नेभिगेशन
धर्म/संस्कृति

सुदूरपश्चिमको साँस्कृतिक पहिचान गौरा पर्व

गौरा पर्व सुदूरपश्चिमको सर्वमान्य र प्रमुख चाडमा गनिन्छ । यो पर्व महेश्वर र गौराको पूजा गरिने पर्व हो । यसको तयारीका लागि भदौ कृष्ण पञ्चमीको दिन पुजारीले मन्दिरमा गहुँ, केराउ, गुराँस, गहत, मकैसहित पाँच थरिका अन्न तथा गेडागुडी मिलाई पंच बिरुडा भिजाउछन् ।

सप्तमीको अधिल्लो दिन देवीका मन्दिरका पुजारीले गौराका लुगा कपडा धोइपखाली मन्दिर लिपपोत गरी सकेपछि सप्तमीको दिन गाउका सबैजना मन्दिरमा जम्मा भैसकेपछि गौरा बनाउने (गाड्ने) ठाउँमा जम्मा हुन्छन् । जुन सधैंका लागि निश्चित तोकिएको स्थान हुन्छ अनि गाउँ मन्दिर क्षेत्रबाट अलिक टाढा रहेको हुन्छ । 

सप्तमीको दिन महेश्वर र गौरा गरी दुईवटा गौरा निकालिन्छ जुन मूर्ति धान, साउँ, वलु, अपमार्गी, कुश, काश र तरुलको लहरासमेत गरी ७ थरी बोटबाट गौरा बनाउदा व्रतालु समूहले गौरा महेश्वरको मूर्ति बनाउँदै मांगलिक गीत लय हाली गाउने गर्दछन् ।

क्याउन क्याउकी लोली उपजी, कुश र कासैकी लोली उपजी । क्याउन क्याउकी लोली उपजी, अवमार्ग बोटकी लोली उपजी । क्याउन क्याउकी लोली उपजी, धानै र साउँकी लोली उपजी । क्याउन क्याउकी लोली उपजी, तरुल बोटकी लोली उपजी । क्याउन क्याउकी लोली उपजी, बलुई रे बोटकी लोली उपजी ।।

यसरी गौरा र महेश्वरको मूर्ति तयार भएपछि मन्दिरबाट लगेका नयाँ लुगा कपडा नानाथरीका गरगहनाले गौरा महेश्वरलाई सजाइन्छ । यसबेला महिलाहरूले अलग्गै किसिमका मांगल गाउने प्रचलन छ । 

जब गौरा महेश्वरको गौरा बनाउने कार्य सम्पन्न भएपछि व्रतालु महिला समूह १०८ सुतको धागो, फल, प्रसाद, सहितको चनयो शिरमाथि राखी नचाउदै मांगलिक गीत गाउँदै अगाडि–अगाडि महेश्वर र पछाडि गौरालाई राखी व्रतालु महिलाहरूले काधँमा राखी मन्दिर जान्छन् । फाग, मांगल, गाउँदै पहिला कन्या कुमारी त्यसपछि महिला त्यसपछि पुरुषहरू लामबद्ध भई पुरुषहरूले निम्न फागहरू गाउने गर्छन् । 

गीतसहित सबै जन–समूह हर्षोल्लासका साथ मन्दिरमा पुगेपछि गौरा महेश्वरलाई मन्दिरको गबिरमा राखी पूजाआजा फल प्रसाद चढाइसकेपछि महिलाहरू चनयो नचाउन नाचन्थली गई आलोपालो गरी चनयो टाउका माथि राखी गीत गाउने प्रचलन छ ।

त्यसैगरी पुरुष समूह पनि समूहगत रूपमा गोलबद्ध भई टुक्का, गीत गाउँदै नाच्दै गौरा महेश्वरको उत्पतिदेखि अन्तसम्म जीवन जगतका कृति, गाथा गाउने गर्दछन् । त्यसैदिन प्रत्येक घरघरबाट आफूले चिताएको फल पाउने आशामा व्रत बस्दछन् । 

घरमा दियो बाली आफूले भाकल गरेको भए सोअनुसारको सामग्रीसहित फलफूल घरमा भिजाएको पञ्च बिरुडा र श्रद्धाले चामल पिठो जे जति सकिन्छ सोसहित मन्दिरमा दियोवर्तन दिने प्रचलन छ । त्यसपछि रातभरि देवी–देवताको गाथा गाउँदै जाग्राम बस्ने प्रचलन छ ।

सप्तमी र अष्टमीमा सबै गाउँलेले पनि घरघरमा भिजाएको पंच बिरुडा, फलफूल मन्दिरमा चढाउने प्रचलन छ । राति करिब १२ बजेसम्म व्रतालु महिलाहरूले फल प्रसाद लिई घरमा पूजा गर्ने निराहार व्रत पनि बस्ने गर्छन् ।

Pramananda-Joshi-1756671502.jpg

प्रमानन्द जोशी

रातिसम्म गौरा महेश्वरको जन्मदेखि जीवनका हरेक क्षणमा गरका वीर गाथा, टुक्का भारी खेल हुँदै अन्तमा रमाइलो गर्न देउडाबाट पनि भगवानको गाथामा रमाइलो गीत गाउने प्रचलन छ । गौरा पर्वमा टाढा–टाढा बस्ने दिदीबहिनी, भाइ छोरा जमघट हुने मिलनविन्दु हो, सुदूरपश्चिमको गौरा पर्व । 

त्यसैले पश्चिमेली जो रोजगारीको शिलशिलामा भारतलगायत विभिन्न ठाउँहरूमा रहेका छन् उनीहरू गौरामा नभए दशैंमा घर जानुपर्ला, जुन शब्द भनाइका दृष्टिले पनि यो पर्व मनाउनेका लागि एक प्रकारको दशैं नै हो । यसको पछिल्लो दिन कृष्ण जन्माष्टमीमा बिहानैबाट प्रायजसो केटाहरूले नुहाइ–धुवाइ गरी देवीको मन्दिरमा चण्डी पाठ गर्ने गर्छन् । महिलाहरूले मांगल गाउछन् । 

दिउँसो गाउँघरलगायत टाढा– टाढाबाट गौरा खेल्न आउनेको भीड लाग्ने गर्दछ । यो दिन कृष्ण जन्माष्टमी पर्ने भएकाले पनि अघिल्लो दिन झैं व्रत बस्ने, गौरा खेल्ने लगायत अघिल्लो दिनजस्तै गौरा निकाल्ने ठाउँमा पुगेर अघिल्लो दिनको प्रक्रिया झैं सबै भेला भई सोही ७ बिरुवाबाट संजा र नारायणको मूर्ति निर्माण गरिन्छ ।

त्यो दिन विष्णु र लक्ष्मीका मूर्ति बनाई उनकै गाथा भजन गाउँदै बेलुकीपख त्यही मन्दिरमा अघिल्लो दिनको झैं सोही प्रक्रियाले संजा नारायणलाई भित्राइन्छ । संजा र नारायणका गौरा तिहार परेका वर्ष मात्र निकाल्ने प्रचलन छ । 

गाउँमा कसैको मृत्यु भएको खण्डमा वा कोही सुत्केरी भएमा संजा नारायण ननिकाली त्यसै दिन कुमारी कन्याबाट गौरा सेलाउने चलन छ । गौरा र महेश्वर भने निकालेर गौरा खेल्दै दुई दिनपछि गौरा सेलाउने चलन छ । तर कसैको तिहार रोकिएको वर्ष भने पाँच वा सात दिनसम्म गौरा खेल्दै पुरुषपक्षले भारीखेल टुक्कामा यसप्रकार गीत गाउने प्रचलन छ ।

धेरैजसोले अष्टमीका दिन गौरा महेश्वर र संजा नारायणको विवाह गर्ने प्रचलन पाइन्छ । कुनै ठाउँमा पार्वती र महेश्वरको गौरा गाड्ने दिन र अष्टमीमा संजा नारायणको गौरा गाड्दाकै दिन गौरा नचाउँदा स्वतः विवाह भएको कथन पनि सुनिन्छ । जेहोस् सुदूरपश्चिमका लागि भने यो सानो दशैं भने पक्का नै मान्न सकिन्छ । गौरा पर्व हाल आएर राष्ट्रिय पर्वका रूपमा परिचित छ ।

यसरी सधैं रातिसम्म खेल खेल्दै रमाइलो गर्दै पाँच या सात दिनसम्म मन्दिरमा राखी पूजाअर्चना गरी पाँचौ सातौं दिनको दिन पार्वतीलाई बिदाइ गरी महादेवको साथमा कैलाश पर्वततर्फ बिदाइ गर्ने तयारी हुन्छ । त्यस दिनभरि रमाइलो गर्दै महेश्वरलाई गौरा जिम्मा लगाइ गौरा पर्वको अन्त्य गरिन्छ । 

यसरी गौरा महेश्वर र संजा नारायणलाई बिदाइ गरी गौरा सेलाउने ठाउँ मन्दिर भन्दा अलि टाढा अग्लो रुख पानीको मुहान भएको ठाउँमा गौरा सेलाउने ठाँउ तोकिएको हुन्छ ।

अन्तिम दिन गौराको बिदाइका लागि मन्दिरमा राखिएका देवताका प्रतिमूर्ति गौरा मन्दिरबाट बाहिर नाचन्थलीमा ल्याउँदै गर्दा मानौं बुवा हिमालयको घरबाट गौरी शिवसहित कैलाशतर्फ पठाउने तयारी हुँदैछ । नाचन्थलीमा ती देवदेवीका गौराहरू र चनयो नचाउँदै मांगल गाउँदै खुब रमाइलो गर्दै महिलाहरू, कन्या कुमारी तथा पुर्जानीले चनयो बोक्ने त्यसका अगाडि कन्या कुमारीहरू हुन्छन् ।

चनयोको पछाडि गौरा, महेश्वर त्यसैगरी संजा अगाडि त्यसपछि नारायणलाई लगाई हिमालय पर्वतबाट कैलाश पर्वततर्फ पठाएको महसुस गर्दै मांगलिक गीतका साथ लावालस्करले बिदाइ गर्दाका गाथाहरू गाँउने प्रचलन छ । सोह्र बैनी दुर्गाको एक्लो भाइ मष्टोले बिदाइ दिँदाको फाग अति दर्दनाक पनि लाग्छ । 

पर्वको अन्तमा गौरा महेश्वर संजा नारायणलाई गौरा सेलाउने ठाँउ गौरा सेलाइ धूपबत्ती ध्वजा पर्गलाको साथ गौरा सेलाएर सबैजना मन्दिर फर्कंदै यस प्रकारका दर्दनाक मांगल फाग गाउँदै सेतो मजेत्रो (मनेठो) तथा पुरुषले रुमालले बाई बाई गर्दै आँखाबाट आँसु झार्ने यस प्रकारको गीत गाउँदै कन्या केटी, महिला, पुरुष लामबद्ध भई मन्दिर फर्कंदा मन मुटु छुने गौराका फाग, मांगल गाउँछन् ।

यसरी गीत गाउँदै फर्केका व्रतालु जनसमुदाय मन्दिरमा फर्की चनयोमा चढाएको फल, प्रसाद र धागोसहित चनयो नचाउँदै मन्दिर परिसरमा फर्की मन्दिरमा भएका गौराको प्रसाद पंच अन्नको बिरुडा फलफूल लगायतका प्रसाद सबैलाई बाँड्ने चलन छ । 

भीडभाडले गर्दा सबैलाई प्रसाद बाँड्न नसकिने भएमा मन्दिरको माथिबाट बाँकी फलप्रसाद भीडमा फाल्ने चलन छ । आफूले राम्रो फल भेटाएमा दुर्गा देवी खुसी भई वरदान स्वरूप राम्रो फल प्राप्त गरको गर्वसमेत गर्ने परम्परा अझै ताजै छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्