नेभिगेशन
दृष्टिकोण

जोगाऔ जूनकिरी

हाम्रो गाउँठाउँमा छ्यासछ्यास्ती देखिने धेरै कुरा हराए, मासिए । रुख, विरुवा, जंगल मासिए । चरा मासिए । कीरा–फट्यांग्रा मासिए । हाम्रै गाउँठाउँमा भएका कैयौं कुरा हाम्रै आँखाअगाडि बिलाएको हामीलाई थाहा छ । बिलाउने क्रममा रहेको कीरा–फट्यांग्रामध्ये एक हो– जूनकिरी ।

प्रायः बुढापाकाहरू केटाकेटी हुँदा शिशीमा जूनकिरी थुनेर राखेको स्मरण सुनाउँछन् । त्यो नेपालमा मात्र होइन, विश्वव्यापी चलन नै रहेछ । विदेशमा पनि केटाकेटीहरूले जूनकिरीलाई शिशीमा राखेर रमाइलो गर्ने गर्छन् ।

जूनकिरी मांसाहारी किरा हो । यसले चिप्लेकिरा र गँड्यौला खान्छ । केही प्रजातिले पराग मात्र खान्छन् । जूनकिरीको उमेर छोटो हुन्छ– लार्भाको उमेर १ देखि २ वर्षसम्मको हुन्छ । जूनकिरीले उष्ण मौसम तथा क्षेत्र मन पराउँछ । एन्टार्कटिकाबाहेक सबै महादेशमा जूनकिरी पाइन्छ ।

जूनकिरी विशेषगरी वन क्षेत्र, सिमसार, खोलालगायतका ओसिला ठाउँहरूमा हुन्छ । आद्र मौसममा हुने जूनकिरी प्रायः रुखमा बस्छ, तर केही प्रजाति पानीमा पनि बस्छन् । जूनकिरीको पर्यावरणमा आफ्नै महत्त्व छ । साना किराहरूलाई आहार बनाउने जूनकिरी लाटोकोसेरो र चमेरोको पनि आहार हो । बढ्दो शहरीकरणका कारण यी चराहरू पनि अब जंगल र एक्ला स्थानमै सीमित भएका छन् ।

जूनकिरीले एकआपसमा बत्तीको माध्यमले सञ्चार गर्छ । पोथीलाई आकर्षित गर्न, आफ्नो क्षेत्र निर्धारण गर्न तथा खतराबाट जोगिन बत्तीको उपयोग गर्छ । केही प्रजातिमा भालेले मात्र बत्ती बाल्छ; प्रायः प्रजातिमा दुवैले बत्ती बाल्छन् ।

भाले प्रायः उड्ने गर्दछ भने पोथी रुख, पात, वा घाँसमा बसेर मनपरेको भालेको प्रतीक्षा गर्छ । उसले कुनै भालेलाई मन परायो भने आफ्नो बत्तीमार्फत त्यसको संकेत गर्छे । जूनकिरीले बत्तीको सहायताले आहार खोज्ने गर्छ । जूनकिरीको बत्तीमा अरू किराहरू आकर्षित हुन्छन्, र त्यही बेला जूनकिरीले तिनलाई आहार बनाउँछ ।

जूनकिरीको बत्ती ‘शीतल बत्ती’ हो । अरू बत्तीले ताप सिर्जना गर्छन्, तर जूनकिरीको बत्तीमा ताप हुँदैन, त्यसैले यसलाई शीतल बत्ती भनिन्छ । यसको पुच्छरमा दुईवटा रसायन हुन्छन्,– लुसिफेरेस र लुसिफेरिन ।

लुसिफेरेस एक प्रकारको इन्जाइम हो, जसले प्रकाश दिन्छ । जूनकिरीको शरीरमा हुने एडेनोसिन ट्राइ फस्फेट (एटीपी) नामक रसायनले ऊर्जा रूपान्तरण गरेर प्रकाश उत्पन्न गर्छ । एटिपी जूनकिरीमा मात्र नभई सबै प्राणीमा हुन्छ । जूनकिरीको अण्डा पनि चम्किलो हुन्छ । केही प्रजातिको अण्डालाई हल्का चलाउँदा वा थर्काउँदा चम्किलो हुने गर्छ ।

जूनकिरीले एकअर्काको नक्कल पनि गर्ने गर्छन् । पोथी जूनकिरीले मात्र होइन, भाले जूनकिरीले पनि पोथीलाई आकर्षित गर्न एकअर्काको नक्कल गर्छन् । रोचक के छ भने– भाले जूनकिरीले पोथीको नक्कल गरेर अरू भालेलाई झुक्याउने गर्छ । यी सबै प्रक्रिया बत्तीमार्फत नै हुन्छन् ।

जूनकिरीमा हुने रसायन क्यान्सर तथा मस्कुलर डिस्ट्रोफीलगायतका रोगहरूको अध्ययनमा उपयोगी हुन्छ । जूनकिरीको रसायन प्रयोग गरेर बनेको विद्युतीय डिटेक्टर अन्तरिक्ष यानमा जडान गरेर अन्तरिक्षमा जीवको सम्भावना अध्ययन गरिन्छ ।

जूनकिरीले हानिकारक किराहरू खाइदिने हुँदा यसलाई गुणी किरा मानिन्छ । साथै, यसले बालीलाई रोगबाट बचाउन मद्दत गर्छ । जूनकिरी स्वच्छ पानीको स्रोतमा पाइने हुँदा यसले पानीमा स्वस्थ वातावरण रहेको सन्देश दिन्छ ।

विश्वमा दुई हजार प्रजातिका जूनकिरी पाइन्छन् । नेपालमा कति प्रजातिका छन् भन्ने अध्ययन नभए पनि धेरै प्रकारका जूनकिरी पाइन्छन् । विज्ञहरूका अनुसार जूनकिरी हराउँदै जानुका मुख्य तीन कारण छन्; वासस्थानको विनाश; विषादीको अत्यधिक र लापरवाह प्रयोग; र कृत्रिम उज्यालोका कारण हुने प्रकाश प्रदूषण ।

कृत्रिम बत्तीको उज्यालोले जूनकिरीको प्रकाशलाई ढाकिदिन्छ, जसले गर्दा उसले आफ्नो जीवनचक्र पूरा गर्न सक्दैन । खेतबारीमा प्रयोग हुने विषादीले यसको संख्या दिनप्रतिदिन घटाइरहेको छ । जूनकिरी हराउनुको अर्को कारण हो, शहरी बत्ती ।

पहिले जंगल, सिमसार, खर्क, चउर भएका ठाउँमा हामीले बस्ती बसायौं । अनि ती स्थानमा बस्ने प्राणीहरू अन्यत्र लागे । जूनकिरीको हकमा पनि त्यही भयो । वनजंगल भनेको अन्य प्राणीको वासस्थान हो । तिनको स्थान मानिसले अतिक्रमण गर्दै गयो । तिनलाई पनि बस्ने ठाउँ दिनुपर्छ भन्ने जैविक विविधता जोगाउने सोचअनुसारको योजना भएन । त्यसो नहुँदा धेरै प्राणीहरू हराउँदै गए ।

जूनकिरीका लार्भा स्वच्छ नदी वा पानीका स्रोतमा हुर्कन्छन् । अचेल नदी प्रदूषित हुँदा जूनकिरीको संख्या घट्दै गएको हो । वायु प्रदूषणले पनि कीरा–फट्यांग्राको संख्या घटाउँदै लगेको बताइन्छ ।

‘गाउँघरमा पनि विषादीको प्रयोग हुने गरेको छ, तर त्यहाँ वायु प्रदूषण नहुँदा जूनकिरीको संख्यामा ठूलो असर परेको देखिँदैन’, चमेरोमा अनुसन्धान गरिरहेका सञ्जन थापा भन्छन्, ‘शहरी क्षेत्रमा भने अरू प्रदूषणसँगै वायु प्रदूषणका कारण जूनकिरीको संख्या घट्दो देखिन्छ ।’

हराउँदै गएको किराको सूचीमा जूनकिरी मात्र छैन । फट्यांग्रा, मौरी, बारुला, अरिंगाल, ग्रोब्रेकिरा, पुतली, झ्यालिन्चा पनि छन् । पर्यावरणीय चक्र सन्तुलित राख्न सबै किराको आफ्नै महत्त्व हुन्छ ।

एउटा किरा विनाश हुनु भनेको पर्यावरणीय सन्तुलन खल्बलिनु हो । एकातिर आदिम कालदेखि अस्तित्वमा रहेका किराहरू हराउँदै गएका छन् भने, अर्कातिर लामखुट्टे, झिँगालगायतका विनाशकारी किराहरूको जगजगी बढ्दो छ । यदि हामीले संरक्षणमा वास्ता नगर्ने हो भने, भोलिका दिनमा झिँगा र लामखुट्टेबाहेक केही पनि बाँकी हुँदैन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप दृष्टिकोण