नेभिगेशन
उपत्यका

ओली र लेखक पक्राउमा सर्वोच्चले माग्यो कारण

‘तीन दिनभित्र लिखित जवाफ पेस गर्नू’

काठमाडौं । सर्वोच्च अदालतले एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकलाई हिरासतमुक्त गर्न अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । उनीहरूको पक्राउ गैरकानुनी भएको दाबी गर्दै दायर गरिएको बन्दीप्रत्यक्षीकरण रिटमाथि सोमबार सुनुवाइ गर्दै सर्वोच्चले सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको छ ।
ओलीका तर्फबाट उनकी पत्नी राधिका शाक्यले दायर गरेको रिटमा न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले सुनुवाइ गरेको थियो । इजलासले ओलीलाई तत्काल थुनामुक्त गर्ने अन्तरिम आदेश दिन अस्वीकार गर्दै पक्राउ गर्नुको कानुनी आधार र कारणसहित लिखित जवाफ पेस गर्न सरकारलाई आदेश दिएको छ ।
न्यायाधीश पोखरेलको इजलासले ओलीलाई जरुरी पुर्जी नै जारी गरेर पक्राउ गर्नुपर्ने अवस्था थियो कि थिएन भनी प्रश्न उठाएको छ । आदेशमा भनिएको छ, ‘निवेदकलाई जरूरी पक्राउ पुर्जी जारी गर्नुपर्ने उल्लिखित दफाको पूर्वावस्था रहे÷नरहेको के हो ? जवाफ आउने गरी लिखित जवाफ पेस गर्न लगाउनू ।’
त्यस्तै, न्यायाधीश कुमार रेग्मीले पूर्वगृहमन्त्री लेखकको निवेदनमा कार्की आयोगको प्रतिवेदन पेस गर्नू र इजलासमा देखाएर लैजानू भनेका छन् । 
पूर्वगृहमन्त्री लेखकको तर्फबाट उनकी पत्नी यशोदा लेखकले दायर गरेको रिटमा न्यायाधीश रेग्मीको इजलासले पनि उस्तै प्रकृतिको ‘कारण देखाउ आदेश’ जारी गरेको छ । अदालतले दुवै मुद्दालाई गम्भीरतापूर्वक लिँदै विपक्षीहरूलाई तीन दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्न निर्देशन दिएको छ । सर्वोच्चले अब सरकारको लिखित जवाफ प्राप्त भएपछि मात्रै यो मुद्दा हेर्ने छ । सर्वोच्चको आदेशपछि कम्तीमा पनि अबको तीन दिन ओली र लेखक हिरासतमै रहने निश्चित भएको छ । लिखित जवाफ आएपछि र कार्की आयोगको प्रतिवेदन अध्ययन गरेपछि यस मुद्दामा थप सुनुवाइ हुनेछ । 
गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भएको झडप र दमनका विषयमा गठित गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णयपछि गत शनिबार ओली र लेखकलाई पक्राउ गरिएको थियो । आइतबार जिल्ला अदालत काठमाडौंले दुवैलाई ५ दिन हिरासतमा राख्न अनुमति दिएको थियो । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्