राणा शासनविरुद्ध लडेर शाहदत पाउने चार शहीदमा शुक्रराज शास्त्री ५६ र दशरथ चन्द ३८ वर्षका थिए । अर्का दुई शहीद धर्मभक्त माथेमा ३२ वर्षका थिए भने गंगालाल २२ वर्षका थिए । भारतमा निर्वासित जीवन बिताइरहेका विश्वेश्वर प्रसाद कोइराला अंग्रेजविरुद्धको भारतीय स्वतन्त्रता संग्रामबाट राजनीतिमा होमिएका थिए । नेपाली कांग्रेसका नेता विपी कोइराला पहिलो पटक जेल पर्दा १६ वर्ष रहेको बताइन्छ । २० वर्षको हुँदा त उनमा पक्का राजनीतिक चेत पलाइसकेको थियो ।
भारतमा स्वतन्त्रता संग्राममा सहभागी हुँदा पहिलो पटक जेल परेका नेपाली कांग्रेसका पहिलो पुस्ताका नेता कृष्णप्रसाद भट्टराईको उमेर १८ वर्ष थियो । राणाशाही विरुद्धको गतिविधिमा लागेका कारण पहिलो पटक पक्राउ पर्दा गणेशमान सिंहको उमेर २५ वर्ष हाराहारी रहेको थियो । शहीद गंगालालको भाइ पुष्पलाल राजनीतिक गतिविधिमा लागेका कारण पहिलो पटक पक्राउ पर्दा २३ वर्षका थिए । २२ वर्षअघि राजतन्त्रको विरुद्ध खुलेर नारा लगाउन अदम्य साहस चाहिन्थ्यो ।
त्यतिबेला ज्यानको माया मारेर राजतन्त्रविरुद्ध तथा गणतन्त्रको पक्षमा नारा लगाउने नेपाली कांग्रेसका युवा नेता गगन थापाको उमेर २८ हाराहारी थियो । राजनीतिक चेतनाको विकास हुन र त्यो चेतना परिपक्क हुन यति नै उमेर चाहिन्छ भन्ने हुँदैन । इतिहासमा ज–जसले निरंकुशता विरुद्ध क्रान्तिकारी कदम उठाए, ती सबै युवा नै थिए ।
तीनले आफू बाँचेको समाज, आफूले भोगेको बेथिती विरुद्धका आवाज उठाएका थिए । तीनले भुइँमान्छेको आवाजलाई प्रतिनिधित्व गरेका थिए । शक्तिमा रहनेले पनि भुइँमान्छेका आवाज सजिलै सुन्दैन । तर भुइँमान्छे सधैं आफ्नो आवाज सुनाउन संगठित र सशक्त हुँदैन ।
भुइँमान्छेको आवाजलाई जनताले चुनेर पाठएको प्रतिनिधिले संसद्मा उठाउँछन् र त्यसले समयक्रममा निकास पाउँछ भन्ने मान्यता राखिन्छ । संसदीय सिद्धान्तको यो अभ्यास नै विश्वका अधिकांश प्रजातान्त्रिक भनिएको देशहरुमा लागू भएको छ । तर कहिले काहिँ यो अभ्यास अवरुद्ध हुन पुग्छ । यसको जड कारण बेथिति, अनियमितता र सत्तालोलुपता नै रहेको देखिन्छ ।
नेपालमा पनि बेलाबेला संसदीय प्रणाली अवरुद्ध हुने पुगेको छ । प्रायः संसदीय व्यवधान राजनीतिक बेथितिका कारण हुने गरेको छ । २०४६ सालमा प्रजातन्त्र पुनर्वहाली भएपछिको पहिलो निर्वाचित सरकारले संसद्मा अविश्सास गुमाउँदा मध्यावधि चुनावमा होमिएपछि देशमा सुरु भएको राजनीतिक संक्रमण लामो समय लम्बियो । माओवादीको हिंसात्मक विद्रोहले थिलथिलो भएका देश २०६२-६३ को शान्ति सम्झौता पछि राजनीतिक मार्गमा अघि जाला भन्ने अपेक्षा थियो । तर, २०४७ सालपछिको सत्ताछिनाझप्टी, हानथापको राजनीतिले नै २०६३ पछि पनि निरन्तरता पाइरह्यो ।
यसबीच, शान्ति सम्झौतापछि जन्मेका युवा पुस्ता आज २० वर्षका भए । त्यो पुस्ता जसले आफू दश - बाह्र वर्षको हुँदा इन्टरनेटमार्फत देशदुनियाँको खबरहरु पाए । तीनलाई नासाको आविष्कारको कुरा पनि दुरको कुरा भएन । तिनले मलाया युसुफ जाइको बारेमा मात्र थाहा पाएनन्, जलवायु न्यायको लागि लड्ने ग्रेटा थन्वर्गको बारेमा पनि थाहा पाए । तिनले रोनाल्डो र मेसीमा मात्र सीमित भएनन्, मिटु र ‘एक्सटिन्सन रिविलियन’का बारेमा पनि थाहा पाए ।
महेश्वर आचार्य
काठमाडौंका पुस्तक पसलहरुमा थोरै मात्रामा इजरायली इतिहासकार युवाल नोहा हरारीको किताब बिकिरहँदा धेरै मात्रामा कोलिन हुभर लगायतका लेखकको युवापुस्ता लक्षित आख्यान बिकिरहेको थियो । त्यो पुस्तक पढ्ने जमात यही जेनजी थियो । विश्व सभ्यताको भाषा बन्दै गरेको अंग्रेजीमा पकड जमाउनु ज्ञानका स्रोतमाथिको पहुँच स्थापित गर्नु पनि हो ।
इन्टरनेटमार्फत विश्वलाई नियाल्ने मौका पाउँदै गर्दा जेनजीले उसले आफ्नो देशमा भने बेथिति मात्र देखिरह्यो । तीनै नेता, तीनका अधुरा वाचा मात्रै सुन्दा सुन्दा ती हैरान भएका थिए । देशमा ‘पठाउ’ चलाएर खान पनि सहज भएन । नागरिकलाई प्रवाह गर्ने सेवा प्रवाहमा सरकार एक पछि अर्को गर्दै चुक्दै गइरहेको थियो । जनतासँग पुरा पैसा लिने तर समयमै लाइसेन्स दिन नसक्ने, राहदानी समयमा दिन नसक्ने सरकारप्रति जनआक्रोस चुलिएको थियो । सरकारी सेवाको ठेक्का लिने, दिने क्रममा विचौलियाले नेतालाई आफ्नो स्वार्थ अनकूल प्रयोग गर्दै रहे ।
एकातिर असन्तुष्टिका तह बढ्दै जाँदो थियो, अर्कोतिर राजनीतिक दलहरुका क्रियाकलाप सत्ता केन्द्रित मात्रै देखिँदै थिए । यीन बेथिति बीच युवापुस्ताका आवाजहरु उठ्न थाले । त्यो आवाजको संकेत तीन वर्षअघि २०७९ मा भएको स्थानीय चुनावमा राम्रैसँग देखियो भने त्यसको छ महिनापछि भएको संसदीय निर्वाचनमा पनि त्यसको संकेत मिलेको थियो । असन्तुष्ट युवा पुस्ताका मनोकांक्षा पुरा गर्नतर्फ सरकारको गम्भीरता देखिन सकेन । त्यही बीचमा सामाजिक सञ्जाल प्रतिवन्धको हुरी आयो । त्यो हुरीले यो व्यवस्थामाथि नै प्रश्न चिह्न तेर्स्याएको छ ।
जब शान्तिपूर्ण प्रदर्शनमाथि शासकीय बर्बरता लादिन्छ र त्यो अन्धवेगमा एकै क्षणमा युवाहरु सोत्तर पारिन्छन् भने सरकारको वैधानिकता रहने कुरा हुँदैन । तर, त्यसभन्दा पनि अघि बढेर सरकार विहीनताको अवस्थामा देशले सिंगो दिन गुजार्यो, र यो क्रममा भएका क्षति पनि उत्तिकै लज्जास्पद छन्, जति अघिल्लो दिनको शासकीय बर्बरता ।
जेनजीको माग छ,– भ्रष्टाचारमुक्त देश, नातावाद र कृपावाद अन्त्य भएको देश । लुटपाट र आगजनी पक्कै उनीहरुको माग थिएन । अबको बाटो भनेको सर्वपक्षीय संवादमार्फत निकासको खोजी हो । देशले संसदीय प्रजातन्त्रलाई अंगीकार गरेको अवस्थामा हामीले भोलि पनि आफ्नो प्रतिनिधिमार्फत नै शासकीय संरचनालाई अघि बढाउने हौं, त्यसकारण असन्तुष्ट पक्षको मागलाई सम्बोधन गरेर अघि बढ्नुको विकल्प छैन ।
महाभारतको युद्ध सकिएपछि जब इच्छा मृत्यु पाएका भीष्म पितामहले देह त्याग गर्ने बेला आउँछ, त्यो बेला कृष्णले अर्जुनलाई भीष्मसँग ज्ञानका कुरा सिक्न आग्रह गर्छन् । कृष्णको त्यस्तो कुरा सुनेर भीष्मले के भनेर जवाफ फकाउँछन् भने ‘स्वयम् तिमी ज्ञानको खानी अगाडि मेरो ज्ञानको के महत्व ?’ त्यो प्रश्नमा कृष्णले दिएको उत्तर के थियो भने ‘मसँग ज्ञान छ तर अनुभव छैन । अनुभवसहितको ज्ञानले परिष्कृत बनाउँछ ।’
हिजोसम्म शान्त देश भोलि बिहानको सूर्योदयसँग शान्तिको बाटोमा अघि बढोस् । जेनजीको अदम्य ऊर्जालाई अब नवनिर्माणमा लगाऔं । हामीलाई अरु कसैले आफ्नो गोटी नबनाओस् । नेपालीजनले विगतमा पनि ठूला ठूला राजनीतिक उथलपुथलका बेला संयमता अपनाएर देशलाई जोगाउँदै ल्याएका हुन् । कृष्णले भनेजस्तै पाकाहरुको अनुभव र नयाँ पुस्ताको उत्साहलाई संयोजन गरेर नयाँ नेपाल बनाउने अभियानमा अघि बढौं । अब जेनजीले नयाँ नेपाल निर्माण गर्न सक्छ भन्ने पनि प्रमाणित गरेर देखाऔं ।