नेभिगेशन
उपत्यका

सरकारी जग्गा हिनामिनामा १५ जनाविरुद्ध मुद्दा

काठमाडौं । सरकारी जग्गा व्यक्तिका नाममा नामसारी गराएर भ्रष्टाचार गरेको आरोपमा मालपोत कार्यालय धनकुटाका पूर्वप्रमुख सुरेश थपलियासहित १५ जनाविरुद्ध आइतबार भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, धनकुटाले साविक तांखुवा गाविस–९ को कित्ता नं. ३८२, ३८३, ३८४ र ३८५ का सरकारी जग्गाहरु व्यक्तिको नाममा कायम हुने गरी दर्ता गरी गराई भ्रष्टाचार गरेको आरोपमा घटनाको १६ वर्षपछि मुद्दा चलाएको हो । परेको उजुरीमा अनुसन्धान गर्दा सरकारी जग्गा हिनामिना गर्ने उद्देश्यले झुटो विवरण तयार पारी व्यक्तिको नाममा कायम गरिएको खुलेको आयोगले जनाएको छ ।
आयोगका अनुसार थपलियासहित छुट जग्गा दर्ता समितिका सदस्य तथा तत्कालीन शाखा अधिकृत टंकप्रसाद दुवाडी, छुट जग्गा दर्ता समितिका सदस्य तथा नापी कार्यालय, धनकुटाका तत्कालीन सर्भेक्षक राजेन्द्रप्रसाद यादव, मालपोतका तत्कालीन नायब सुब्बा छविलाल फुयालविरुद्ध ६७ लाख ६८ हजार रुपैयाँ बिगो रकम कायम गरी भ्रष्टाचार मुद्दा दायर भएको छ ।
साबिक तांखुवा गाविसका सचिव भक्तबहादुर भट्टराई, छुट जग्गा दर्ता गर्ने जग्गाधनी माधवबहादुर भट्टराईविरुद्ध ७७ लाख ६८ हजार रुपैयाँ भ्रष्टाचार मुद्दा दायर भएको छ । यसैगरी हालका जग्गाधनीहरु खगेन्द्रबहादुर थापा, हिमादेवी बस्नेत, ज्ञानकुमारी मगर, मित्रबहादुर मगर, अम्बरबहादुर मगर, पदम बहादुर सिजाली, निर्मला घिमिरे, ईन्द्र बहादुर मगर र स्व. पूर्णबहादुर थापाको हक सकार गर्ने गजेन्द्र थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको आयोगको विज्ञप्तिमा छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्