नेभिगेशन
नेपाल

विश्व शान्ति सूचकांकमा नेपालको ठूलो गिरावट, दक्षिण एसियामै सबैभन्दा बढी असर

काठमाडौं । विश्वमा शान्तिको अवस्था लगातार खस्कँदै गइरहेका बेला नेपालले सन् २०२६ को ग्लोबल पिस इन्डेक्स (जीपीआई) मा सबैभन्दा ठूलो गिरावट भोगेको देशको रूपमा स्थान बनाएको छ । अष्ट्रेलियास्थित अनुसन्धान संस्था इन्स्टिच्युट फर इकोनमिक्स एन्ड पिसले सार्वजनिक गरेको ग्लोबल पिस इन्डेक्स २०२६ अनुसार नेपालको शान्ति अवस्था गत वर्षको तुलनामा ९.१ प्रतिशतले कमजोर भएको छ । 
प्रतिवेदनअनुसार नेपाल विश्वका १६३ मुलुकमध्ये १११औँ स्थानमा पुगेको छ । अघिल्लो वर्षको तुलनामा नेपाल २६ स्थान तल झरेको देखिएको छ । नेपालले २.१४३ अंक प्राप्त गरेको छ, जुन दक्षिण एसियाली क्षेत्रभित्र पनि चिन्ताजनक गिरावट मानिएको छ । 
जेनजी आन्दोलन मुख्य कारण
प्रतिवेदनले सन् २०२५ सेप्टेम्बरमा भएको ‘जेनजी आन्दोलन’लाई नेपालको शान्ति सूचकाङ्कमा आएको तीव्र गिरावटको प्रमुख कारण मानेको छ । विश्वभर सबैभन्दा बढी शान्ति खस्किएको देशको सूचीमा नेपाल पहिलो स्थानमा रहेको प्रतिवेदनमा उल्लेख छ । नेपालपछि चाड, रिपब्लिक अफ कंगो, पाकिस्तान र तान्जानिया रहेका छन् । 
जीपीआईका अनुसार दक्षिण एसिया सन् २०२५ मा विश्वका आठ क्षेत्रमध्ये सबैभन्दा बढी शान्ति खस्किएको क्षेत्र बनेको छ । नेपाल, पाकिस्तान र भारतमा शान्ति अवस्था कमजोर बनेपछि समग्र दक्षिण एसियाली क्षेत्रको औसत सूचकांक पनि बिग्रिएको प्रतिवेदनले जनाएको छ । 
विश्वमा शान्ति लगातार कमजोर
प्रतिवेदनले विश्वको औसत शान्ति अवस्था एक वर्षमा ०.७ प्रतिशतले खस्किएको जनाएको छ । यो लगातार १२औँ वर्ष हो, जब विश्व शान्ति सूचकाङ्कमा गिरावट आएको छ । १६३ देशमध्ये ९९ देशमा शान्ति कमजोर बनेको छ भने ६२ देशमा सुधार देखिएको छ ।  
सन् २००८ मा सूचकाङ्क सुरु भएयता अहिले ११९ देश पहिलेभन्दा कम शान्तिपूर्ण अवस्थामा पुगेका छन् । विश्वव्यापी सशस्त्र द्वन्द्व, राजनीतिक अस्थिरता र सैन्य खर्चको वृद्धि शान्ति कमजोर हुने मुख्य कारण बनेको प्रतिवेदनको निष्कर्ष छ । 
विश्वमा युद्ध र सैन्यीकरण बढ्दो
जीपीआई २०२६ अनुसार दोस्रो विश्वयुद्धपछि पहिलोपटक विश्वमा सक्रिय राज्य–आधारित द्वन्द्वको संख्या सबैभन्दा उच्च बिन्दुमा पुगेको छ । पछिल्लो पाँच वर्षमा कुनै न कुनै प्रकारको बाह्य द्वन्द्वमा संलग्न देशको संख्या ५९ बाट बढेर १०३ पुगेको छ ।  
सन् २०२५ मा मात्र १ लाख ८१ हजारभन्दा बढी मानिस द्वन्द्वका कारण मारिएका छन् । सूडान, युक्रेन र अन्य द्वन्द्वग्रस्त क्षेत्रका युद्धले विश्व शान्तिमा गम्भीर असर पारेको प्रतिवेदनले जनाएको छ ।  
विश्व सैन्य खर्च पनि लगातार १०औँ वर्ष बढेको छ । सन् २०२५ मा सैन्य खर्च २.९ ट्रिलियन अमेरिकी डलर पुगेको छ, जुन विश्व अर्थतन्त्रका लागि ठूलो बोझ मानिएको छ ।  
सबैभन्दा शान्त र अशान्त देश
प्रतिवेदनअनुसार विश्वको सबैभन्दा शान्त देश लगातार १९औं वर्ष पनि आइसल्यान्ड बनेको छ । त्यसपछि न्युजिल्यान्ड, स्वीट्जरल्यान्ड, स्लोभानिया र आयरल्यान्ड रहेका छन् । 
सबैभन्दा कम शान्तिपूर्ण देशको सूचीमा रूस अन्तिम स्थानमा रहेको छ । त्यसपछि सुडान, डेमोक्रेटिक रिपब्लिक अफ द कंगो, युक्रेन र इजरायल रहेका छन् ।  प्रतिवेदनले नेपाललाई प्रत्यक्ष रूपमा द्वन्द्वग्रस्त राष्ट्रको रूपमा चित्रण नगरे पनि राजनीतिक प्रदर्शन, सामाजिक असन्तुष्टि र अस्थिरताले शान्ति सूचकाङ्कमा नकारात्मक प्रभाव पारेको देखाएको छ । दक्षिण एसियामा बढ्दो तनाव, भारत–पाकिस्तानबीचको सैन्य टकराव तथा क्षेत्रीय असुरक्षाले पनि नेपालजस्ता मुलुकलाई अप्रत्यक्ष प्रभाव पार्न सक्ने संकेत प्रतिवेदनले गरेको छ ।  
विश्व शान्ति अवस्था लगातार कमजोर हुँदै गएको अवस्थामा नेपालले राजनीतिक स्थायित्व, सामाजिक संवाद र संस्थागत विश्वासलाई बलियो बनाउन नसके आगामी वर्षहरूमा शान्ति सूचकांकमा थप चुनौती सामना गर्नुपर्ने देखिन्छ । प्रतिवेदनले विश्वव्यापी रूपमा पनि शान्ति स्थापना, कूटनीति र सकारात्मक सामाजिक संरचनामा लगानी बढाउन आवश्यक रहेको निष्कर्ष निकालेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्