नेभिगेशन
उपत्यका

समाजसेवी थापाको योगदानको चर्चा

काठमाडौँ । साहित्य सदन नेपालका संस्थापक सचिव तथा शिक्षा सेवी तथा वरिष्ठ समाजसेवी अमिर थापा ( वुद्धि बहादुर थापा) को स्मृतिमा श्रद्धाञ्जली तथा शोक सभा आयोजना गरियो ।
मंगलबार साहित्य सदन नेपाल बौद्ध रामहिटीको सभाकक्षमा आयोजित कार्यक्रममा विभिन्न विधामा साहित्यकार, समाजसेवी तथा शिक्षासेवी विभिन्न क्षेत्रका व्यक्तिहरुले स्वर्र्गीय अमिर थापाको विभिन्न पक्षमा प्रकाश पारेका थिए । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कूलपति तथा वरिष्ठ साहित्यकार डा. गंगा प्रसाद उप्रेतीले साहित्य तथा कला क्षेत्रमा योगदान गरेका व्यक्तिलाई समाज तथा राज्यले सम्मान गर्नुपर्ने बताउँदै अमिर थापाको व्यक्तित्वका चर्चा गरे ।
साहित्य सदन नेपालको स्थापनामा संस्थापकको रुपमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै समाजसेवी तथा पूर्व राजदूत डा. गणेश योञ्जनले  सामाजिक क्षेत्रमा निर्वाह गरेको भूमिकाको चर्चा गरे । त्यसैगरी स्वर्गीय थापाको शिक्षा तथा साहित्य र समाजसेवाको विभिन्न आयाम र सामाजिक योगदानको विषयमा अरुणिमा शैक्षिक प्रतिष्ठानका अध्यक्ष भिमानन्द ढुंगानाले प्रकाश पारेका थिए । साहित्यकार प्रा.कोषराज न्यौपानेले साहित्य सदन नेपालको स्थापना गरेर ठुलो गुन लगाएको हुँदा उहाँको कृतित्व तथा व्यक्तित्वलाई संस्थागत गर्न आग्रह गरे । पूर्वसांसद् रामेश्वर फुँयालले समाज रुपान्तरण तथा सामाजिक विकासमा अमिर थापाले निर्वाह गरेको भूमिकाको चर्चा गदै राज्यले उचित सम्मान गर्नुपर्ने बताए । काठमाडौं महानगरपालिका वडा नं ६ का सदस्य भगवान थापा (नरेन्द्र)ले समाज सेवामा महत्वपूर्ण भूमिका निर्वाह गरेका थापाको सम्झनामा स्थानीय सरकारले आवश्यक सहयोग गर्ने बताए । साहित्य सदन नेपालका अध्यक्ष प्रा. डा हेमनाथ पौडेलले साहित्य सदन नेपालको स्थापनामा महत्वपूर्ण योगदान गरेको संस्थापक अमिर थापाको स्मरणमा संस्थागत रुपमा विविध कार्यक्रम गर्ने योजना रहेको बताए । परिवारको तर्फबाट छोरा शुसिल थापा र छोरी संगिता थापाले परिवारको तर्फबाट धन्यवाद दिँदै साहित्य तथा शिक्षाको क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । 
कार्यक्रममा न्यूज२४ दैनिकका प्रधान सम्पादक नवराज चालिसेले स्वर्गीय थापाको सामाजिक, साहित्यिक तथा शिक्षा क्षेत्रमा निर्वाह गरेको योगदानलाई विभिन्न संघ संस्थाहरुले संस्थागत रुपमै स्मरण तथा संरक्षण गर्न आग्रह गरे । कार्यक्रममा साहित्यकार गोविन्द घिमिरे, साहित्य सदनका सचिव प्रल्हाद पोखरेल, विश्वनाथ तामाङ लगायतले साहित्यिक तथा सामाजिक योगदानको चर्चा गरेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्