नेपालको पूर्वी पहाडी जिल्ला इलामको सूर्योदय नगरपालिका–२ बागवीरेमा एक जना किसानको तीनवटा बाख्रा एउटा चितुवाले खाएको पाइयो । नेपालको पहाडी भेगमा चितुवा आउनु नौलो होइन । यसमा के नौलो देखियो भने यो चितुवा पहिला पाइने जस्तो चितुवा नभई कालो चितुवा हो । संरक्षणकर्मीहरूले इलाममा यसअघि कालो चितुवा नदेखिएको बताएका छन् ।
पछिल्लो एक महिनामा सो क्षेत्रमा चितुवाले सातवटा बाख्रा खाइसकेको छ । एक महिनामा माईजोगमाई–२ का मूलखर्क, बिज्जेमा चितुवा आतंक देखिएको हो । चितुवाको उद्धार गर्न राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागअन्तर्गतको निकाय कोशी टप्पु वन्यजन्तु आरक्षबाट उद्धार टोली मगाइएको छ ।
सो चितुवा कहाँबाट आयो भन्ने विभिन्न अड्कल भइरहँदा इलामको सीमा भारतमा जोडिएको र भारतपट्टि रहेको सिंहलिला नेसनल पार्कबाट नेपाल प्रवेश गरेको अनुमान गरिएको छ । किनभने विगतमा त्यहीँबाट चितुवा नेपाल प्रवेश गरेको थियो । यसअघि कालो चितुवा काभ्रेपलाञ्चोक जिल्लामा भेटिएको थियो । नेपालमा कालो चितुवा पाउनु एकदमै दुर्लभ र महत्त्वपूर्ण घटना हो ।
वन्यजन्तु संरक्षण चुनौतीपूर्ण अवस्थामा रहँदै आएको अवस्थामा कालो चितुवा पाइनु जैविक विविधता संरक्षणका लागि सकारात्मक रहेको जानकारहरू बताउँछन् ।
यस सम्बन्धमा विज्ञहरूले राय प्रस्तुत गर्दै यो नयाँ प्रजातिको चितुवा नरहेको रंग मात्र फरक भएको बताएका छन् । सामान्यतयता चितुवाहरूको शरीरमा रहेका रौंको रंग खैरो–सुनौलो पृष्ठभूमिमा कालो थोप्ला हुने संरक्षणविद् डा. बाबुराम लामिछाने बताउँछन् ।
‘कहिलेकाहीँ आनुवांशिक कारणले कहिलेकाहीँ चितुवाहरूमा खैरो-सुनौलो रंग नदेखिने वा फिक्का देखिने र कालो रंग मात्र गाढा देखिन्छ,’ उनको धारणा छ, ‘त्यसैले यो नयाँ प्रजाति हैन । चितुवा नै हो तर रंग मात्र फरक ।’
उनका अनुसार यस्तो खाले चितुवालाई अंग्रेजीमा ‘मेलानिस्टिक’ भनिन्छ । ‘कतै यही कालो चितुवा दक्षिण अमेरिकी देशहरूमा पाइने ‘ज्याग्वर’ लाई पनि ‘ब्ल्याक प्यान्थर’ पनि भनिन्छ । चितुवासहित अन्य प्रजातिहरूमा पनि यस्तो मेलानिस्टिक अवस्था देख्न सकिन्छ,’ लामिछाने भन्छन्, ‘कुनै क्षेत्रमा यस्तो कालो चितुवाहरूको संख्या प्रशस्त हुने गरेको पनि पाइन्छ ।
भारतको असमको मनास राष्ट्रिय निकुञ्जमा क्यामेरा ट्रयापमा कैद भएका चितुवाको फोटोहरूमा करीब २३ प्रतिशत यस्तै कालो चितुवाहरू रहेको एक अध्ययनले देखाएको छ । कहिलेकाहीँ यसको उल्टो सेतो देखिने पनि हुन सक्छ जसलाई ‘एल्बिनिजम’ भनिन्छ ।’
यो चितुवाका बारेमा आफ्नो फरक धारणा रहेको बताउँदै उनी भन्छन्, ‘अहिलेसम्म मेरो सोह्र वर्षे अनुभवमा तराई र चुरे क्षेत्रमा यस्तो कालो चितुवा भेटिएको छैन तर पहाडी क्षेत्रमा काभ्रे र मुगुमा पनि भेटिनुको कारण के होला ?’
यसको कारण त समय क्रममा थाहा होला नै । तर भारतीय क्षेत्रबाट वन्यजन्तु नेपाल आउजाउ हुने गरेको तथ्यले वन्यजन्तुको देश नहुने र उनीहरूको स्वतन्त्र आवागमनमा हामीले बाधा पार्नुहुँदैन भन्ने देखिन्छ ।
नेपाल र भारतको सीमा जोडिएको हुँदा हात्ती, बाघ, चितुवा र चराजस्ता वन्यजन्तु दुई देशबीच आवतजावत गर्छन् । नेपालको पूर्वी क्षेत्रमा भारतको पश्चिम बंगालबाट हात्ती आउजाउ गर्छ । पूर्वी नेपालको झापा, मोरङ र सुनसरीमा हात्ती आवतजावत बढी देखिन्छ ।
बाघ भने नेपालको शुक्लाफाँटा, चितवन निकुञ्जसँग जोडिएको भारतको जंगलबाट आउजाउ गर्छ । नेपाल र भारतलाई जोड्ने प्रमुख बाघ करिडोर भनेको खाता करिडोर हो, जुन १५ माइल लामो वन्यजन्तु मार्ग हो ।
यसले नेपालको बर्दिया राष्ट्रिय निकुञ्जलाई भारतको कतरनियाघाट वन्यजन्तु आरक्षसँग जोडेको छ । चितवन राष्ट्रिय निकुञ्ज भारतको वाल्मीकि टाइगर रिजर्भसँग जोडिएको छ भने शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको क्षेत्र भारतको तीनवटा बाघ संरक्षण क्षेत्रसँग जोडिएको छ ।
मिमांसक नेपाल
चितुवाका सन्दर्भमा भने नेपालको इलाम, धरान र आसपासका सीमाक्षेत्र भारतसँग जोडिएको हुँदा त्यताबाट आउजाउ गरेको पाइन्छ । चराको सन्दर्भमा थुप्रै प्रजातिका चरा मौसमअनुसार नेपाल र भारतबीच आउजाउ गरिरहेका हुन्छन् ।
एसियाली क्षेत्रमा पाइने चराहरू सिक्किम र नेपालमा बाक्लैसँग आउजाउ गर्ने गरेको पाइन्छ भने नेपालको तराई क्षेत्र र भारतमा आउजाउ गरिरहेका हुन्छन् ।
यसर्थ, वन्यजन्तुको संरक्षणका लागि दुई देशबीचको सहकार्य आवश्यक छ । वन्यजन्तु करिडोरको संरक्षण र विस्तार गर्नुपर्ने देखिछ, जसबाट जनावर सुरक्षित आवतजावत गर्न सकून् । अर्को, सीमा क्षेत्रमा अवैध सिकार र वन्यजन्तु तस्करीमा कडाइ गरिनुपर्छ ।
यसका साथै, स्थानीय बासिन्दा र वन्यजन्तु बीच सहअस्तित्व सुनिश्चित गर्न मानव–जनावर द्वन्द्व न्यूनीकरणका उपाय अवलम्बन गर्नुपर्ने देखिन्छ ।
मानव निर्मित सीमाले असर नगरी वन्यजन्तुहरूले निर्वाध आउजाउ गर्न पाउनु प्राकृतिक नियम हो । त्यसैले नेपाल र भारतले साझा जिम्मेवारीका साथ यी प्रजातिको संरक्षण गर्नुपर्ने देखिन्छ, जसबाट जैविक विविधता र पारिस्थितिकीय प्रणालीको सन्तुलनमा राम्रो काम हुन सकोस् । अन्ततः मानव र वन्यजन्तु दुवैको सुरक्षामा योगदान पुग्नेछ ।
नेपालमा वन्यजन्तु संरक्षणका लागि व्यापक स्तरमा जनचेतना वृद्धिदेखि लिएर बढी प्रविधि र जनशक्ति आवश्यक पर्ने देखिन्छ । स्थानीय समुदायसँग सहकार्य गरी जंगली जनावर र मानिसबीच सहअस्तित्वको खाका अपनाउनुपर्छ ।
यसले वन्यजन्तुको संरक्षण मात्र हैन, मानवीय जीवन र पशुपालनलाई पनि सुरक्षित राख्न मद्दत पुग्नेछ । इलाममा देखिएको कालो चितुवाको घटनाले हामीलाई यही सन्देश दिएको छ ।