नेपालमा डेमोक्रेटिक ब्याकस्लाईडिङ अर्थात् लोकतान्त्रिक चिप्ल्याइ वा पछाडि घस्रिने रफ्तार बढिर हे को छ । कमजोर पारिएको कानूनी शासन, नियन्त्रण र सन्तुलनका संयन्त्रहरूको क्षमतामा आएको क्षय, सर कार र ने ताहरूमा एकाधिकार प्रतिको मोहर झुकाव, अनावश्यक राजनीतिक ध्रुविकरण, राज्य वा सरकारप्रति बढिरहेको नागरिक अविश्वास र अन्तराष्ट्रिय सम्बन्धहरूमा गर्न थालिएको व्यक्ति केन्द्रित परिभाषाका कारण लोकतन्त्र पछाडि घस्रिन थालेको हो ।
त्यसैगरी सरकारी निर्णयहरूलाई जटिल पार्नु पनि लोकतन्त्र पछि धकेलिनुको कारक हो । सरकारका निर्णयहरू जटिल बनाउनुको कति महत्त्व छ । जटिल निर्णयहरू आम मानिसले सहजै बुझ्दैनन् । नत आफूमाथि ती निर्णयहरूले पार्ने प्रभाव नै आङ्कलन गर्न सक्छन् । चुनावी वैधतालाई दलीय शासन गर्ने हतियार ठान्नु; शासन, राज्य र राजनीतिलाई निजी व्यावसायिक (कर्पोरेट) बनाउनु नै हो । यस्ता गतिविधिले लोकतन्त्रलाई पछाडि धकेल्दै भीरको बाटोतिर लगिरहेको प्रष्ट छ ।
दर्शकदीर्घामा रहेका नेताका आज्ञा पालकहरू ‘जाने दो गुरुजी, अब जाने दो’ भनिरहेका छन् । तिनीहरूले भीरबाट लडेपछि पनि जयजयकार मनाइरहने छन् । उस्तै परेछ भने हामीले त भनेकै हो भनेर गुरुजीकै थाप्लामा हालिदिने बाहेक केही गर्नेवाला छैनन् ।
लोकतन्त्रको जे जति र जतिसुकै ठुलो स्वरमा दुहाइ दिएपनि नेपालमा लोकतन्त्र दिनहूँ झन्–झन् पिलन्धरे हुँदै छ । दलहरूका सीमित नेता, तिनका आसेपासे कार्यकर्ताले सीमाहीन स्वच्छन्दता उपभोग गरि रहेको सत्य हो ।
आधुनिक राजनीतिको समयानुकूल सोच र सिद्धान्तहरूमा मानवीयता परावर्तनको प्रभाव र वैयक्तिक अधिकारहरूको सुनिश्चयका कसीमा हेर्ने हो भने नेपालको लोकतन्त्र धेरै नै कमजोर, उद्देश्यहीन र संकटहरूको गम्भीर प्रहार पर्खिरहेको छ भन्न सकिन्छ ।
तुलनात्मक अध्ययनबाट जाँच्दा नेपाल अधिकांश कमजोर राजनीतिक नेतृत्वका साँघुरा सामाजिक दृष्टिकोणहरूले घाइते हुँदै आएको राज्य हो । राजा त्रिभुवनसँगको मनोगत दृष्टिकोण अति विश्वास र अति आशंकाजन्य सम्बन्धको धुमिल छायामा नेपाली कांग्रेसले आफ्नो वैचारिक धार स्पष्ट पार्न सकेन । वीपी कोइराला विलक्षण प्रतिभायुक्त थिए भन्ने कुरामा कुनै शंका छैन ।
तर त्यसबेला उनका विलक्षण राजनीतिक सोच, चिन्तन वा दृष्टिकोणहरूलाई संग्रहण गर्न सक्ने सामाजिक संरचना र चेतना विकसित भइसकेको थिएन । धर्म, संस्कृति र उनमा रहेको आन्तरिक सत्यबोधहरूका सार्वजनिक आयाम केलाउन नसक्ने समाजमा उनै अत्याधुनिक ठहरिए ।
त्रिभुवनको मृत्यपछि राजा महेन्द्रमा संरचनात्मक अभिमान र अतिआत्मविश्वासले निर्देशित व्यक्तिगत आकांक्षा र वीपीको राजनीति, सांगठनिक शक्ति र अन्तर्राष्ट्रिय व्यक्तित्व टक्कराउनु कसैलाई चित्त नबुझे पनि समकालीन समाजमा अवश्यम्भावी बन्न पुगेको थियो ।
नेपाली कांग्रेस, खासगरी वीपीका अभिव्यक्ति, औपचारिक दस्तावेज, नेपाली कांग्रेसको संगठनमा संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रप्रतिको प्रतिबद्धताको गहन परीक्षणपश्चात् राजा महेन्द्र २०१५ सालको चुनाव गराउन तयार भए ।
विसं. २०१५ मा चुनाव सम्पन्न भएपछि संसद्मा नेपाली कांग्रेसले दुइतिहाइ बहुमत प्राप्त गर्यो । वीपी कोइरालाको नेतृत्वमा सरकार बन्यो । अनुभवहीन प्रजातन्त्रिक सरकारका स्वाभाविक कमजोरी र संवैधानिक छिद्रका आधारमा २०१७ पुसमा राजा महेन्द्रले संसदीय व्यवस्थामाथि प्रतिबन्ध लगाउँदै राजाज्ञाबाट चल्ने शासन सुरु गरे ।
राजा महेन्द्रको निरंकुश चाहनाका विषयमा प्रशस्तै लेखिएका छन् । तर स्थापित प्रजातन्त्र टिक्न नसक्नुका आन्तरिक कारण पनि थिए भन्ने खोजिएन । संसदीय प्रजातन्त्रमा अभ्यास गरिने दलतन्त्र त्यसप्रति समाजको प्रतिक्रियाहरूमाथि लोकतान्त्रिक ढंगले विश्लेषण नै भएन । अन्ततः राजाज्ञाबाट संचालित शासन व्यवस्था
२०४६ सम्म जारि रह्यो ।
करिब तीस वर्षको निर्दलीय शासनको अवधिमा राजाले शासन गरेर गल्ति पनि गरे । निर्दलीय पंचायती व्यवस्थामा पंचहरू राजाज्ञाको अनुसरण र पालना गर्ने गराउने साधन मात्र थिए । पञ्चहरू न ठूलो दोषका भागिदार भए न त उनीहरूले सफलताको श्रेयमाथि दाबी नै गरे । अन्ततः २०४७ सालमा बहुदलीय व्यवस्थाको पुनस्र्थापना भयो ।
राजाज्ञाबाट चल्ने शासन कुना पस्यो । तर जुनसुकै कोणबाट हेरिए पनि २०४७ देखि हालसम्म पनि नेपालको संवैधानिक राजतन्त्र भएको प्रजातान्त्रिक वा राजतन्त्रविहीन लोकतान्त्रिक गणतन्त्रकालमा पनि राजतन्त्रकालका प्रथाजनित दुष्कर्महरूकै निरन्तरता प्रमाणित भइरहेको छ ।
राजा वंशानुगत थिए, नेताहरू संगठनात्मक छन् । राजाले दैवी अधिकारको दाबी गर्थे, नेताहरूले सैद्धान्तिक ठेक्काको दाबी गर्छन् । राजाहरू प्रजा भन्थे नेताहरू कार्यकर्ता, कारिन्दा, समर्थक वा अनुयायी भन्छन् । पदवी नेताको, व्यवहार राजाको नक्कल गरिएको वर्तमानमा हामीले भोगिरहेको लोकतन्त्रको चित्रमा आकाश–जमिनको भिन्नता कायम राखेर चरित्रमा यथावत् छ र ब्याकस्लाईडिङ भइरहेको छ ।
धेरै मानिसहरू भन्छन्, समस्या नेताहरूमा छ ...
नेताहरूमा पनि समस्या छ र स्थापना गरिएका संरचनात्मक अवयवहरू आफै संकटग्रस्त पनि छन् । प्रदेशहरू पंचायतकालीन अंचल जस्तै देखिन्छन् । वासुकी नागले भीमसेनलाई हजार हात्तीको बल दिएझै २०७२ को संविधान निर्माताहरूले स्थानीय तहलाई हजार हात्तीको सामर्थ्य दिएका छन् । यसो गर्नुको खास तात्पर्य अनिच्छामा ग्रहण गरिएको संघीयताको भ्रुणलाई अपांग जन्माउनु हो ।
राजनीति गर्ने मानिसहरूको ज्ञानको दायरा तल झर्दै झर्दै निष्काम कर्ममा पुगेको छ । गीतामा भनिएको निस्काम कर्मले व्यक्तिगत लाभ त्याग गर्छ । तर प्रदेश सरकार वा संसद्ले निजी लाभ ग्रहण गर्दै सार्वजनिक लाभका हकमा निष्काम कर्मको दर्शनशास्त्र पछ्याएका छन् ।
‘कर्मण्ये वाधिकारास्ते मा फलेषु कदाचन’ प्रदेशहरू र केन्द्र पनि फलले गर्ने सार्वजनिक हितप्रति भने पूरै निरपेक्ष देखिन्छन् । कुनै काम नगर्नु वा कुनै संरचनामा कामविहीन सक्रिय रहनु राजनीतिक गर्ववोधको विषय हुने गर्दछ । प्रधानमन्त्री, मन्त्री वा पार्टी अध्यक्षहरू मात्र होइन, कार्यकर्ताहरू पनि अंग्रेजीमा भनिने भेनग्लोरियस छन् ।
अब त बेहुलाले पनि दलको आइडेन्टिटी कार्ड घाँटीमा भिरेरै जग्गेमा बस्ने दिन आउँछ कि के हो ? मानिसहरू प्रश्न गर्न थाले का छन् । भेनग्लोरियसको अत्युत्तम नमूनाका रूपमा प्रधानमन्त्री खड्गप्रसाद ओलीको चीन भ्रमणका क्रममा गरिएका अतिशयोक्तिले भरिएका प्रचारहरूलाई लिन सकिन्छ ।
श्रवण शर्मा
आफैले आफैलाई र अनुचरहरू लाएर अति प्रशंसा गर्नु अनि त्यसमा घमण्डको उन्मादले व्याकुल हुनु नै भेनग्लोरियस हुनु हो । नेपालीमा एउटा छोटो वाक्यांश छ मटक मार्नु । यसको अर्थ हुन्छ अतृप्तिबाट पैदा भएको छटपटीलाई तृप्तिले समन गर्नु ।
प्रधानमन्त्री खड्गप्रसाद ओलीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग गरेको भेटलाई ओलीका लागि ब्यूह रचनाकारहरूले लेनिन, स्टालिन भेट्न नपाएको अतृप्तिको मटक पुटिनसँगको भेटबाट मारिरहेको जस्तो देखाइ रहेका छन् । यसबाट देखिन्छ, मनोविज्ञानमा जमेको हीनताबोध पदको गरिमाले पखाल्न सकेको हुँदैन ।
नेपालको राजनीतिक नेतृत्व हीनताबोधबाट यति ग्रस्त छ, उसले आफ्नै स्वाधीन उपस्थितिप्रति आफै शंका गर्दछ । नेतृत्वका लागि केही गुण त निःसन्देह हुनै पर्दछ । संकट सामनाको क्षमता, सहयोगका लागि कृतज्ञता, राजनीतिक साहस, समकालीन समाजमा उच्च नैतिक स्तर, अरूहरूलाई प्रभाव पार्न सक्ने कला, सामूहिक प्रभावकारिताको खोजी, बुझ्न लाज नमान्ने उदार दृष्टिकोण, अनुभवका कसीमा जाँचिने दुरदृष्य, सहनशीलता र सहअस्तित्व भाव, आत्मसावधान जस्ता गुणस्तर मापनका संकेतहरू हुन् । जसलाई गंभिरतापूर्वक विचार गरियो भने नेतृत्व कस्तो देखिन्छ ? त्यसको बदलामा चातुर्य, छल, कपट, असहिष्णु, एकांगी, आलोचनाहरूबाट बाहिर रहन रुचाउने र शकुनि चालले राजनीति चलाउने प्रचलन व्याप्त छ ।
राजाज्ञाबाट नेताज्ञामा परिवर्तित राजनीतिको केन्द्रमा कतै एन्ने एण्ड ग्रीन ग्याबल्स उपन्यासकी पात्र एन्ने सर्ली जस्तै नबिसाई बोल्ने , कतै जति प्रश्न सोधे पनि सगर राजाका पुत्रहरूलाई कुनै जवाफ नदिने रुखका फेदमा ध्यानमग्न र अवाच्य कपिलमुनि पाइन्छन् ।
जीवनको उत्तरार्द्धमा विगतका स्मृतिहरू विस्मृतिमा जाँदाजाँदै वर्तमानका दायित्वहरू मानसपटलका केन्द्रीय तन्तुहरूको परिधीय सीमाबाहिर पुदछन् । बिडम्वना नै यही हुन्छ कि ज्ञानलाई जित्ने उमेर, संगठन, इतिहास, पद, सम्पत्ति, अनुयायीहरूजस्ता तत्त्वहरू राजनीतिमा सक्रिय हुन्छन् । जुनकुरा अहिले को राजनीति र नेताहरूसामु देखिँदै छन् ।
यही समयमा नेपालको राजनीतिमा अर्को एउटा ठूलै ज्याम्वोरी (उत्सव) आइरहेको छ, नेकपा—एमाले विधान अधिवेशन । निःसन्देह छ, सी जिनपिङ, भलादिमिर पुटिन र नरेन्द्र मोदीसँगको ओली वार्तालाप विधान महाधिवेशनको सेलिब्रेटी इस्यु हुने छ, लगभग पक्का छ । जुन मनोवैज्ञानिकरूपमा अधिवेशन प्रतिनिधिहरूको चाख, चासो , लोभ र त्रास सबैको कारण बन्ने छ ।
सत्य हो, नेपाली राजनीतिले रेलमा चपाति बेच्नेको कला सिकिसकेको छ । चपाति बेच्नेले भन्छ, चाखेर त हेर्नुस्, राजा महाराजाले पनि यही हातले बनाएका चपाति खाएका छन् । राजामहातराजाले खाएको चपाति नखाने तपाईं कहाँको को हो ? प्रश्न त्यहाँबाट सुरु हुन्छ ।
फकल्याण्डको युद्ध लडेका एकजना लाहुरे हाम्रो गाउँ पंचायतमा प्रधानपंचको चुनाव लडेका थिए । त्यसबेला प्रधानपंच कमै भनिन्थ्यो लोकप्रिय भाषामा पंचप्रधान भनिन्थ्यो । जे भनिए पनि उनी चुनाव लडेका थिए । उनको भोट माग्ने शैली गज्जबको थियो । उनी भन्थे , फकल्याण्डको युद्ध लडेको मान्छे हूँ, मलाई भोट नदिई कसलाई दिन्छौ ? त्यसैले ज्याम्वोरीमा प्रश्न गरिने छ पुटिन, सी र मोदीलाई एकै पटक एकै ठाउँ भेट गर्ने अर्को कुन माइकालाल छ एमालेमा ?
देशका समकालीन एजेण्डा, कमजोर शासन व्यवस्था, बढ्दो महंगी, महंगीको मारले बढाइरहेको गरिबी, कृषि, वातावरण समस्या, निर्यात शिथिलीकरण, श्रमसम्बन्धका जटिलता, आर्थिक र राजनीतिक संकट, दिग्भ्रमित हुँदै गएको विदेश सम्बन्ध भेनग्लोरिस्टहरूका लागि ध्यान दिन योग्य विषय नै होइनन् ।
‘नेता नाम नेतिनाम चैव वचनम् चैव लंघयेत्, संसदीय प्रजातन्त्र पार्टी नेतैव ईश्वर’ धन्य हुन् व्यंग्यकार भैरव अर्याल । राजाज्ञाबाट नेताज्ञामा अभ्यस्त हुन पुगेको राजनीतिले गएका ३६ वर्ष (२०४७-८२) ले राजनीतिका मौलिक मूल्य मान्यता र दृष्टिकोणमा ठुलै परिवर्तन ल्याइसकेको छ ।
नेताहरूले बारम्बार भन्ने गर्छन् नि बागमतीमा धेरै पानी बगिसक्यो, बागमतीमा कति पानी बग्यो हाइड्रोलोजिष्टले नापेका होलान् नै तर राजनीतिको मूल्य कुन गतिमा स्खलित भयो वा हुँदैछ त्यो चाहिँ आम मानिसले गणना गरेर बसिरहेका छन् ।