नेभिगेशन
प्रदेश

भूमि विधेयक फिर्ता माग गर्दै झाडु जुलुस

सप्तरी, १३ भदौ - सरकारले ल्याएको भूमि सम्बन्धी विधेयकविरुद्ध आन्दोलनमा उत्रिएको जनता समाजवादी पार्टी (जसपा) नेपाल, सप्तरीले शुक्रबार तिलाठी कोइलाडी गाउँपालिका–८, तोपामा झाडु जुलुस प्रदर्शन गरेको छ । मधेशविरोधी नियतका साथ विधेयक ल्याइएको आरोप लगाउँदै जसपाले विधेयक तत्काल फिर्ता गर्न सरकारलाई चेतावनी दिएको छ ।

झाडु बोकेर प्रदर्शनमा उत्रिएका सहभागीहरूले ‘भूमि विधेयक खारेज गर’, ‘मधेशको जग्गा खोस्न पाइँदैन’ लगायत नारासहित विरोध प्रदर्शन गरेका थिए । जुलुसपश्चात आयोजित विरोध सभामा भूमि विधेयकको कागज जलाएर त्यसको विरोध जनाइएको थियो ।

सभालाई सम्बोधन गर्दै जसपा सप्तरीका जिल्ला अध्यक्ष केदारप्रसाद यादवले भूमाफिया र दलालहरूको पक्षमा विधेयक ल्याइएको आरोप लगाए । उनले चेतावनी दिँदै भने, ‘यदि यो विधेयक खारेज गरिएन भने जसपा सडक र संसद् दुवैमा सशक्त आन्दोलन गर्न बाध्य हुनेछ ।’

विरोध प्रदर्शनमा सहभागीहरूले लाल आयोगको प्रतिवेदन, राष्ट्रिय मानव अधिकार आयोगको रिपोर्ट तथा पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको प्रतिवेदन सार्वजनिक गर्न पनि सरकारसँग माग गरेका थिए ।

त्यसैगरी, गौर घटनामा जसपाका संघीय परिषद् अध्यक्ष उपेन्द्र यादवलाई फसाउन खोजिएको षड्यन्त्र तत्काल अन्त्य गरी सो मुद्दा खारेज गर्नुपर्ने माग पनि उनीहरूले उठाए ।

जसपाले भदौ ९ गतेदेखि १६ गतेसम्म सप्तरी जिल्लाका विभिन्न स्थानमा चरणबद्ध रूपमा भूमि विधेयकविरुद्ध विरोध कार्यक्रम चलाइरहेको जसपाका जिल्ला सचिव निरज मुक्तिले जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्