नेभिगेशन
प्रदेश

जीर्ण भवन र जनशक्ति अभावले प्रहरी नै असुरक्षित

झापा, १३ भदौ - झापाको मेचीनगर–५ स्थित इलाका प्रहरी कार्यालय नकलबन्दा अहिले जीर्ण संरचना, न्यून जनशक्ति र स्रोतसाधनको चरम अभावबीच सञ्चालनमा छ ।

नेपाल–भारत सीमा सुरक्षाका लागि स्थापना गरिएको यो प्रहरी कार्यालय स्वयं असुरक्षित बन्दै गएको छ । यसका कारण सीमावर्ती संवेदनशील क्षेत्रमा सुरक्षा चुनौती थपिएको छ ।

२०३४ सालमा सिमाना प्रहरी चौकीको रूपमा स्थापना गरिएको कार्यालयलाई चार वर्षअघि इलाका प्रहरी कार्यालयमा स्तरोन्नति गरिएको थियो । तर संरचना, जनशक्ति र सुविधा नबढी कार्यालय अझै चौकीस्तरमै सीमित देखिन्छ ।

नियमित दरबन्दीअनुसार नकलबन्दा प्रहरी कार्यालयमा २५ जना प्रहरी खटिनुपर्ने भए पनि हाल प्रहरी नायब निरीक्षकको नेतृत्वमा मात्र ८ जना प्रहरी कार्यरत छन् । यी थोरै संख्याका सुरक्षाकर्मीलाई अवैध ओसारपसार, लागुऔषध कारोबार, आपराधिक गतिविधि नियन्त्रण, सीमापार आवागमनजस्ता जटिल कार्यभार सम्हाल्नु परिरहेको छ ।

कार्यालयको कार्यक्षेत्र मेचीनगरका वडा नम्बर ५, ६ र ८ का केही भाग समेटिन्छन् । जसमा अधिकांश क्षेत्र भारतसँग सीमा जोडिएका छन् । यस्तो स्थानमा अपर्याप्त जनशक्ति र कमजोर भौतिक पूर्वाधारले सीमावर्ती सुरक्षा कमजोर बनाएको स्थानीयवासी बताउँछन् ।

सात कठ्ठा क्षेत्रफलमा फैलिएको कार्यालयको भवन चर्किएको, छाना चुहिने र भित्तामा चिस्यान जम्ने अवस्थामा पुगेको छ । वर्षायाममा सामान्य कामसमेत गर्न कठिन हुने स्थिति रहेको प्रहरी स्रोत बताउँछ ।

स्थानीय सुरज तामाङ भन्छन्, ‘प्रहरी आफैं असुरक्षित भएको ठाउँमा जनताको सुरक्षा कसरी सुनिश्चित हुन्छ ? सीमावर्ती क्षेत्रको महत्व बुझेर राज्यले तत्काल ठोस कदम चाल्नुपर्छ ।’

भारतसँग खुला सीमाका कारण नकलबन्दा क्षेत्रमा लागुऔषध कारोबार, तस्करी र अवैध आवतजावतजस्ता चुनौती बढिरहेका छन् । प्रहरीको सीमित स्रोतसाधनले लगातार निगरानीमा समस्या परेको छ । यसअघि पनि यो क्षेत्रमा लागुऔषध कारोबारमा संलग्न समूहहरू पक्राउ परेका थिए ।

स्थानीयवासी र जनप्रतिनिधिहरूले नयाँ भवन निर्माण, जनशक्ति थप र उपकरण उपलब्ध गराउन बारम्बार माग गर्दै आएका छन् । तर, संघीय, प्रदेश र स्थानीय सरकारको समन्वयको अभावमा अझै ठोस पहल भएको छैन ।

पूर्व प्रहरी अधिकृत पुष्पकुमार गेलाल भन्छन्, ‘यो समस्या प्रहरी मात्र होइन, राज्यकै सुरक्षा संकटसँग जोडिएको हो । सीमामा बलियो सुरक्षा संरचना बिना शान्ति र नियन्त्रण सम्भव छैन ।’

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काले नकलबन्दा प्रहरी कार्यालयको अवस्थाबारे सम्बन्धित निकायमा जानकारी दिइसकेको बताए । उनका अनुसार, जीर्ण कार्यालयहरूको पुनर्निर्माणका लागि पहल भइरहे पनि बजेट अभावका कारण कार्यान्वयनमा ढिलाइ भएको हो ।

इलाका प्रहरी कार्यालय नकलबन्दा सुदूर पूर्वी सिमानाको महत्वपूर्ण सुरक्षा चौकी हो । यसको जीर्ण अवस्था, न्यून जनशक्ति र अपर्याप्त उपकरणले प्रहरीको मनोबल र कार्यदक्षता दुवै प्रभावित बनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्