नेभिगेशन
प्रदेश

झापामा नेताका घरदेखि सरकारी कार्यालयमा तोडफोड र आगजनी

झापा, २४ भदौ - सामाजिक सञ्जालमाथिको प्रतिबन्ध, भ्रष्टाचार र बेरोजगारीविरुद्ध सुरु भएको जेनजी समूहको आन्दोलन झापामा हिंसात्मक बन्दै गएको छ । सोमबारदेखि सुरु भएको प्रदर्शन मंगलबार साँझसम्म झडप, तोडफोड, आगजनी र कर्फ्युमा परिणत भएको छ ।

प्रदर्शनकारीहरूले दमक, विर्तामोड, मेचीनगर, भद्रपुरलगायतका नगरपालिकाका कार्यालय, वडा कार्यालय, यातायात व्यवस्था कार्यालय, विद्युत प्राधिकरण, भन्सार कार्यालय लगायत सरकारी संरचनाहरूमा तोडफोड र आगजनी गरेका छन् । त्यस्तै, नेकपा एमाले र नेपाली कांग्रेसका जिल्ला पार्टी कार्यालयमा समेत आक्रमण गरिएको छ । झडपका क्रममा मेचीनगरस्थित होटल एचएमसी र भाटभटेनी सुपरमार्केटमा समेत तोडफोड भएको छ ।

जिल्लामा विशेष तनावको स्थिति सोमबार साँझदेखि देखिएको हो । आन्दोलनको क्रममा प्रदर्शनकारीहरूका निशानामा प्रमुख नेताहरूको घरसमेत परेका छन् । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको दमकस्थित घर, कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको धुलाबारीस्थित घर, पूर्वमुख्यमन्त्री उद्धव थापाको अर्जुनधारा, पूर्वप्रदेश प्रमुख विष्णु प्रसाई र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको घरमा समेत तोडफोड र आगजनी भएको छ ।

यसैगरी, कोशी प्रदेश सांसद गोपाल तामाङ, पूर्वसांसद श्रीप्रसाद मैनाली, मेचीनगर नगर प्रमुख गोपालचन्द्र बुढाथोकी, उपमेयर मीना पोखरेल उप्रेती लगायत जनप्रतिनिधिहरूका घरमा पनि क्षति पु¥याइएको छ । स्थिति नियन्त्रणमा लिन सोमबार साँझदेखि दमक र विर्तामोडमा कर्फ्यु आदेश जारी गरिएको थियो । तर, मंगलबार प्रदर्शन अझ उग्र बन्दै जाँदा सुरक्षाकर्मी परिचालन पर्याप्त नहुने अवस्था आयो । 

झडपका क्रममा प्रहरीले गोली चलाउँदा करिब आधा दर्जन प्रदर्शनकारी घाइते भएका छन् भने ढुंगामुढाले दर्जनभन्दा बढी सुरक्षाकर्मी घाइते भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जेनजी समूहले लामो समयदेखि रोजगार, शैक्षिक सुधार र सामाजिक समानताको माग गर्दै आन्दोलन चलाईरहेका छन् । उनीहरू सरकारको बेवास्ता र दमनप्रति आक्रोशित हुँदै सडकमा उत्रिएको बताउँछन् ।

प्रदर्शनमा सहभागी दीपक कोइरालाले भने, ‘हाम्रो आवाज सुन्ने वातावरण सरकारले बनाउनुपर्छ, रोजगारी अधिकार हो, र शिक्षामा समान पहुँच हुनु जरुरी छ ।’ प्रदर्शन उग्र बनेपछि झापाका प्रमुख बजार क्षेत्र आंशिक रूपमा बन्द छन् । व्यवसायीहरूले तोडफोडको डरले पसल नखोलेको जनाएका छन् भने सार्वजनिक सवारी न्यून हुँदा यात्रुहरू मर्कामा परेका छन् ।

सुरक्षास्थितिको मूल्याङ्कन गर्दै प्रशासनले झापाका विभिन्न स्थानमा थप सुरक्षाकर्मी खटाएको छ । तर स्थानीयहरू अझै त्रासमा छन् । आन्दोलनको स्वरूप दिनप्रतिदिन चर्कंदै गएकाले अब सरकारले शान्तिपूर्ण संवादको बाटो अपनाउने कि दमनलाई निरन्तरता दिने भन्ने प्रश्न खडा भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्