सुनसरी, २२ भदौ - इटहरीमा जबर्जस्तीकरणीको प्रयासको दुर्व्यवहारमा परेकी एक युवतीले जीवनरक्षाको अपील गरेकी छन् । पीडक पक्षले धाकधम्की र प्रलोभन दिएर मानसिक तनावमा दिएको भन्दै उनले त्यस्तो अपिल गरेकी हुन् ।
इटहरी बजारमा रहेको एउटा ज्वेलरी पसलमा सहयोगीको काम गर्ने उनलाई पसलेले दुर्व्यवहार गरेका थिए । घटनापश्चात उनले इलाका प्रहरी कार्यालय इटहरीमा जाहेरी दिएकी थिइन् । उनको जाहेरी परेपछि आरोपितविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।
त्यसपछि आरोपित फरार छन् । तर, उनको परिवार र निकटका व्यक्तिहरूले घरमा आएर पैसामा मुद्दा मिलाउन दबाब दिइरहेको पीडितको भनाइ छ । दबाबको कारण मानसिक तनावले घरमा सबै बिरामी भएको उनले बताइन् ।
आफूमाथि भएको अन्यायका लागि प्रहरीमा जाहेरी दिएपछि झन् समस्यामा परेको उनको गुनासो छ । लुकेर बसेका पीडकले पठाएका खबर र धाकधम्कीले परिवार चिन्तामा छन् । जाहेरी फिर्ता लिएर मुद्दा मिलापत्र गर्न धाकधम्की दिँदा आफू र परिवार असुरक्षित रहेको पीडितले बताइन् ।
‘दैनिक जसो नयाँ–नयाँ मान्छे हामीलाई खोज्दै आउने र सम्झाउने निहुँमा धम्कीको भाषा बोल्छन्,’ उनले भनिन्, ‘त्यसले हामीलाई डर चिन्ता भएकोछ ।’ पक्राउ पुर्जी जारी भएको जनाएको प्रहरीले आरोपितलाई पक्रन ढिला गर्दा पीडित परिवारलाई इटहरी प्रहरीको भूमिकामाथि शंका उब्जिएको छ ।
पीडक पक्षले पीडित र उनको परिवारलाई धाकधम्की र प्रलोभन दिइरहँदा प्रहरी प्रशासनले चासो नदिनुले प्रहरीको भूमिकामा शंका लाग्नु स्वभाविक भएको अधिकारकर्मी गंगाराम खत्वेले बताए ।‘ घटनाको छानबिन हुनुपर्छ, दोषीमाथि कार्बाही र पीडितलाई न्याय दिन ढिला गरिनुहुँदैन,’ उनले भने । आरोपित युवक विदेशी नागरिक भएको पनि शंका छ ।
उनको नेपाली नागरिकताको समेत छानबिन गर्नुपर्ने पीडित परिवारको माग छ । यता इलाका प्रहरी कार्यालय इटहरीले जबर्जस्तीकरणी उद्योग कसुरमा पीडकको खोजी भइरहेको र उनी फरार रहेको जनाएको छ ।