भैरहवा, १५ भदौ - उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले सबै खेल क्षेत्रका पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन् । उनले सम्बन्धित खेल क्षेत्रका संघसंस्थाले उत्साहसाथ काम गर्नुपर्ने बताउँदै सरकारले खेल पूर्वाधारलाई प्राथमिकतामा राखेको जनाए ।
शनिबार रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानको निरीक्षण गर्दै उपप्रधानमन्त्री पौडेलले निर्माणाधीन रंगशालालाई बजेट अभाव हुन नदिने प्रतिबद्धता जनाए । ‘यो रंगशालाल लुम्बिनी प्रदेशमै महत्वपूर्ण खेल पूर्वाधार हो । यसमा केही कामहरू भएका छन्, यसलाई पूरा गर्नुपर्छ’, उनले भने, ‘सरकारले चालु वर्षमा केही बजेट विनियोजन गरेको छ । बाँकी काम पूरा गर्ने ढंगबाट क्रिकेट संघका साथीहरू पनि लाग्नुभएको छ । हामी जनप्रतिनिधि पनि लागेका छौं ।’
उनले सिद्धार्थ रंगशालालाई व्यवस्थित र निर्माण पूरा गर्न सरकारको साथ रहेको स्पष्ट पारे । ‘यहाँ क्रिकेट रंगशालामा हुनुपर्ने सबै सेवासुविधा भएको व्यवस्थित र आकर्षक मैदान बनाएर निर्माणको काम छिटो सक्ने हिसावले हामी अगाडि बढ्नुपर्छ’, उनले भने, ‘यसमा सरकारले पूरै साथ दिन्छ । आउने दिनमा पनि बजेट छुटिन्छ । तपाईंहरू पनि उत्साहसाथ लाग्नुहोला । बजेटको अभाव हुन दिइँदैन ।’
अर्थमन्त्री पौडेलले रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापा र पूर्वअध्यक्ष प्रशान्तविक्रम मल्लले पछिल्लो अवस्थाबारे जानकारी गराएका थिए । उनीहरूले रंगशालालाई पूर्णता दिन बहुवर्षीय ठेक्का लगाएर बजेट विनियोजन गर्न आग्रह गरे । पूर्वअध्यक्ष मल्लले भने, ‘कहिले बजेट पर्ने, कहिले नपर्ने भइरहेको छ । यसलाई पूर्णता दिन बहुवर्षीय ठेक्का गर्न जरुरी छ । यसमा सरकारले विशेष ध्यान दिनुपर्ने देखिन्छ ।’
संघका अध्यक्ष थापाले डेढ दशक अघिदेखि निर्माण सुरु भए पनि अझै पूर्ण नपाएको गुनासो गरे । उनले पछिल्लो समय केही संरचना बनेको बताउँदै यसपटक विनियोजित बजेटबाट ६ हजार क्षमताको प्याराफिट निर्माण गरिने जानकारी दिए ।
क्रिकेट मैदानलाई स्तरोन्नति गरी अन्तर्राष्ट्रियस्तरको बनाउन सुरु गरेको करिब डेढ दशक वितिसकेको छ । तर, पर्याप्त बजेट नहुँदा काम भने सुस्त गतिमा छ । यस वर्ष संघ सरकारले ३ करोड रुपैयाँ विनियोजन गरेको छ । संघले उक्त बजेटबाट बहुवर्षीय ठेक्का लगाउन अर्थमन्त्री पौडेललाई सुझाव दिएको छ ।
रंगशालाका निर्माणको काम डेढ दशकमा बल्ल १६ प्रतिशत हाराहारी भएको छ । न्युन बजेट आउँदा डीपीआरअनुसार अन्तर्राष्ट्रियस्तरको मैदान यति नै समयमा बन्छ भन्ने एकिन छैन । क्रिकेट मैदान बनाउन अहिलेसम्म करिब १२ करोड रुपैयाँ खर्च भइसकेको छ । २०६८ मा भैरहवा र मूल पानीमा अन्तर्राष्ट्रियस्तरको मैदान बनाउन सुरु गरिएको थियो । तर, मूलपानी मैदानले गति लिँदा भैरहवाको मैदान स्तरोन्नतिको काम भने कछुवा गतिमा छ ।
मैदानमा ७ हजार दर्शक अट्ने गरी प्याराफिट बनाउने र अन्तर्राष्ट्रिय क्रिकेट खेलाउने उद्देश्यसहित राखेपले डीपीआर बनाएको छ । डीपीआरअनुसार उसबेला मैदान बनाउन कम्तिमा ३८ करोड रुपैयाँ लाग्ने जनाइएको थियो । तर, पछिल्ला वर्षहरूमा बजेट नै विनियोजन हुन छाडेपछि पूरानै डीपीआर अनुसार काम गर्दा पनि अहिलेको अवस्थामा कम्तिमा ७० करोड बढी लागत लाग्ने अनुमान गरिएको संघका अध्यक्ष थापा बताउँछन् ।
अहिलेको जस्तै सुस्त गतिमा काम हुने हो भने अझै २५ वर्ष मैदान अन्तर्राष्ट्रियस्तरको नहुने खेल क्षेत्रका अगुवा बताउँछन् । यहाँ अहिलेसम्म ३ करोड लागतमा हल, खेलाडी बस्ने ठाउँ र शौचालयसहितको तीन तल्ले भीआईपी प्याराफिट निर्माण गरिएको छ । यहाँ सुरुमा एक करोड १९ लाख रकम खर्च गरेर क्रिकेट संघको कार्यालयसहित एक तल्लाको प्याभेलियन भवन बनाइएको थियो । त्यसपछि मैदान सम्माउन तीन वर्ष लगाइयो ।
यहाँ अहिलेसम्म प्याभेलियन भवनसहित ८९ लाखमा मैदान सम्याउने काम, ४० लाखमा तारजाली, ९० लाखमा ढल व्यवस्थापन, १ करोडमा पिच, प्याभेलियन अगाडि टायल बिच्छ्याउने, गार्ड रुम, स्टोर रुम बनाइएको छ । तर, सरकारले बहुवर्षीया योजनामा राखेर रंगशालालाई अन्तर्राष्ट्रियस्तरको बनाउने भने पनि त्यसो हुन सकेको छैन ।
बेलाबेला ताँती लागेर मैदान अवलोकन गर्न आउने विभागीय मन्त्री, प्रदेशका मुख्यमन्त्री, मन्त्री र खेलकुद परिषद्का पदाधिकारीले भने पर्याप्त बजेट छुट्याउँछौं भनेर आश्वासन दिन्छन् । तर, बजेट नछुट्याउँदा रंगशाला निर्माण कछुवा गतिमा भइरहेको हो । विगतमा समयमै टेण्डर नहुँदा कयौं पटक आएको बजेट काम नभएर फिर्ता गएको तितो यथार्थ छर्लङ्ग छ । यो मैदानमा अन्तर्राष्ट्रिय क्लबस्तर र प्रधानमन्त्री कपलगायतका ठूला खेल भइसकेको छन् ।
यहाँ खेल्न आउने खेलाडीले यो रंगशालाको भविष्य राम्रो देख्छन् । तर, सरकारले भने बेवास्ता गरिरहेको खेलाडीहरू बताउँछन् । ‘रुपन्देहीले मात्रै क्रिकेटमा एक सय बढी राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गरेर योगदान गरेको छ । तर, यस्तो महत्त्वपूर्ण जिल्लामा समेत निर्माण भइरहेको क्रिकेट मैदान सम्पन्न गर्न सरकारले पर्याप्त बजेट छुट्याउँदैन’, मल्लले भने,
‘यसपटक बजेट विनियोजन भएको छ । यसलाई बहुवर्षीयमा लगेर निर्माण सम्पन्न हुने मिति सुनिश्चित गर्नुपर्छ भन्ने हाम्रो माग हो ।’ उनले अहिले बलियो सरकार भएकाले आगामी वर्षहरूमा पनि पर्याप्त बजेट विनियोजन हुने विश्वास व्यक्त गरे ।