नेभिगेशन
नेपाल

जेनजीको आन्दोलनमा बर्बर दमन १९ को मृत्यु, चार सयभन्दा बढी घाइते

काठमाडौं, २३ भदौ - भ्रष्टाचार र सामाजिक सञ्जाल बन्द गरेको विरोधमा सोमबार जेनजी पुस्ता (जेनेरेसन जेड) का नाममा काठमाडौंलगायत प्रमुख शहरहरूमा भएको प्रदर्शनमा सरकारले बर्बर दमन गरेको छ । भीडमाथि प्रहरीले अन्धाधुन्ध गोली चलाउँदा १९ जनाको ज्यान गएको छ । 

विभिन्न अस्पतालमा भर्ना गरिएका घाइतेमध्ये एक दर्जनभन्दा बढीको अवस्था गम्भीर छ । काठमाडौंमा १७ र सुनसरीमा २ जनाको मृत्यु भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदर्शनकारी र प्रहरीसहित ४२२ जना घाइते भएका छन् । मृत्यु र घाइते हुनेमा अधिकांश ३० वर्ष मुनि उमेरका छन् । 

देशमा संघीय गणतन्त्र घोषित भएपछि सरकारविरुद्धको प्रदर्शनको क्रममा यति धेरै संख्यामा हताहती भएको यो पहिलो घटना हो । काठमाडौंको नयाँ बानेश्वरमा भएको झडपका घाइतेहरूको सिभिल अस्पताल बानेश्वर, ट्रमा सेन्टर, टिचिङ, केएमसीलगायतका अस्पतालमा उपचार भइरहेको छ ।

स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न अस्पतालबाट संकलित तथ्यांकअनुसार सिभिल सेवा अस्पतालमा १७० जना घाइते उपचारत छन्, तीनजनाको मृत्यु भएको छ । एभरेस्ट अस्पतालमा १०२ जना घाइते उपचारत छन् भने तीन जनाको मृत्यु भएको छ । ट्रमा सेन्टरमा आठजनाको मृत्यु भएको छ भने ५९ जना घाइते उपचाररत छन् । 

केएमसीमा उपचाररत ३१ घाइतेमध्ये सात जना डिस्चार्ज भएका छन् भने दुईको मृत्यु भएको छ । त्रिवि शिक्षण अस्पतालमा १८ जना उपचाररत छन् भने एक जनाको मृत्यु भएको छ । धरानको बिपी प्रतिष्ठानमा लगिएका चार घाइतेमध्ये दुईजनाको मृत्यु भएको छ । ४२२ घाइतेमध्ये १० जनालाई डिस्चार्ज गरिएको मन्त्रालयको तथ्यांकमा छ । 

जेनजीको प्रदर्शनमा सरकारको दमनले २०६२-६३ को १९ दिने जनआन्दोलनलाई पनि छायामा पारेको छ । जनआन्दोलन–२ मा २५ जनाले ज्यान गुमाएका थिए । सोमबार काठमाडौंसहित पोखरा, बुटवल, चितवन, विराटनगर, रौतहट, सुनसरी, झापा, दाङलगायतका देशका विभिन्न शहरहरूमा विरोध प्रदर्शन भएका छन् । 

देशभरका प्रदर्शनमा प्रहरीले सक्दो दमन गरेको छ भने प्रदर्शनकारीले सार्वजनिक सम्पत्तिमाथि तोडफोड, आगजनी गरेका छन् । भीडलाई ताकेर प्रहरीले गोली चलाएपछि आक्रोसित प्रदर्शनकारीले एम्बुलेन्स, गाडी, मोटरसाइकलमा पनि आगो लगाएका छन् । 

प्रदर्शनमा झडप भएलगत्तै जिल्ला प्रशासन कार्यालय काठमाडौंले हतार–हतार नयाँ बानेश्वर, शितल निवास, सिंहदरबार परिसरलगायतमा कर्फ्यु आदेश जारी गरेको थियो । 

कर्फ्यु आदेशलाई बेवास्ता गर्दै प्रदर्शनकारीले सोमबार बेलुकी पनि प्रदर्शन गरेका छन् । काठमाडौंको माइतीघर मण्डलाहुँदै संघीय संसद् भवन प्रवेश गर्न खोजेका प्रदर्शनकारीमाथि प्रहरीले लाठीचार्ज, पानीको फोहोरा, अश्रुग्याँस, गोली प्रहार गरेको थियो । सरकारले युवाहरूलाई मारेको भन्दै गठबन्धनमध्येको कांग्रेसले सरकार छाड्नुपर्ने मागसमेत उठेको छ ।

जेनजी भनेको सन् १९९७ देखि २०१२ भित्र जन्मेकाहरूको पुस्ता वर्गीकरण हो । यसभित्र २८ वर्ष उमेर समूहका युवा पर्छन् । युवाले गर्ने भनिएको विरोध प्रदर्शनमा कोही पनि नेतृत्वकर्ता घोषणा गरिएको थिएन । प्रदर्शनमा दुर्गा प्रसाईं समूह, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतको घुसपैठ भएका कारण स्थिति हिंसात्मक भएको सुरक्षा निकायले सरकारलाई ब्रिफिङ गरेको छ ।

काठमाडौंमा सोमबार ११ बजेदेखि माइतीघर मण्डलामा गर्ने भनिएको प्रदर्शन एक्कासि नयाँ बानेश्वर पुगेपछि उग्र बनेको थियो । तोकिएको समयभन्दा अगावै बिहान ९ बजेदेखि नै माइतीघरमा प्रदर्शनकारीको उपस्थिति देखिएको थियो । प्रदर्शनमा भ्रष्टाचारविरोधी, प्रधानमन्त्रीविरोधी, सामाजिक सञ्जाल बन्दबारे प्लेकार्ड बोकेर विद्यालय–कलेज पोसाकमै विद्यार्थी सहभागी थिए ।

आन्दोलनकारीको भीड अनियन्त्रित हुँदै सरकारले निषेधित क्षेत्र घोषणा गरेको संघीय संसद् भवन वरपर पुगेको थियो । त्यहाँ पुगेपछि संसद् भवनभित्र छिर्न खोजेपछि प्रहरीले गोली चलाएको थियो । 

सरकारले फेसबुक, युट्युब, म्यासेन्जरलगायतका २६ वटा सूचीकरण नभएका सामाजिक सञ्जाल निष्क्रिय पार्ने निर्णयसँगै देखिएको असन्तुष्टि आन्दोलनमा परिणत भएको हो । जेनरेसन जीका नाममा लामो समयदेखि सामाजिक सञ्जाल टिकटकमा आन्दोलन गर्ने भन्दै युवाहरू निकै उग्र बनिरहेका थिए ।

नेताका छोराछोरीको विलासीपूर्ण जीवनको विषयमा टिप्पणी गर्दै उनीहरूको भिडियो पनि भाइरल बनाइरहेका थिए । देशमा उठाइने करबाट नेताका परिवार, छोराछोरी मस्ती गर्ने र देशमा भ्रष्टाचार गरेको भन्दै आन्दोलित बनेका थिए ।

समाचार तयार पार्दासम्म काठमाडौंको ट्रमा सेन्टरले जारी गरेको सूचीअनुसार ८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १९ वर्षका श्रीराम चौलागाई, २१ वर्षका सुलभराज श्रेष्ठ, ४२ वर्षमा बुद्धिबहादुर तामाङ, २८ वर्षका गौरव जोशी, २५ वर्षका सौरभ कटुवाल, २६ वर्षीय ईश्वतबहादुर अधिकारी छन् । दुई जनाको अझै सनाखत हुन सकेको छैन । 

samsad-gate_NPL-(6)-1757317114.jpg
प्रहरी रणनीति फेल

तीनकुने काण्डमा चुकेको प्रहरी सोमबार बानेश्वर घटना पनि चुकेको छ । अघिल्लै दिन घोषित प्रदर्शन, सहभागी कस्ता र कति हुन्छन्, कता जान्छन्, केसम्म होला भन्ने प्रहरीले अनुमान गरेर त्यसअनुसारको रणनीति नबनाएको प्रदर्शनकारीमाथि अन्दाधुन्द गोली चलाएको घटनाले देखाएको छ । काठमाडौं प्रहरी परिसरका एसएसपी विश्व अधिकारी रणनीतिमा फेल देखिएका छन् ।

निषेधित क्षेत्रमा न्यून संख्यामा सुरक्षा तैनाथी, त्यो तोडेर अघि बढेको भीडलाई नियन्त्रण गर्न तदारुकता नदेखिनुले प्रहरी सुरक्षा रणनीतिमा कमजोर रहेको पुष्टि भएको छ । जेनजी प्रदर्शनका सहभागी कुनै दलको आह्वानमा प्रदर्शनमा सहभागी भएका थिएनन् । अभिव्यक्ति स्वतन्त्रता र ‘जनताले तिरेको करको हिसाब देऊ’ नारा लगाइरहेको थियो ।

युवाहरू निषेधित क्षेत्रको घेरा तोडेर अगाडि बढ्दा प्रहरी पछि हट्यो । ब्याक हुँदै संसद् गेटअगाडि पुगेर प्रहरी रोकियो । प्रदर्शनकारीले संसद् भवनको पश्चिमतिर र मूल सडकमा प्रदर्शन गरिरहेका थिए । भीडले भित्र पस्ने प्रयास गर्दा प्रहरीले अश्रुग्याँस प्रहार गर्‍यो । जब भीडले टेरेन, अन्धाधुन्ध गोली चलायो ।

राष्ट्रिय मानवअधिकार आयोगले प्रदर्शनको अनुगमनपछि प्रेस विज्ञप्ति जारी गर्दै सुरक्षा निकायले प्रदर्शनकारीमाथि अत्यधिक बल प्रयोग गरेको भन्दै दोषीलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ । ‘यस प्रकारका प्रदर्शनपूर्व नै उच्च सुरक्षा व्यवस्था तयार गरी थप क्षति हुन नदिन, प्रदर्शनमा अत्यधिक बल प्रयोग नगर्न, पछिल्लो पुस्ताले उठाएका आवाजहरूको यथोचितरूपमा समयमै सम्बोधन गर्न, मृतकका परिवारलाई तत्काल राहत र क्षतिपूर्ति उपलब्ध गराउन, घाइतेहरूको निःशुल्क उपचार गर्न, घटनाको निष्पक्ष, विश्वसनीय र सूक्ष्म अनुसन्धान गरी घटनाका दोषीलाई कडा कारबाही गर्न आयोग नेपाल सरकारलाई निर्देशन गर्दछ,’ आयोगले भनेको छ ।

आयोगले काठमाडौंका साथै पोखरा, बुटवल, चितवन, विराटनगर, रौतहट, सुनसरी, झापा, दाङ लगायत देशका विभिन्न शहरहरूमा प्रदर्शन भएको प्रदर्शनप्रति गम्भीर हुन सरकारलाई आग्रह गरेको छ । आयोगले भनेको छ, ‘नेपालको संविधान र अन्तर्राष्ट्रिय मानव अधिकार कानूनबमोजिम कुनै पनि व्यक्ति वा समूहलाई संयमितरूपमा आफ्ना विमति राख्ने अधिकार छ । लोकतान्त्रिक सरकारले नागरिकका उचित आवाजहरूलाई समयमै पहिचान गरी त्यसप्रकारका विमतिका आवाजहरूको समयमै यथोचित सम्बोधन गर्नुपर्दछ । यस प्रकारका प्रदर्शनमा सुरक्षा निकायले अत्यधिक बल प्रयोग गर्नु दुःखद छ ।’

असक्षम गृह प्रशासन

गृहमन्त्री रमेश लेखकले सुरक्षा व्यवस्था चुस्त नबनाउँदा, विरोध प्रदर्शनलाई सामान्य रुपमा लिँदा हिंसा भड्केको मूल्यांकन गर्दै असक्षम देखिएका छन् । काठमाडौं जिल्ला प्रशासन कार्यालय प्रदर्शनको अनुमति दिएर शान्तिसुरक्षाको व्यवस्थापनमा भने उचित रणनीति बनाउन नसकेको प्रष्ट भएको छ । 

भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दसहितको विरोधमा जेनजी उमेर समूहका युवाहरूले प्रदर्शन गरिरहँदा गृहमन्त्री लेखक संसद् सचिवालयमा थिए । घटनामा ठूलो हताहती र घाइते भएको घटनाले पार्टीभित्र र बाहिरको दबाब थेग्न नसकेपछि उनले सोमबार साँझ पदबाट राजीनामा दिएका छन् ।

मन्त्रिपरिषद् बैठकमा उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाएका हुन् । जेनजीको प्रदर्शनकारीले सोमबार १२ बजे नयाँ बानेश्वरस्थित ब्यारिकेड तोडेका थिए । प्रदर्शनकारी संघीय संसद् भवनको गेटतर्फ अघि बढिरहँदा गृहमन्त्री लेखक, गृहसचिव गोकर्णमणि दुवाडीलगायत सिंहदरबारमा रहेको राज्य व्यवस्था एवं सुशासन समितिको बैठकमा थिए ।

गृहमन्त्रीले प्रदर्शन गर्ने विषयलाई सामान्य रुपमा लिएको देखिन्छ । संसद्को समितिमा प्रहरीसम्बन्धी विधेयक र सामाजिक सञ्जाल बन्दको विषयमा छलफल भएको थियो । लेखकले पहिचानका लागि मात्रै सूचीकरण गर्न भनेको धारणा राखेका थिए । उनी समितिको बैठकमा बसिरहँदा प्रदर्शनको बारेमा खासै जानकार देखिँदैनथे ।

प्रदर्शनकारीहरूले संसद् भवनअगाडि ढुंगा हान्ने, पर्खाल भत्काउन थालेको जानकारी पाएपछि उनी समितिबाट निस्केका थिए । त्यसको केहीबेरमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी छवि रिजालले नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यु लागेको सूचना जारी गरेका थिए । गृह मन्त्रालयको लापर्वाही र सुरक्षा चुस्त दुरुस्त नहुँदा यति धेरैले ज्यान गुमाएका छन् भने घाइते
भएका छन् । 

घटनाले कांग्रेस नैतिक संकटमा परेको छ । पार्टी सभापति शेरबहादुर देउवाले आफ्नो निवासमा आकस्मिक बैठक गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सामाजिक सञ्जाल खोल्न फोन गरेका छन् । पार्टी बैठकमै गृहमन्त्रीको असक्षमताका कारण घटना भएको भन्दै लेखकलाई राजनीमा गराउन दबाब दिएका थिए ।

केन्द्रीय सदस्य एवं योजना आयोगका पूर्वउपाध्यक्ष गोविन्द पोखरेलले सामाजिक सञ्जालमा लेखेर गृहमन्त्री लेखकको राजीनामा मागेका थिए् । ‘गृहमन्त्रीले तुरुन्तै राजीनामा दिनुप¥यो । यदि नदिए पार्टीले तुरुन्तै फिर्ता बोलाउनु पर्‍यो । युवाहरूको मृत्युप्रति गृहमन्त्री लेखक उत्तरदायी हुनुपर्छ,’ उनले लेखेका छन् ।

नेपाल विद्यार्थी संघका नेता धर्मराज शाहीले वर्तमान सरकारलाई अपराधी भएको टिप्पणी गरेका छन् । ‘यो अपराधी सरकारको साक्षी बस्नेहरू अपराधीबाहेक केही हुन सक्दैनन् । हाम्रा बच्चालाई यसरी मार्ने अपराधीहरूलाई कुनै पनि हालतमा माफी दिन सकिँदैन । यो आन्दोलन अब हाम्रा बच्चाहरूको मात्र होइन हाम्रो पनि हो। पूर्ण ऐक्यबद्धतासहित हामी आन्दोलनको मैदानमा हुनेछौं’, उनले सञ्जालमार्फत भनेका छन् ।

२०८१ चैत १५ मा राजावादीहरूको नाममा काठमाडौंको तिनकुनेमा पनि हिंसात्मक आन्दोलन हुँदा एकजना पत्रकारसहित तीन जनाको ज्यान गएको थियो । त्यस समयमा पनि गृहमन्त्रीले सुरक्षा व्यवस्था कायम गर्न नसकेको भन्दै नैतिकताको प्रश्न उठेको थियो । पछि ‘भिजिट भिसा’ प्रकरणमा अर्को कुरा उठ्दा पनि लेखकले पदबाट राजीनामा दिन अस्वीकार गरेका थिए ।

कसरी सुरु भयो प्रदर्शन

पछिल्लो समयमा फिलिपिन्स, इण्डोनेशियामा पनि जेनजीको नाममा आन्दोलन भइरहेको छ । त्यसकै देखासिखीमा नेपालमा पनि यो आन्दोलन फैलिएको देखिन्छ । देशलाई ‘श्रीलंका’, ‘बंगलादेश’ बनाउने भन्दै सामाजिक सञ्जाल टिकटक, फेसबुकमा उग्रता बढ्दै गएको छ ।

सेप्टेम्बर ८ अर्थात भदौ २३ मा आन्दोलन गर्ने व्यापक सामाजिक सञ्जालमा सुनिश्चित दुई दिन अघि भइसकेको थियो । काठमाडौंलगायत देशका मुख्यमुख्य ठाउँमा आन्दोलन गर्ने २८ वर्षसम्मका युवाले घोषणा गरिसकेका थिए ।

आन्दोलनको घोषणा भएपछि जब, आइतबार काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले फेसबुकमार्फत आन्दोलनलाई आफ्नो समर्थन रहेको बताएका थिए । त्यसपछि सेलिब्रिटी कलाकार, लेखक, पत्रकार, आफूलाई समाजसेवी बताउनेहरू सबैजसोले जेनजी आन्दोलनलाई समर्थन रहेको भन्दै उकास्न थालेका थिए । 

सँगसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पनि भावुक र उकास्ने खालको पत्र ललितपुरको नख्खु जेलबाट लेखेको भन्दै उनकी पत्नीले सामाजिक सञ्जाल फेसबुक, टिकटकमा भाइरल बनाइएको थियो ।

बिस्तारै धेरैले सामाजिक सञ्जाल बन्द गरेकोमा सरकारप्रति आक्रोश व्यक्त गरिरहेका थिए । कुनै सावधानी, कुनै विकल्पको विषयमा नसोची सरकारले सातदिने सूचीकरणको म्याद दिँदै सामाजिक सञ्जाल हचुवाकै भरमा बन्द गर्ने घोषणा गरेको थियो । त्यसैलाई आधार बनाउँदै जेनजी पुस्ताले सरकारविरुद्ध आन्दोलन गर्ने माहौल बनाउँदै गएका थिए ।

आइतबार मेडिकल व्यवसायी दुर्गा प्रसाइँले जेनजीको आन्दोलनमा सहभागी हुने घोषणा गरेका थिए । त्यसपछि जेनजी प्रतिनिधिहरूले उनलाई भेटेर आन्दोनलमा नआउन आग्रहसमेत गरेका थिए । जेनजी पुस्ताका नेता भनिएका केही व्यक्तिले प्रसाइँलाई उनकै निवासमा पुगेर भेटेको तस्बिर सार्वजनिक भएको थियो । 

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता सुमना श्रेष्ठ लगायतले पनि आन्दोलनको प्रचार गरेका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता ज्ञानेन्द्र शाही लगायतले पनि प्रदर्शन गर्न र सहयोग गर्ने बताउँदै आएका थिए ।

दमनको विरोध 

सरकारले जेनजी प्रदर्शनकारीमाथि गरेको दमनको सर्वत्र निन्दा भएको छ । धेरैको ज्यान जानेगरी र सयौं घाइते हुनेगरी गरेको दमनको विरोध भएको हो । राष्ट्रिय मानवअधिकार आयोगले प्रदर्शनकारीमाथि अत्यधिक बल प्रयोग गर्न बन्द गरी पछिल्लो पुस्ताको आवाजप्रति गम्भीर बन्न आग्रह गरेको छ । आयोगको अनुगमनका क्रममा बानेश्वर पुगेको सवारी साधनमा प्रदर्शनकारीले आगो लगाइदिएका थिए ।

देशभरिका विभिन्न शहरहरूमा प्रदर्शन भएको र आयोगले अनुगमन गरेको जनाएको छ । सोमबार काठमाडौंको माइतीघरबाट शुरु भई बबरमहल हुँदै वानेश्वर पुगेका प्रदर्शनकारी संसद् भवन प्रवेश गर्न खोजेको भन्दै प्रहरीले लाठीचार्ज, पानीको फोहोरा, अश्रुग्याँस र गोली प्रहार गरेको अनुगमनको क्रममा पाइएको आयोगले जनाएको छ ।

‘नेपालको संविधान र अन्तर्राष्ट्रिय मानव अधिकार कानून बमोजिम कुनै पनि व्यक्ति वा समूहलाई संयमित रुपमा आफ्ना विमति राख्ने अधिकार छ । लोकतान्त्रिक सरकारले नागरिकका उचित आवाजहरूलाई समयमै पहिचान गरी त्यसप्रकारका विमतिका आवाजहरूको समयमै यथोचित सम्बोधन गर्नुपर्छ,’ आयोगले भनेको छ । ‘यस प्रकारका प्रदर्शनहरू तोडफोड र आगजनीमा बदलिनु र सुरक्षा निकायले अत्यधिक बल प्रयोग गर्नु दुःखद छ ।’

यस्ता प्रदर्शन पूर्व नै उच्च सुरक्षा व्यवस्था तयार गरी थप क्षति हुन नदिन आयोगले आग्रह गरेको छ । ‘प्रदर्शनमा अत्यधिक बल प्रयोग नगर्न, पछिल्लो पुस्ताले उठाएका आवाजहरूको यथोचित रुपमा समयमै संवोधन गर्न, मृतकका परिवारलाई तत्काल राहत र क्षतिपूर्ति उपलब्ध गराउन, घाइतेहरूको निशुल्क उपचार गर्न, घटनाको निष्पक्ष, विश्वसनीय र सूक्ष्म अनुसन्धान गरी घटनाका दोषीलाई कडा कारवाही गर्न आयोग सरकारलाई निर्देशन गर्छ’, आयोगले भनेको छ, ‘आफ्ना प्रदर्शनलाई शान्तिपूर्ण, मर्यादित र संयमित बनाउने जिम्मेवारी प्रदर्शनरत पक्षको समेत हुने कुरा मनन गर्न आयोग प्रदर्शनरत पक्षलाई समेत अनुरोध गर्छ ।’

‘प्रहरीको गोली लागी दर्जनभन्दा बढी व्यक्तिको मृत्यु भएको र दर्जनौं व्यक्ति घाइते भएको जानकारी प्राप्त भएको छ । आयोग मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको निःशुल्क उपचार र शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ’ आयोगले सोमबार जारी विज्ञप्तिमा भनेको छ ।

त्यसैगरी कानून व्यवसायीहरूको छाता संगठन नेपाल बार एशोसिएसनले नेपाल बार एसोसिएसनले सोमबारको जेनजी युवाहरूको प्रदर्शनमा सुरक्षा निकायले बल प्रयोग गरेको घटनाको विरोध गरेको छ । सरकारको बल प्रयोगको विरोध गर्दै नेपाल बारले जनताको जीउज्यान संरक्षण गर्नुपर्ने सरकारले कैयौंको ज्यान जानुको साथै सयौं घाइते हुनेगरी भएको घटनाको विज्ञप्तिमार्फत विरोध जनाएको हो । 

बारले सामाजिक सञ्जाल नियन्त्रणमुखी नभई समाधानमुखी उपाय अबलम्बन गर्न आग्रह गरेको छ । बारले नियन्त्रणले समस्या समाधान नहुने भन्दै सरकार र प्रदर्शनकारी दुवै संयमित हुनुपर्ने भनेको छ । ‘जनताको जीउज्यानको संरक्षणलाई व्यवहारतः प्रत्याभूत गर्न सरकार समक्ष हुन नेपाल बार एशोसिएसन माग गर्छ’ विज्ञप्तिमा भनेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्