नेभिगेशन
नेपाल

सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध हटाउने सरकारको निर्णय

काठमाडौं, २३ भदौ – सरकारले सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध हटाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सामाजिक सञ्जाल पुनः सञ्चालनमा आएको जानकारी दिएका हुन् ।

मन्त्री गुरुङले प्रतिबन्ध हटाइए पनि सरकारको अघिल्लो निर्णयमा कुनै पश्चाताप नरहेको स्पष्ट पारे । उनका अनुसार आन्दोलन चर्किएपछि परिस्थितिलाई व्यवस्थापन गर्न प्रतिबन्ध फुकुवा गरिएको हो ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठकमा केही सामाजिक सञ्जालले नेपालप्रति सम्मानजनक व्यवहार नगरेको भन्दै असन्तुष्टि जनाएका थिए । उनले नेपाललाई हेपेर कानून नमान्ने प्रवृत्ति राष्ट्रिय स्वाभिमानमाथिको हमला भएको टिप्पणी गरेका थिए ।

तर, प्रतिबन्धका कारण आन्दोलन भडकिँदा काठमाडौंमा १७ र इटहरीमा २ गरी १९ जनाले ज्यान गुमाए। सयौँ घाइते भएका छन् । चर्को विरोध र सत्तारुढ दलभित्रै बढ्दो दबाबपछि सरकारले अन्ततः प्रतिबन्ध फुकुवा गरेको विश्लेषण गरिएको छ ।

प्रधानमन्त्री र गृहमन्त्रीलाई “नरसंहारको मुद्दामा पक्राउ गरी जेल पठाउनुपर्छ”

राजनीतिक वृत्तमा भने सरकारले गरेका कदमप्रति तीव्र आलोचना भएको छ । राप्रपा सांसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री र गृहमन्त्रीलाई “नरसंहारको मुद्दामा पक्राउ गरी जेल पठाउनुपर्छ” भन्दै कडा आपत्ति जनाएका छन् । त्यस्तै, कांग्रेस नेता डा. शेखर कोइरालाले सरकारको औचित्य नै समाप्त भएको टिप्पणी गर्दै जेनजि आन्दोलनका क्रममा मारिएका विद्यार्थीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्