नेभिगेशन
प्रदेश

जनकपुरधाममा जेनजीको उग्र प्रदर्शन, सरकारी र पार्टी कार्यालयमा आगजनी

जनकपुरधाम, २४ भदौ - सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध र भ्रष्टाचारविरुद्धको आन्दोलनका क्रममा जनकपुरधाममा जेनजी युवाहरूको प्रदर्शन मंगलबार हिंसात्मक बनेको छ । बिहानैदेखि प्रदर्शनमा उत्रिएका युवाहरूले मधेश प्रदेश सरकारका मुख्य कार्यालयहरू र राजनीतिक दलका संरचनाहरूमा तोडफोड र आगजनी गरेका छन् ।

प्रदर्शनकारीहरूले मधेश प्रदेशको प्रदेश सभा भवन, भौतिक पूर्वाधार विकास मन्त्रालय, कृषि,
भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, शिक्षा तथा संस्कृति मन्त्रालय र जिल्ला प्रशासन कार्यालयमा तोडफोड गरेका छन् । त्यस्तै, नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रको मधेश प्रदेश तथा धनुषा जिल्ला कार्यालयहरूमा पनि आगो लगाइएको छ ।

जनकपुरधाम उपमहानगरपालिकाको जिरोमाइलमा रहेको ट्राफिक प्रहरी कार्यालयमा समेत आगजनी गरिएको छ । साथै, नेकपा एमालेका केन्द्रीय सचिव तथा पूर्वमन्त्री रघुवीर महासेठको निवासमा पनि आगजनी गरिएको छ ।

जनकपुरधामस्थित जानकी चोकमा प्रहरीमाथि ढुंगामुढा भएको छ भने विभिन्न चोकहरूमा सडक जाम गर्दै आन्दोलन चलाइएको छ । यो सबै आक्रोश सोमबार काठमाडौं र इटहरीमा प्रहरीद्वारा खोलिएको गोलीबाट १९ जना युवाको मृत्यु भएपछि चुलिएको हो । सरकारले न संवादको प्रयास गरेको छ, न दमनको शैली रोकेको, जसप्रति युवा पुस्ताले तीव्र असन्तुष्टि जनाएका छन् ।

स्थिति तनावपूर्ण बन्दै गएपछि मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले राजीनामा दिएका छन् । उता, धनुषाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले मंगलबार दिउँसो ३ बजेदेखि लागू हुने गरी जनकपुरधाम क्षेत्रमा कर्फ्यु  आदेश जारी गरेका छन् । कफ्र्यूु बुधबार बिहान ७ बजेसम्म कायम रहनेछ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्