नेभिगेशन
दृष्टिकोण

युगको आवश्यकता ज्ञान बैंक

मानिसले आफ्नो आवश्यकता पूर्ति, सहजता र सुविधा वृद्धिका लागि विविध वस्तुहरूको प्रयोग र आविष्कार अनादिकालदेखि गर्दै आएको छ । विगतमा धन र भूमि विकासका आधार थिए भने अहिले ज्ञान र नवप्रवर्तन नै विकासको आधार हो । प्राविधिक आविष्कार, कृत्रिम बुद्धिमत्ता, डिजिटल अर्थतन्त्र, जैविक विज्ञान, अन्तरिक्ष अनुसन्धान सबैको मूल आधार ज्ञान हो । तसर्थ, जुन देशले आफ्नो ज्ञान व्यवस्थित र पुस्तान्तरणको व्यवस्था गर्नसक्छ त्यो देश दिगो विकास र विश्व प्रतिस्पर्धामा सधैं अगाडि हुन्छ ।

मानव सभ्यताको इतिहास केलाउँदा आर्थिक र बौद्धिक पुँजी महत्त्वपूर्ण मानिन्छ । मुद्रा बैंक वित्तीय क्षेत्रको व्यवस्थापनका लागि महत्त्वपूर्ण मानियो । आर्थिक जीवनलाई सुरक्षित र व्यवस्थित गर्न, निक्षेप संकलन र लगानी गर्न वित्तीय बैंकको आविष्कार भयो । समाजलाई अझ सुसंस्कृत, विकसित र समृद्ध बनाउने मानव जातिको विशेष सम्पत्ति भनेको ज्ञानको अभिवृद्धि र त्यसको समुचित प्रयोग साथै हस्तान्तरण र पुस्तान्तरण हो । 

भौतिक सम्पत्तिभन्दा महत्त्वपूर्ण छ, ज्ञानरूपी सम्पत्ति । यही आवश्यकताका कारण जन्मिएको नयाँ महत्त्वपूर्ण अवधारणा हो– ज्ञान बैंक । जसरी मुद्रा बैंकले वित्तीय उपयोग र आर्थिक सन्तुलनमा भूमिका निर्वाह गर्छ, त्यस्तै ज्ञान बैंकले मानव मात्रले जीवनभर मेहनत र लगनसाथ सञ्चित गरेको, अध्ययन, अनुसन्धान, आविष्कार, साधना, तप, अनुभव, सीप, कलाजस्ता बौद्धिक सम्पदाहरूलाई अभिलेखीकरण, भण्डारण, हस्तान्तरण र पुस्तान्तरण गर्छ । 

अहिलेको पुस्ताको ज्ञान तथा व्यावहारिक सफलताहरूलाई पुस्तान्तरण गर्ने भरपर्दाे र वैज्ञानिक उपाय हो, ज्ञान बैंक । यसले खासगरी सेवा निवृत्त तर सक्रिय जनशक्तिको उच्चतम प्रयोग गर्ने रणनीति र कार्यक्रम बनाएको हुन्छ । संसारका धेरै देशमा ज्ञान बैंकको स्थापना भएको परिणामस्वरूप ती देशहरूले नागरिकहरूको जीवनमा सकारात्मक परिवर्तन गरेका छन् । 

त्यसैले व्यक्तिको मृत्युपछि नष्ट हुने अनुभव, ज्ञान, सीपको उपयोग गर्ने योजना र कार्यक्रमको खाका तयार गर्न ज्ञान बैंकको अवधारणालाई आत्मसात् गर्ने क्रम बढेको छ । ज्ञान, अनुभव, सीप, नवीनता, प्रणाली र डिजाइनजस्ता अवधारणाहरूलाई अभिलेखीकरण, हस्तान्तरण र पुस्तान्तरण गर्नका लागि विभिन्न उपकरणहरू र माध्यमहरूको प्रयोग हुन्छ ।

यस अतिरिक्त डिजिटल प्रविधिका उपकरण जस्तो क्लाउड स्टोरेज, डिजिटल आर्काइभजस्ता सबै सफ्टवेयर र सिस्टमहरूले नवीनता, प्रणाली र डिजाइनलाई पुस्तौंपुस्तासम्म सुरक्षित, व्यवस्थित साथै प्रगतिशील बनाउन महत्त्वपूर्ण भूमिका खेल्छन् । मानवीय अनुभव, सीप, ज्ञान, अनुसन्धान, प्रतिवेदन, कार्यविधि, नीतिगत अभिलेखजस्ता अमूल्य सम्पत्ति यी प्रविधिमार्फत व्यवस्थित र संरक्षित हुन्छन् ।

Debi-bhakta-dhakal-1756437486.jpg
देवीभक्त ढकाल

ज्ञान व्यवस्थापन पद्धति भनेको ज्ञानको बैंक हो, जसले पुरानो पुस्ताको अनुभव र सीपलाई सुरक्षित राखेर नयाँ पुस्तामा हस्तान्तरण र पुस्तान्तरणको व्यवस्था गर्छ । ज्ञान बैंक भन्नाले कुनै देश वा संस्थाले आफ्ना विशेषज्ञ, अनुभवी र क्रियाशील मानव स्रोत, अनुसन्धान, डाटा प्रविधि र परम्परागत सीपहरूलाई व्यवस्थित गर्ने भण्डारण गर्ने र हस्तान्तरण र पुस्तान्तरण गर्ने भरपर्दाे प्रणाली हो । 

ज्ञान बैंक वास्तवमा ज्ञानको संग्राहलयमात्र होइन सक्रिय प्रयोगशाला पनि हो । अनुभव, सीप र कुशलताका कारण बौद्धिक जेष्ठ नागरिकहरूलाई जीवित विश्वविद्यालय भनिन्छ । ती जीवित विश्वविद्यालयहरूसँग भएको ज्ञान, सीप, प्रणालीगत विशिष्टता आदिलाई भावी पुस्तामा पुस्तान्तरणको भरपर्दो अवस्था निर्माण गर्ने नीति र थिति बसाल्न ज्ञान बैंकको महत्त्वपूर्ण भूमिका हुन्छ ।

नेपालजस्तो विकासोन्मुख मुलकमा स्रोत, साधन, प्रविधि र पुँजीको कमी छ, तथापि जेष्ठ नागरिकहरूमा भएको ज्ञान, अनुभव र सीपका दृष्टिकोणले नेपाली समाज धनी छ । तर त्यो अनुभव, ज्ञान, विशेषज्ञता र सीपलाई व्यवस्थित परिचालन गर्ने निकायको अभावका कारण ती सम्पत्तिहरू राष्ट्रको विकासमा परिचालन गर्ने संयन्त्र नहुँदा ती त्यसै नष्ट भएको अवस्था छ ।

मानव सभ्यताको वास्तविक सम्पत्ति भनेकै ज्ञान, अनुभव र सीप हो । त्यसलाई विकसित, संरक्षित, प्रयोग र पुस्तान्तरण गर्न सक्ने संरचना भनेकै ज्ञान बैंक हो । आजका मितिसम्म औपचारिकरूपमा नेपालमा यस्तो संस्थाको स्थापना भएको छैन । राज्यले नागरिकको अनुभव, सीप र ज्ञानको सदुपयोग गर्ने संस्थागत संरचना बनाउनुपर्ने दायित्व निर्वाह गर्न सकेको छैन ।

राज्यलाई घच्घच्याउन सामुदायिक प्राकृतिक चिकित्सालय रजहरले निकट भविष्यमा सञ्चालन गर्ने सामुदायिक ज्ञान बैंकको प्रस्तावित योजनाले राष्ट्रलाई राष्ट्रिय ज्ञान बैंकको स्थापना बारे अविलम्ब गृहकार्य गर्न पक्कै पनि दबाब सिर्जना गर्नेछ ।

प्रस्तावित जेष्ठ नागरिक आरोग्य आश्रम रजहरले प्राकृतिक जीवनशैलीको आधारमा जेष्ठ नागरिकहरूलाई सक्रिय राख्दै सामुदायिक ज्ञान बैंकको अवधारणाको सुरुवातले अब यो समुदाय सामुदायिक ज्ञान बैंकबाट लाभान्वित हुन सुरु गर्नेछ । 

मुद्रा बैंकले पैसा संकलन र परिचालन गर्छ भने यो सामुदायिक ज्ञान बैंकले सामान्य नागरिक र बौद्धिक नागरिकको जीवनभर सञ्चित अनुभव, सीप र ज्ञानका विभिन्न शाखा प्रशाखाहरूलाई संकलन, अभिलेखिकरण, भण्डारण र परिचालन गर्छ । 

नेपाली समाजमा सेवानिवृत्त तर सक्रिय जीवन बिताउन स्वास्थ्यले साथ दिएका अनुभव, ज्ञान र सीपलाई अभिलेखीकरण र पुस्तान्तरण गर्न इच्छुक जेष्ठ नागरिकहरूसँग शिक्षा, स्वास्थ्य, प्रशासन, कूटनीति, साहित्य, कृषि, प्रविधि र संस्कृतिका अनगिन्ती भण्डार हुन्छन् । तर नेपालमा अहिलेसम्म संस्थागत संरचना नहुँदा उनीहरूको अनुभव, ज्ञान, सीप आदि नष्ट हुने क्रम जारी छ ।

यसरी नष्ट हुने क्रममा आएको ज्ञानलाई संरक्षण र पुस्तान्तरण गर्ने अभियानको शुरुआत हो, सामुदायिक चिकित्सालय रजहरको सामुदायिक ज्ञान बैंकको स्थापनाको प्रयास ।

निकट भविष्यमा सञ्चालनको तयारीमा रहेको नवलपुरको रजहरस्थित जेष्ठ नागरिक आरोग्य आश्रम केवल वृद्ध वृद्धाहरूलाई फगत आराम गर्ने स्थल होइन यो अध्ययन, अनुसन्धान र ज्ञान, अनुभव र सीप आदिलाई पुस्तान्तरणको योजना, रणनीति र त्यसलाई कार्यान्वयन गर्ने देशकै पहिलो सामुदायिक ज्ञान बैंक हो । 

यो प्राकृतिक जीवनशैली अभ्यास गर्ने नेपालकै पहिलो जेष्ठ नागरिक आश्रम हो । यहाँ योग, ध्यान, सादा र स्वस्थ भोजन, प्राकृतिक उपचार, बगैंचा र करेसाबारीमा आफ्नो शारीरिक शक्तिअनुसारको श्रम गर्ने उचित व्यवस्था र वातावरण साथै सामुदायिक बसोबासमा दक्ष चिकित्सकको निगरानीमा जेष्ठ नागरिकहरू ज्ञान, अनुभव र सीपको अभिलेखीकरण र हस्तान्तरण अभियानमा व्यस्त रहने यो देशको एकमात्र सामुदायिक ज्ञान बैंकको विशेषता हो ।

यस्तो जीवनशैलीले जेष्ठ नागरिकलाई शारीरिकरूपमा स्वस्थ्य र मानसिकरूपमा सक्रिय बनाउँछ । जीवनमा बाँच्नुको सार नै सक्रिय र क्रियाशील जीवन हो । जेष्ठ नागरिकमा हुने सक्रियता र क्रियाशीलता ज्ञानको उत्पादन र पुस्तान्तरणमा परिणत हुँदा आश्रमले स्वतः ज्ञान बैंकको रूप लिन्छ । 

निकट भविष्यमा सञ्चालनको तयारीमा रहेको जेष्ठ नागरिक आरोग्य आश्रम रजहरले अनुभवी सामान्य एवं बौद्धिक जेष्ठ नागरिकलाई केन्द्रमा राखी ज्ञान संकलन र ज्ञान प्रवर्द्धनका महत्त्वपूर्ण गतिविधिहरू सञ्चालन गर्नसक्छ, जसले यसलाई ज्ञान बैंकको प्रयोगशाला बनाउँछ । युवाहरूलाई जेष्ठ नागरिकसँग जोडेर जीवन–दर्शन, सीप र व्यवहारिक ज्ञान सिकाउन सकिन्छ ।

यस्तो प्रयासले नेपालमा प्रायः लोप हुँदै गएको गुरु–शिष्य प्रणालीलाई पुनर्जीवित गर्न पनि महत्त्वपूर्ण भूमिका खेल्नसक्छ । जेष्ठ नागरिकहरूको जीवनको लामो र परिपक्व अनुभव र ज्ञानलाई लेख, ग्रन्थ, डिजिटल अभिलेख गरेपछि भावी पुस्तालाई सुरक्षित र पुस्तान्तरण गर्न सकिन्छ । अभिलेखीकरण ज्ञान बैंकको महत्त्वपूर्ण जिम्मेवारीभित्र पर्छ । 

आश्रममा रहने सक्रिय बौद्धिक व्यक्तिहरूबाट विश्वविद्यालय, कलेजका र स्कूलका विद्यार्थीहरू केन्द्रीकृत व्याख्यान, कृषकलाई कृषि तथा पशुपालनसम्बन्धी तालिम, स्वास्थ शिविरमा प्राकृतिक उपचार र जीवनशैलीसम्बन्धी तालिमजस्ता कार्यक्रमहरूले जनताको जीवनशैली परिवर्तन र स्थानीय विकासमा प्रत्यक्ष योगदान गर्न ज्ञान बैंक उदाहरणीय र अनुकरणीय बन्ने छ । 

स्थानीय निकायहरू, विश्वविद्यालयहरू र सामाजिक संघसंस्थाहरूसँग सहकार्य गरेर अन्तरक्रिया, गोष्ठी र कार्यशालाहरू आयोजना गर्न सकिन्छ । यस्तो ज्ञान आदानप्रदानको नियमित र व्यवस्थित कार्यक्रमले सामुदायिक ज्ञान बैंक रजहरले यस जिल्लाको ज्ञान आदानप्रदानको भूमिका पनि निर्वाह गर्नसक्छ ।

यसको सामाजिक र राष्ट्रिय महत्त्वका दृष्टिकोण हेर्दा सामुदायिक ज्ञान बैंकको स्थापनाले अब जेष्ठ नागरिकहरू समाजको बोझका रूपमा होइन सम्पत्तिका रूपमा समाज र देशले स्वीकार्छ । 

परिणामस्वरूप युवा पुस्ता निःसन्देह लाभान्वित हुन्छ । अनुभव र ज्ञानको खोज, अनुसन्धान, अभिलेखिकरण र पुस्तान्तरणले युवाहरूलाई व्यावहारिक सीप र जीवनमार्दर्शन दिन्छ । सामुदायिक ज्ञान बैंकले राष्ट्रिय ज्ञान बैंक स्थापना गर्न सरकारलाई स्वतः दबाब सिर्जना हुन्छ । रजहरको अभ्यास सफल भएपछि यसलाई क्षेत्रीय र राष्ट्रिय स्तरमा समेत संस्थागत गर्न सकिन्छ ।

नेपालको सन्दर्भमा नेपाल सरकारले ज्ञान बैंकको स्थापना त के यसबारे कसैले पनि उच्चारणसम्म नगरेको अवस्था छ । तसर्थ अहिलेसम्म ज्ञान बैंक राज्यको प्राथमिकताभन्दा बाहिर छ । यस्तो परिप्रेक्ष्यमा जेष्ठ नागरिक आरोग्य आश्रम रजहरको सामुदायिक अभ्यासले ज्ञान बैंकको स्थापानामा राज्यलाई दिशानिर्देश गर्ने काम अवश्य हुन्छ । 

प्राकृतिक जीवनशैलीमा आधारित स्वस्थ, सक्रिय र क्रियाशील जेष्ठ नागरिकहरूले संगठितरूपमा आफ्नो जीवन - अनुभव, सीप र ज्ञान बाँड्ने संस्थागत संयन्त्र निर्माण भयो भने त्यो राष्ट्रकै महत्त्वपूर्ण पुँजी हुनेछ । प्राकृतिक चिकित्साले जीवनशैलीमा परिवर्तन र ज्ञान बैंकको अवधारणाले स्थानीय र राष्ट्रिय विकासलाई मूर्त रूप दिन पक्कै पनि कोसेढुंगा साबित हुनेछ । 

अहिलेसम्म नेपालमा संस्थागत संरचना नभए पनि जेष्ठ नागरिक आरोग्य आश्रम रजहरले बौद्धिक जेष्ठ नागरिकलाई ज्ञान बैंकको सामुदायिक अभ्यासमा संलग्न गराउने सोच र प्रयास नेपालमा अत्यन्तै उपयगी र प्रभावकारी मोडल हुनसक्छ । यसलाई सामुदायिक ज्ञान बैंकको नाम दिँदा भविष्यमा पक्कै पनि राष्ट्रियस्तरको औपचारिक ज्ञान बैंकको बाटो खुल्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप दृष्टिकोण