नेभिगेशन
उपत्यका

रवि लामिछानेविरुद्धको रिटमाथि सर्वोच्चको पूर्ण इजलासमा सुनुवाइ हुने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुर संशोधन गरी फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध दायर रिट निवेदनमा सर्वोच्चको पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ ।

न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले आज पूर्ण इजलासमा सुनुवाइ हुने आदेश दिएको अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए । मङ्गलबारदेखि सुनुवाइ सुरु भए पनि नसकिएपछि हेर्दाहेर्दैमा आजका लागि राखिएको थियो ।
न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले यही चैत ५ गते लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण तथा सङ्गठित अपराध मुद्दा फिर्ता लिने महान्यायाधिवक्ताको संशोधित निर्णय पेस गर्न आदेश गरेको थियो । साथै, आजका लागि पेसी तय भएको थियो ।

यसअघि, सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको संयुक्त इजलासले उक्त निवेदनलाई नियमित सुनुवाइ गर्न यही चैत १ गतेका लागि पेस गर्न आदेश दिएको थियो । महान्यायाधिवक्ता सविता भण्डारी बरालले लामिछानेविरुद्ध अघिल्लो सरकारको पालामा लगाइएका सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधका मुद्दा फिर्ता गर्ने निर्णय गर्नुभएको थियो । उक्त निर्णयविरुद्ध युवराज पौडेल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता आभास रेग्मीले सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट निवेदन दायर गरेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्