नेभिगेशन
प्रदेश

भैरहवामा विद्यार्थी संगठन खारेज,  साइनबोर्ड जलाउँदै जेनजी आन्दोलनप्रति ऐक्यबद्धता

भैरहवा, २४ भदौ - रुपन्देहीको भैरहवास्थित पक्लिहवा कृषि क्याम्पसमा सक्रिय तीन प्रमुख विद्यार्थी संगठनहरूले मंगलबार एक ऐतिहासिक कदम चालेका छन् । उनीहरूले जेनजी आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै संगठन नै खारेज गर्ने घोषणा गरेका हुन् । 

नेपाली कांग्रेस निकट नेविसंघ, एमाले निकट अनेरास्ववियु र माओवादी केन्द्र निकट अनेरास्ववियु (क्रान्तिकारी) का क्याम्पस समितिहरूले बिहान करिब दुई सय विद्यार्थीको हस्ताक्षरसहित संगठन विघटनको घोषणा गरेका छन् । संगठन खारेजीसँगै ती संगठनका अध्यक्ष, पदाधिकारी, सदस्य र साधारण सदस्यहरूले सामूहिक राजीनामा दिएका छन् ।

संगठन विघटनको निर्णय सार्वजनिक गरेपछि क्याम्पस परिसरमा रहेका तीनवटै संगठनका साइनबोर्ड निकालेर गेट अगाडि जलाइएको थियो । प्रदर्शनको क्रममा विद्यार्थीहरूले अब हामी कुनै दलको झोले होइनौं भन्दै स्वतन्त्र विद्यार्थी चेतनाको पक्षमा नाराबाजीसमेत गरेका थिए । विद्यार्थीहरूले जेनजी आन्दोलनमाथि सरकारले गरेको दमन, निर्दोष युवामाथि चलाइएको गोली र व्यापक भ्रष्टाचारका विरुद्ध आक्रोश व्यक्त गरेका छन् । 

उनीहरूले सरकारलाई चेतावनी दिँदै भने, ‘युवाको आवाज दमन गरेर शान्ति आउँदैन ।’ संगठन विघटन गरेका विद्यार्थीहरूले अब आन्दोलनलाई अझ सशक्त रूपमा अघि बढाउने र कुनै दलको प्रभावमा नपरी स्वतन्त्र युवाको आवाज उठाउने बताएका छन् । विद्यार्थीहरूका अनुसार, लामो समयदेखि मुलुकमा अपेक्षित परिवर्तन नआएकोले अब दलभन्दा माथि उठेर देश र जनताको पक्षमा उभिनुको विकल्प छैन । 

उनीहरूले जेनजी आन्दोलनलाई नयाँ पुस्ताको राजनीतिक तथा सामाजिक चेतनाको प्रतिनिधि आन्दोलनको रूपमा समर्थन गर्ने बताएका छन् । पक्लिहवा कृषि क्याम्पसमा देखिएको यो कदमले अन्य शैक्षिक संस्थामा पनि प्रभाव पार्न सक्ने संकेत देखिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्