्ण आइटमहरू उत्पादन हुने भएकाले बजारमा पाइने बुट्टा डिजाइनभन्दा फरक डिजाइनका कपडाहरू यस संस्थाले उत्पादन गरिरहेको छ । 
मेरो धेरैजसो समय पनि फरक प्रकारको बुट्टा डिजाइन बनाउने सोचमा नै बित्ने गर्छ । यस संस्थामा आवद्ध हामी ढाकाकर्मीहरूको जोड पनि यसैमा रहेको छ । संस्थाबाट सामान लैजानेहरू, अवलोकन गर्न आउनेहरू र सिप सिक्न आउनेहरू सबैले अरुभन्दा फरक र आकर्षक छ भन्नुहुन्छ । यसमा मेरो श्रीमान र छोराको ठूलो सहयोग छ । उहाँहरूको यो मार्ग निर्देश र बनेपा नगरपालिकाको पूर्ण सहयोगले गत बर्ष महिला वागमती प्रदेशको उत्कृष्ट उद्यमी छनोट भई एड्भान्स खालको प्रविधिसहित सम्मानित हुन पाएकोमा र भर्खरै बनेपा नगरस्तरीय तीन महिने ढाका बुनाइ तालिम संचालन गर्न पाउँदाको खुशीले त मेरो सिपको शक्ति नै बढेको आभास हुन्छ । यसमा उहाँहरूलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु ।’ 
(यो प्रेरणादायी समाचार सिप सिक्ने र सिकाउने काममा व्यस्त बाँस्तोलासँग लेखक कालोटोपीले गरेको कुराकानीका आधारमा तयार पारिएको हो ।)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्