भैरहवा, १८ भदौ - रुपन्देहीमा पछिल्ला तीन दिनभित्र प्रहरीले लागूऔषधसहित तीनजनालाई पक्राउ गरेको छ । पक्राउ परेकामा कोटहीमाई गाउँपालिका वडा नम्बर ५ घर भई हाल सिद्धार्थनगर नगरपालिका वडा नम्बर २ बस्ने २६ वर्षीय इरफान अन्सारी, सिद्धार्थनगर वडा नम्बर १, बाइपास बस्ने २६ वर्षीय प्रेमलाल यादव र रोहिणी गाउँपालिका वडा नम्बर ६, ललितपुर पकडिहवाका ३५ वर्षीय इरसाद प्रवेज रहेका छन् ।
प्रहरीले पहिलो कारबाही इरफान अन्सारीको घरमा गरेको थियो । लागूऔषध कारोबार गरिरहेको भन्ने सूचनाका आधारमा लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र प्रहरी चौकी मेउडिहवाबाट खटिएको संयुक्त टोलीले अन्सारीको घरमा खानतलासी गर्दा एक ग्राम ७३० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने खैरो पदार्थ बरामद गरेको थियो ।
त्यसपछिको कारबाहीमा प्रेमलाल यादवलाई इलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको टोलीले सिद्धार्थनगर वडा नम्बर १, बन्दरगाह क्षेत्रमा चेकजाँच गर्दा एक ग्राम ०३ मिलिग्राम लागूऔषध फेला पारेको हो । उनको साथबाट प्रहरीले लु.प्र.०१–००१ प १३५१ नम्बरको मोटर साइकल, एक स्मार्ट मोबाइल र एक की–प्याड मोबाइल पनि बरामद गरेको छ ।
तेस्रो र सबैभन्दा ठूलो कारबाही रोहिणी गाउँपालिका वडा नम्बर ६ ललितपुर पकडिहवाका इरसाद प्रवेजमाथि भएको हो । लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा लागूऔषध नियन्त्रण ब्यूरो भैरहवा र इलाका प्रहरी कार्यालय धकधईबाट खटिएको टोलीले प्रवेजलाई ओमसतिया वडा नम्बर ४, पननीबाट पक्राउ गरेको हो ।
उनी चलाइरहेको यूपी ५६ एएक्स ८१३४ नम्बर को मोटर साइकलको बायाँतर्फकोले गार्डमा कालो प्लास्टिकले बेरी राखिएको अवस्थामा २९३ एम्पुल लागूऔषध फेला परेको हो ।
प्रहरीका अनुसार बरामद गरिएका लागूऔषधमा डायजेपाम इन्जेक्सन आईपी २ एमएलका ९८ एम्पुल, बुप्रेनोर्फिन इन्जेक्सन आईपी २ एमएलका ९६ एम्पुल, र प्रोमेथाजिन हाइड्रो क्लोराइड इन्जेक्सन आईपी २ एमएलका ९९ एम्पुल रहेका छन् ।
साथै प्रवेजको घरमा थप खानतलासी गर्दा उनी सुत्ने कोठामा रहेको गहुँ राख्ने टिनको भकारीभित्र कालो प्लास्टिकमा बेरी लुकाएर राखिएको १० लाख २० हजार नगद रुपैयाँ बरामद गरिएको छ । साथै , स्पास्मो क्याप्सुल दु्ई सय ६० थान, एक मोटर साइकल र एक मोबाइलसमेत फेला परेको प्रहरीले जनाएको छ ।
रुपन्देही प्रहरी प्रवक्ता डीएसपी सुरज कार्कीका अनुसार पक्राउ परेका तीनै जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान थालिएको छ । प्रारम्भिक अनुमानअनुसार बरामद नगद रकम लागूऔषध कारोबारमा संलग्नता रहेको शंकामा जफत गरिएको हो । उनीहरूमाथि लागू–औषधसम्बन्धी ऐनअनुसार मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको छ ।