नेभिगेशन
अर्थतन्त्र

शिवप्रसाद घिमिरेद्वारा ‘वस्तुगत’ प्यानल घोषणा, वरिष्ठ उपाध्यक्ष श्रेष्ठको समर्थन

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को आगामी निर्वाचनका लागि वस्तुगततर्फको उपाध्यक्ष पदमा शिवप्रसाद घिमिरेले प्यानलसहित औपचारिक उम्मेदवारी घोषणा गरेका छन् । राजधानीमा सोमबार आयोजित एक समारोहका बीच घिमिरेले १६ सदस्यीय सदस्य पदका उम्मेदवारसहितको समूह सार्वजनिक गरेका हुन् ।
घिमिरेको उम्मेदवारीलाई महासंघको भावी नेतृत्व सम्हाल्न लागेका अञ्जन श्रेष्ठले समेत आधिकारिक रूपमा समर्थन गरेका छन् । ऊर्जा र एलपी ग्यास क्षेत्रमा स्थापित व्यवसायी घिमिरेले आफ्नो समूहमा उद्योग र व्यापारका विभिन्न विधालाई समेटेर समावेशी टिम निर्माण गरेका छन् ।
घिमिरेको नेतृत्वमा चुनावी मैदानमा उत्रिएका वस्तुगत सदस्यका उम्मेदवारहरूमा अरनिको राजभण्डारी, रविन पुरी, राजकुमार कार्की, वसन्तचन्द्र मरहट्टा, सुनिता न्हेमाफुकी, संघर्ष विष्ट, रघुनन्दन मारु, राजेशभक्त श्रेष्ठ, होमप्रसाद घिमिरे, धनप्रसाद लामिछाने, धर्मराज सापकोटा, कृष्णप्रसाद अवाले, एबबहादुर थापा, विश्वनाथ खनाल, नानीराज घिमिरे र ध्रुवबहादुर गौतम छन् ।
शिवप्रसाद घिमिरे नेपाली निजी क्षेत्रमा एक ‘एक्सन ओरिएन्टेड’ र तार्किक नेतृत्वका रूपमा परिचित छन् । उनको व्यावसायिक पृष्ठभूमि र महासंघभित्रको सक्रियतालाई यस निर्वाचनमा मुख्य बलका रूपमा हेरिएको छ । नेपाल एलपी ग्यास उद्योग संघको पूर्वअध्यक्षका रूपमा उनले पेट्रोलियम र ऊर्जा क्षेत्रका नीतिगत सुधारमा महत्वपूर्ण भूमिका खेलेका छन् ।
त्यस्तै साना तथा मझौला उद्योगीका समस्यालाई नीतिगत तहमा पु¥याउन उनले लामो समयदेखि वकालत गर्दै आएका छन् । सरकार र निजी क्षेत्रबीचको संवादमा स्पष्ट र निडर प्रस्तुति राख्न सक्ने क्षमता उनको मुख्य विशेषता हो ।
उम्मेदवारी घोषणा कार्यक्रममा उनले वस्तुगत संघहरू महासंघका मेरुदण्ड भए पनि उनीहरूले पाउनुपर्ने अधिकार र प्राथमिकता पाउन नसकेको बताए । ‘मेरो टिमले यी संघहरूको आवाजलाई महासंघको मूलधारमा स्थापित गर्नेछ,’ उनले भने ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्