नेभिगेशन
अर्थतन्त्र

वरिष्ठ अर्थशास्त्री आचार्यको निधन

काठमाडौं । वरिष्ठ अर्थशास्त्री केशवप्रसाद आचार्यको निधन भएको छ । मस्तिष्कघाट भएपछि अस्पताल भर्ना गरिएका उनको सोमबार बिहान निधन भएको हो । चैत ३ गते बिहान पूजा गर्न फूल टिपेर फर्कंदा असहज महसुस भएपछि आराम गर्न बसेका उनी बेहोस भएपछि चाबहिलस्थित मेडिकेयर अस्पताल लगिएको परिवारका सदस्यले जनाएका छन् ।
त्यहाँबाट अन्नपूर्ण न्युरो अस्पताल रिफर गरिएको आचार्यको त्यसै दिन दिउँसो मस्तिष्कको शल्यक्रिया गरिएको थियो । ७२ वर्षीय आचार्यको सोमबार बिहान ९ः५५ बजे अस्पतालमै निधन भएको हो । उनका श्रीमती, एक छोरी र एक छोरा छन् ।
नेपाल राष्ट्र बैंकमा तीन दशकभन्दा बढी समय काम गरेका उनले बेलायतबाट अर्थशास्त्र स्नातकोत्तर गरेका थिए । मौद्रिक नीति, वित्तीय स्थायित्व र समष्टिगत आर्थिक विश्लेषणमा उनको विशेष दखल थियो । अर्थशास्त्रका कठिन सिद्धान्त र अबोध्य सूचकांकलाई पनि सरल रूपमा व्याख्या गरेर बुझाउन क्षमता उनीसँग थियो । अर्थतन्त्रका वास्तविक क्षेत्रहरु कृषि, उद्योग र समग्र उत्पादन क्षेत्रको क्षमता अभिवृद्धिका पक्षमा आचार्यले निरन्तर पैरवी गरेका छन् ।
उनी अर्थ मन्त्रालयमा वरिष्ठ आर्थिक सल्लाहकारको भूमिकामा रहेर वित्त नीति बनाउन र त्यसको व्यावहारिक कार्यान्वयनमा सक्रिय रहे । २०५१ सालको मनमोहन अधिकारी नेतृत्वको सरकारले ल्याएको बजेट बनाउन अर्थ मन्त्रालयको आर्थिक सल्लाहकारका रूपमा आचार्यको भूमिका थियो । वित्तीय नीति निर्माण र कार्यान्वयनमा उनले २०६६ सालमा तत्कालीन अर्थमन्त्री सुरेन्द्र पाण्डेलाई पनि सघाएका थिए । त्यसबेला पनि उनले अर्थ मन्त्रालयको वरिष्ठ आर्थिक सल्लाहकारको जिम्मेवारी पाएका थिए ।
नेपाल इकोनोमिक एसोसिएसन र ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालसँग पनि आबद्ध भएका उनी हाल इकोनोमिक पोलिसी इन्क्युबेटर संस्थामा वरिष्ठ आर्थिक सल्लाहकारको भूमिकामा थिए । हाल उनी नेसनल माइक्रोफाइनान्सका अध्यक्ष थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्