एउटा पुरानो भनाइ छ, ‘धेरै पढे बौलाइन्छ ।’ पिताजी गीता कहिल्यै नपढ्न भन्नुहुन्थ्यो । गीता पढ्ने मान्छेलाई कतैकतै ‘तर्कबाज’ वा ‘बौलाहा’ अझै पनि भन्छन् । जसले किताब पढ्दैन, प्रश्न गर्दैन, सत्य खोज्दैन, उसलाई समाजमा ‘सज्जन’ र ‘व्यावहारिक’ भनिन्छ । तर सनातनी समाजमा जिज्ञासा राखेर प्रश्न गर्ने अराजक र विद्रोही मानिन्छ ।
टाढा जान पर्दैन, नेपाली समाजमा पनि यही रोग व्याप्त छ । माओवादी अध्यक्ष प्रचण्डले खुलेर भनेका थिए, ‘धेरै पढ्यो भने मान्छे बिग्रिन्छ ।’ सायद त्यो भनाइ डा. बाबुराम भट्टराई लक्षित थियो । केपी शर्मा ओलीले पनि त्यस्तै भनाइ दोहोर्याए । जब उनका कार्यशैली वा हितअनुरूपका निर्णयमाथि प्रश्न उठ्यो, उनले कटाक्ष गरे । यस्तो धारणा केवल व्यक्तिगत होइन, सत्ता र समाजको मानसिकताको ऐना हो ।
हरेक सत्ता चाहन्छ– नागरिक र कार्यकर्ताहरू कम पढून्, कम सोचून् । बरु आज्ञाकारी बनून्, प्रश्न नगरून् । किनभने पढाइ र ज्ञानले मान्छेलाई प्रश्नकर्ता बनाउँछ, अनि प्रश्नकर्ताले चापलुसी गर्दैन । नेता मान्छ, मालिक मान्दैन । तर, आस र त्रासले बाँधिएका डिग्रीधारीहरू पनि आफ्ना विवेक सत्तासामु समर्पण गर्छन् ।
अहिले माओवादीमा आन्तरिक खजवज देखिन्छ भने, एमालेमा विधान संशोधन अधिवेशन सकियो । शासकहरू सधैं त्रासमा रहेर पनि शक्तिशाली लेखिनुपर्छ । त्यसैले हितअनुसार नीति बनाएर आफूलाई सुरक्षित गर्न खोज्छन् । त्यहाँ प्रश्न र बहस निषेध वा सीमित गरिन्छ । अझ नेपालमा सल्लाहकार भनेको मानार्थ पद मात्र हो । कार्यकारीले उनीहरूको सल्लाह आवश्यक ठान्दैन ।
म आफैं पनि नेकपा (माओवादी) र सरकारमा सञ्चार मन्त्रालयको सल्लाहकार रहें । प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका राजनीतिक सल्लाहकार राजनीतिक शास्त्री प्राध्यापक कृष्ण खनालले छ महिनासम्म कुनै सल्लाह दिनु नपरेपछि अध्यापनमै फर्कनुपरेको थियो ।
नेपालमा सल्लाहकारलाई सरकारी सुविधा त दिइन्छ, तर वास्तविक दायित्व निर्वाह गर्ने अवसर भने दिइँदैन । अहिले त एमालेको विधान अधिवेशनमा सल्लाहकारको कुरा त परै जाओस्, भिन्न मत राख्ने ठूला नेताहरूको समेत दुर्गति भयो र ‘जनवाद’ को अभ्यास देखियो । मूल नेतृत्वमा पुराना नेताहरूलाई विस्थापित नगराई स्थापित भइँदैन भनेर इतिहाससँग बदला लिएको झलक पनि देखियो । ‘या त स्वीकार नत्र खस्क’ भन्ने मनोत्रास छरियो ।
सल्लाहकार र इतिहासको शिक्षा
सल्लाहकार भनेको शासकको तेस्रो नेत्र हुनुपर्ने हो । अहिले योग्य कूटनीतिज्ञ वा विदेशी मामलाका दक्ष सल्लाहकारको अभावले परराष्ट्रनीतिमा समस्या लिपुलेक प्रसंगमा देखियो ।
यसको दीर्घकालीन असर पर्छ । महाभारतमा राजनीति र मनोविज्ञानको सुन्दर चित्रण छ । महाभारतमा विदुर काल्पनिक पात्र हुन् भने युरोपको पुनर्जागरणमा निकोलाई म्याकियावेली उत्कृष्ट सल्लाहकारका रूपमा सम्झिन्छन् । विदुर सत्य र धर्ममा आधारित नीति सल्लाह दिन्थे भने म्याकियावेली व्यवहारिक सत्तानीतिका प्रवक्ता थिए । तर दुवैको साझा सन्देश एउटै छ– शासकले विवेकपूर्ण सल्लाह अस्वीकार गर्दा अन्ततः विनाश भोग्छ ।
धृतराष्ट्रले विदुरको चेतावनीलाई वास्ता गरेनन् । उनले अन्याय र दुर्योधनको स्वार्थलाई समर्थन गरे, सत्य बोल्ने विदुरलाई शत्रु ठाने । परिणामस्वरूप महाभारत युद्ध भयो, लाखौँको विनाश भयो, राज्य र वंश पतन भयो ।
कौरव दरबारमा सयौं चापलुसी गर्ने सल्लाहकारहरू थिए । सत्य बोल्ने आँट उनीहरूमा थिएन । तर सत्य बोल्ने विद्वान् केवल विदुर थिए । उनले चेतावनी दिएका थिए– ‘अन्याय र दुष्टताले अन्ततः विनाश ल्याउँछ ।’ तर धृतराष्ट्रलाई सत्ताको अहंकारले सत्य सुन्न चाहेनन् । विदुरनीति सत्ता–अहंकारको त्रासदी हो ।
महाभारत केवल युद्धको कथा मात्र होइन, यो सत्ता–संघर्ष, नैतिक मूल्य र विवेक–अविवेकको दस्तावेज पनि हो । धृतराष्ट्र जन्मजात अन्धा मात्र थिएनन्, उनी सत्ताको मोह र पुत्रप्रेममा पनि अन्धा बने । आफ्नै कमजोरी ढाक्न उनले आफैंलाई सर्वज्ञ ठाने । त्यसैले, सल्लाहलाई सहयोग होइन, षड्यन्त्र ठाने ।
विदुर ज्ञान, नीति र विवेकमा पारंगत थिए । उनले धृतराष्ट्रलाई सधैं सच्याउन खोजे– अन्याय नगर्नु, प्रजाको पक्षमा उभिनु, लोभ–क्रोध नियन्त्रण गर्नु, न्यायलाई सर्वोपरि राख्नु। तर धृतराष्ट्र सत्य सुन्न चाहन्नथे । बरु मीठा झूट र चाटुकारमै रमाउँथे ।
विदुरको सन्देश अझै जीवित छ– ‘सत्यका लागि बोल्न डराउनु हुँदैन, र शक्तिको मोहमा सत्य अस्वीकार गर्नु शासकको सबैभन्दा ठूलो दुर्बलता हो ।’
नरेन्द्रजंग पिटर
म्याकियावेलीको पीडा
म्याकियावेलीले ‘द प्रिन्स’ मा चेतावनी दिएका थिए । शासकले शत्रु र मित्र छुट्याउन नसक्दा, सत्ता सन्तुलन गर्न असफल हुँदा, विवेकहीन सल्लाहकारको चाटुकारिताले भरिँदा, राज्य टिक्दैन । उनका सल्लाहलाई फ्लोरेन्सले गम्भीरतापूर्वक नमान्दा, मेडिसी वंशले कुशल शासन गर्न सकेन र अन्ततः पतन भोग्यो ।
म्याकियावेली आफैं पनि राजनीतिक षड्यन्त्रको शिकार बने, कारागारमा यातना भोगे । उनले देखे–शासकहरू सत्य होइन, चापलुसी मन पराउँछन् । सत्य बोल्ने मानिस सधैं शंकाको घेरामा पर्छ, कहिलेकाहीं सजाय पनि भोग्नुपर्छ । धृतराष्ट्रले विदुरको सल्लाह समयमै मानेको भए, महाभारतको युद्ध टार्न सकिन्थ्यो ।
मेडिसीहरूले म्याकियावेलीको चेतावनी बेवास्ता नगरेको भए, उनीहरूको पतन ढिलो हुन सक्थ्यो । आज हामी यत्रतत्र–सर्वत्र आँखा भएका धृतराष्ट्र र सकुनी देखे पनि विदुर र म्याकायबेलीको मानकमा सल्लाहाकार भने देखिरहेका छैनौं ।
आधुनिक सन्दर्भ
मिथक होस् या इतिहास सत्ता र शासकको चरित्र भने निरन्तर दोहोरिरहन्छ । नेपालमा अन्य धेरै कारण भए पनि राजासँग सत्य बोल्ने आँट भएका सल्लाहकार नभएकै कारण, २०६२-६३ पछि राजतन्त्र समाप्त भयो ।
अमेरिकामा भियतनाम युद्धदेखि इराक युद्ध र गाजासम्म विवेकपूर्ण सल्लाह अस्वीकार गर्दा अमेरिकी साख संकटमा पर्यो । प्रजातन्त्रको र मानवअधिकारको सिपाही भन्ने अमेरिका गाजा नरसंहारमा रगतले हात रंगायो ।
अझ राष्ट्रपति ट्रम्पको अहंकारी नीति र अदूरदर्शी सल्लाहकारका कारण अमेरिकी प्रतिक्रियामा सांघाई सहयोग संगठन (एससीओ) नयाँ सामरिक शक्तिका रूपमा उदायो । मित्रहरूलाई घचेटेर अर्कौ क्याम्पमा पुर्याइदियो ।
आज पनि शिक्षा एउटै छ– ‘चाटुकारको भीड होइन, सत्य बोल्ने सल्लाहकार सुन्ने साहस जसले गर्छ, ऊ मात्रै दीर्घकालीन शक्ति र प्रतिष्ठा टिकाउन सक्छ ।’ पार्टीको जिवन्तता पनि स्वाभिमानी कार्यकर्तामा भर पर्छ । यदि सम्मेलनहरू केवल सहीछाप लगाउने मेलामा फेरिन्छन् भने त्यसको असर पार्टी मात्र होइन, देशले नै भोग्नुपर्छ ।
अन्त्यमा,
सत्तालाई चिन्ने भनेको शासकका वरिपरि को छन् भन्ने हो । वरिपरि रहेकाहरूले शासकलाई चाकरीमा रिझाएर भ्रष्ट बनाउन सके मात्रै आफ्नो भ्रष्टता र मनोकामना पूरा हुन सक्छ भन्ने हुन्छ । शासकको भनाइले तत्काल लोकप्रियता पाउन सकेपनि दीर्घकालीन असर बुझ्ने काम योग्य सल्लाहकारको दूरदृष्टिले मात्र गर्न गर्छ ।
आजका लागि सन्देश स्पष्ट छ– जब शासक शक्ति र पदमै गर्व गर्छन्, जब सत्य बोल्ने सल्लाहकारलाई शत्रु देख्छन्, जब न्यायलाई स्वार्थले कुल्चिन्छ, उनीहरू धृतराष्ट्रझैं आफ्नै वंश, समाज र राष्ट्रलाई विनाशतिर धकेल्छन् ।
धृतराष्ट्रले विदुरको सल्लाह समयमै मानेका भए, महाभारतको युद्ध टार्न सकिन्थ्यो । मेडिसीहरूले म्याकियावेलीको चेतावनी बेवास्ता नगरेको भए, उनीहरूको पतन ढिलो हुन्थ्यो होला । शासकको जब निजी स्वार्थ र दीर्घकालीन सत्तामोह अगाडि आयो भने उसले राज्यभन्दा आत्ममोह र अहंकारले विनाशतिर डोर्याउँछ ।
लोकप्रियताका बजारमा अन्धराष्ट्रवाद बिक्छन् र दीर्घकालीन प्रभाव वास्ता नगर्ने भक्तजनहरू भजन गाउन थाल्छन् । भिन्न मतलाई शासकहरूले नाकको घुस्सा ठान्न थाले भने सिर्जनात्मक आलोचकलाई पनि दुश्मन सोच्न थाल्छन् ।
तनको सुरुवात त्यही बेलादेखि हुन्छ । जब शासक विवेकको आवाज अस्वीकार गर्छन्, तब विनाश अनिवार्य हुन्छ । सत्ताले सधै ‘बुद्धिजीवी’ होइन, ‘मतियार’ खोज्छ । ‘सत्य वक्ता’ होइन, ‘मौन दर्शक’ मन पराउँछ ।
जसले किताब पढ्छ, इतिहास सम्झिन्छ, तर्क गर्छ, उसलाई ‘अपराधी’ वा ‘विवादास्पद’ भनेर पाखा लगाउँछ । असली खतरा चोर, भ्रष्ट वा अपराधी होइनन्; असली खतरा भनेका पुस्तक पढ्ने, सोच्ने, प्रश्न गर्ने , विमति राख्ने र बोल्ने मानिस हुन् । दोष केवल सत्तामा मात्र छैन ।
दोष समाजमै पनि छ । हामीले अझैसम्म ज्ञान र प्रश्नलाई सँगाल्ने संस्कार विकास गर्न सकेका छैनौ । प्रश्न यो हो– हामीलाई कस्तो समाज चाहिएको हो ? चापलुसी गर्ने हरूको समाज कि सत्य बोल्न सक्नेहरूको ? यदि हामीले उत्तर दिन डरायौ भने, हामी आफै पनि सत्ताले चाहेजस्तै ‘मौन दर्शक’ बन्नेछौ । समयमै चेतना भया ।