लामो समयदेखि मनोविज्ञान र सामाजिक अध्ययनहरूले मानिसको जीवनमा निराशा, असन्तोष र खुशीको स्तरलाई ‘पिङजस्तो वक्र’ (यु–शेप) को रूपमा वर्णन गर्दै आएका थिए ।
यसको अर्थ— बाल्य र किशोरावस्थापछि मानिस युवा हुँदा जीवनप्रतिको उत्साह उच्च हुन्छ, तर मध्य उमेरमा ठूलो निराशा आउँछ र वृद्धावस्थामा फेरि केही हदसम्म खुशी बढ्छ । तर पछिल्ला तथ्यांकहरूले यो ढाँचालाई उल्ट्याइदिएको देखाएका छन् । अहिले भने संसारभरका युवा पुस्ता नै सबैभन्दा बढी निराश र असन्तुष्ट देखिएका छन् ।
चकित पार्ने निष्कर्ष
अगस्ट २०२५ मा प्लस वन जर्नलमा प्रकाशित अर्थशास्त्री डेविड ब्लान्चफ्लावर, एलेक्स ब्रायसन र जियाओवेई झुको अध्ययनले यस्तो निष्कर्ष निकाल्यो । अध्ययनले संसारभरको तथ्यांक विश्लेषण गर्दै भनेको छ— ‘आजका किशोर र युवा पुस्ता अघिल्ला पुस्ताभन्दा बढी मानसिक संकटमा छन् ।’
सोधिएका प्रश्नहरू सरल थिए, ‘तपाईं आफ्नो जीवनसँग कति सन्तुष्ट हुनुहुन्छ? तपाईंलाई कस्तो महसुस हुन्छ?’ तर जवाफ गम्भीर थिए । विशेष गरी१८ देखि ३० वर्षका युवाहरू आफ्नो जीवनलाई सबैभन्दा नकारात्मक रूपमा वर्णन गर्दैछन् ।
ब्रायसनका शब्दमा, “हामीले खुशीको वक्र (यु–शेप) लाई स्की ढलान (स्की स्लोप) मा रूपान्तरण भएको देखेका छौं—जहाँ जीवन सुरुदेखि तल झर्छ ।”
अमेरिकामा नयाँ पुस्ता निराश
अमेरिकाको बिहेभिअरल रिस्क फ्याक्टर सर्भिलेन्स सिस्टम (ब्रिफ्स)को तथ्यांकले पनि यो तथ्यलाई पुष्टि गरेको छ । सन् २००९ देखि २०१८ सम्म दश वर्ष लामो अध्ययनले देखाएअनुसार मानसिक स्वास्थ्यका समस्या मुख्यतया मध्य उमेरका मानिसहरूमा देखिन्थे ।
सन् २०१९ पछि भने १८ देखि ३० वर्ष उमेर समूहका युवाहरूले आफूलाई मानसिक रूपमा बढी ‘निराश र कमजोर’ अनुभव गर्न थाले । यसरी, २०१९ देखि अमेरिकामा निराशाको केन्द्रबिन्दु मध्यम उमेरबाट सरेर युवा पुस्तातर्फ धकेलिएको छ ।
बेलायत र यूरोपमा पनि उस्तै
बेलायतको युके हाउसहोल्ड लंगिच्युडनल सर्भे र एनुअल पपुलेशन सर्भेले देखाएको चित्र पनि मिल्दोजुल्दो छ । त्यहाँ पनि ४० वर्ष नाघेका मानिसहरूमा निराशा क्रमशः घटिरहेको छ । त्यस्तै २० देखि ३० वर्ष उमेर समूहका युवाहरूमा भने दिनदिनै असन्तुष्ट बढ्दै जान थालेको छ ।
ग्लोबल माइन्ड प्रोजेक्टले ४४ देशमा गरेको सर्वेक्षणले एशिया, युरोप, ल्याटिन अमेरिका र मध्यपूर्वमा पनि यही ढाँचा देखाएको छ ।
किन बढ्दैछ निराशा ?
सन् १९६५ देखि १९८० बीच जन्मिएका जेनरेशन एक्स, सन् १९८१ देखि १९९६ बीच जन्मिएका जेनरेशन मिलेनियल्स तथा १९९७ देखि २०१२ का बीचमा जन्मिएका जेनरेशन जेडबीच तुलना गर्दा एउटा गहिरो अन्तर प्रस्ट देखिन्छ ।
बेबी बूमर्स अर्थात् जेनरेशन एक्सभन्दा पुरानाले आफ्नो किशोर र युवा जीवनलाई सामान्य वा सकारात्मक रुपमा बितेको बताएका थिए । त्यस्तै मिलेनियल्सले केही हदसम्म निराशा चाँडै अनुभव गरेका थिए । तर जेनजीले भने वयस्क जीवनको शुरुवात नै निराशाबाट गर्न थालेको छ । यसरी पुस्तागत हिसाबले निराशा तल तल झर्दै जान थालेकामा समाजशास्त्रीहरू चिन्तित हुन थालेका छन् ।
विज्ञहरूका अनुसार, नयाँ पुस्तालाई रोजगारी र भविष्यप्रतिको अनिश्चितता बढ्दै जान थालेको छ । विगतमा रोजगारीलाई मानसिक स्वास्थ्यको सुरक्षात्मक कारक मानिन्थ्यो । कामले आत्मसम्मान, स्थिरता र भविष्यप्रतिको आशा दिने गथ्र्यो । तर अहिले विशेषगरी अमेरिकामा कम शिक्षित युवाहरूले रोजगारी पाउन कठिन हुन थालेको छ । अस्थायी रोजगार, न्यून तलब र बेरोजगारीले उनीहरूलाई थप निराश बनाएको छ ।
स्मार्टफोन र सामाजिक मिडियाको प्रयोग २०१० पछि विस्फोटक रूपमा बढ्यो । यही समयमा किशोर मानसिक समस्यामा पनि तीव्र वृद्धि भएको पाइयो । अनलाइनमा तुलनात्मक दबाब, साइबर बुलिङ, लाइक–कमेण्टको लत र सामाजिक अलगावजस्ता कुराले युवाको आत्मविश्वासमा नकारात्मक असर पारेको छ ।
कोभिड १९ को प्रभावले पनि युवापुस्तालाई नराम्रोसँग गाँजेको अनुसन्धानले देखाएको छ । विद्यालय, कलेज, रोजगार, सामाजिक सम्बन्ध—सबै थुनिएपछि युवापुस्तामा मानसिक स्वास्थ्य थप कमजोर बन्यो । मध्यम उमेरका मानिसहरूभन्दा पनि युवाहरूमा यसको असर गहिरो रह्यो ।
धेरै समाजमा युवापुस्तामाथि बढी अपेक्षा र दबाब रहन्छ । अध्ययनमा उत्कृष्ट हुनुपर्ने, राम्रो रोजगारी पाउनुपर्ने, विवाह र पारिवारिक जीवनलाई सन्तुलनमा राख्नुपर्नेजस्ता दबाबका कारण युवापुस्तामा बढी निराशा थपिरहेको छ ।
दक्षिण एसियामा अवस्था के छ ?
नेपाल र दक्षिण एसियामा पनि यो संकट गहिरिँदै गएको देखिन्छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषदको तथ्यांकअनुसार, नेपालमा मानसिक स्वास्थ्य समस्या भएका युवाको संख्या निरन्तर बढ्दैछ । खासगरी १५ देखि २४ वर्ष उमेरका युवाहरूमा डिप्रेसन, चिन्ता र आत्महत्या दर बढिरहेको छ ।
वैदेशिक रोजगारीका असफलता, बेरोजगारी, राजनीतिक अस्थिरता र भविष्यप्रतिको अनिश्चितताले युवाहरूमा असन्तुष्टि थप बढाएको छ । भारत, पाकिस्तान, बंगलादेशजस्ता छिमेकी मुलुकमा पनि सामाजिक सञ्जालको प्रभाव, बेरोजगारी र शहरीकरणसँग जोडिएका समस्याले युवाहरूलाई निराश बनाइरहेका छन् ।
के यो प्रवृत्ति स्थायी हो ?
कतिपय विज्ञहरूको भनाइमा, यो प्रवृत्ति अस्थायी पनि हुन सक्छ । केही तथ्यांकले २०२४-२५ मा अमेरिकाका युवाहरूको मानसिक स्वास्थ्य आंशिक सुधार भएको देखाएको छ ।
तर अझै निश्चित भन्न सकिन्न । सम्भवतः भविष्यमा फेरि “मध्य उमेरकै निराशा” प्रमुख बन्न सक्छ । तर अहिलेको अवस्था भने स्पष्ट छ— युवा पुस्ता विश्वकै सबैभन्दा असन्तुष्ट पुस्ता बन्न पुगेका छन् ।
युवापुस्ताको निराशा केवल व्यक्तिगत वा मनोवैज्ञानिक समस्या मात्र होइन, यो सामाजिक, आर्थिक र राजनीतिक संकट पनि हो । युवापुस्ता निराश रह्यो भने, भविष्यमा उत्पादनशीलता, नवप्रवर्तन र सामाजिक स्थिरतामा गम्भीर असर पर्छ ।