सन् १९८० मा मनोवैज्ञानिक जेम्स रिजनले सडक दुर्घटना बारेको गलत के रहेछ त भन्ने खोज थाले । उनले म्यानचेस्टरका सुपर मार्केट र कार पार्किङ क्षेत्रमा गएर एउटा अध्ययन गरे । उनले ५ सय २० जना सवारी चालकहरुलाई उनीहरुले गरेको गरेको निश्चित गल्तीबारे सम्झन भने । उनीहरुले प्रायः गाडी फर्काउने बेला पछाडिको ऐना हेर्न बिर्सिएका थिए कि ? चौबाटोमा पुग्ने बेला उनीहरु गलत बाटोमा पो गइरहेका थिए कि ?
ट्राफिक नियममा हुने यस्तो गल्तीबाहेक अध्ययनमा सहभागीलाई आफ्नो सवारी सीप तथा क्षमता अरुसँग तुलना गर्न दिइयो । उनीहरुलाई आप्mनो सवारी हाँक्ने क्षमताहरुको भन्दा राम्रो, नराम्रो, ठिक्कैको के लाग्छ भनेर सोधियो । तपाईंलाई लाग्ला धेरै मानिसले चालकका रुपमा लामो समय बिताएको भए पनि उनीहरु आफ्नो क्षमतामा सचेत छन् ।
तर वास्तविकता त्यो रहेनछ । ५ सय ५० मा एक प्रतिशतभन्दा कम अर्थात पाँच जनाले आफूलाई औसत भन्दा नराम्रो सोचे । बाँकी अभ्यस्त चालक जसले निरन्तर त्रुटिहरु गरिरहन्थे उनीहरुले आफूलाई अर्को व्यक्ति जत्तिकै राम्रो ठाने भने धेरैले त आफूलाई निकै नै राम्रो ठान्ने बताए । यो मूलतः एउटा सामूहिक भ्रम थियो जसले उनीहरुलाई आफ्नो असफलताप्रति अन्धो बनाइदिएको थियो । तीन दशकपछि, मनोवैज्ञानिकहरुले विभिन्न लक्षण तथा क्षमताहरुको लागि त्यस्तै प्रकारको भ्रमको तहलाई रेकर्ड गरे ।
हामी के सोच्छौं भने हामी अन्य व्यक्तिभन्दा बुद्धिमान, सिर्जनात्मक, भरपर्दो, इमान्दार तथा हितैषी छौं, जसलाई ‘मध्यम–भन्दा–राम्रो’ प्रवृत्तिका रुपमा लिइन्छ । नर्थ क्यारोलिना विश्वविद्यालयका प्रोफेसर इथान जेलले हालैमा विगतमा भएका अध्ययनहरुको मिहिन विश्लेषण गरे । ‘प्रमाण अस्वाभाविक रुपमा अत्यन्तै सबल देखिन्छ,’ उनी भन्छन् ।
'तपाईंले मानिसहरुलाई आफूले आफैंलाई मूल्यांकन गर्ने अवसर दिनुभयो भने प्रायः सबैजसोले आफूलाई मध्यमभन्दा माथिकै छु भन्ने ठान्छन्, त्यो पनि झण्डै सबैजसो विधामा,’ प्रोफेसर जेलको ठहर छ । यो अवस्था गम्भीर छ । प्रोफेसर रिजनका अनुसार सडकमा सवारी चलाउँदा पनि आफ्नो क्षमता माथि अतिशय आत्मविश्वास हुनु पनि गम्भीर दुर्घटनाको एउटा कारक हो ।
यस प्रवृत्तिले मेडिकलको क्षेत्रमा रोगको पहिचानमा गम्भीर त्रुटि हुनसक्छ । कानूनी क्षेत्रमा गलत आरोप र न्याय अवरुद्ध हुनसक्छ । व्यापार व्यावसायमा व्यवस्थापकीय घमण्डले गर्दा कम्पनीले घोटाला गर्ने वा टाट पल्टेको घोषणा गर्न सक्ने सम्भावना हुन्छ । त्यसैले अति–आत्मविश्वासलाई ‘सबै पूर्वाग्रहका जननी’ भनिन्छ । यो भनाइ नोबेल पुरस्कार विजेता वैज्ञानिक डेनियल खानीमेनको हो । उनले के भनेका छन् भने यदि मसँग जादुको छडी हुने हो र त्यसले एउटा मात्र काम गर्न सक्ने हो भने हामी सबैको ‘सुपेरियो रिटी कम्प्लेक्स’लाई हटाइदिने थिएँ ।
हालैमा योर्क विश्वविद्यालयका मनोविज्ञानका प्रोफेसर जोय चेङले आफ्नो अध्ययनमा के पाए भने, अतिशय आत्मविश्वास संक्रामक पनि हुन्छ । अर्थात् एउटा व्यक्तिको अतिशय आत्मविश्वास अर्काे व्यक्तिमा सर्छ । ‘यदि तपाईं अतिशय आत्मविश्वास भएको मान्छेसँगको हिमचिममा पुग्नुभयो भने तपाईंले आफ्नो क्षमतालाई अधिक मूल्यांकन गर्नु सक्नुहुनेछ,’ चेङ भन्छिन् । यो त्यस्तो प्रवृत्ति हो जसले खतरनाक भ्रमपूर्ण सोचलाई समूहमार्फत फैलाउन सक्छ । उनले आफै अमेरिकाको आर्थिक केन्द्र वाल स्ट्रिटमा हुने व्यवहारले यस अध्ययनमा उत्पे्ररित भएको बताएकी छन्, जहाँ अहंकार व्यापक रुपमा फैलिएको हुन्छ ।
‘तपाईंले शिक्षा क्षेत्रमा हेर्नुभयो भने शिक्षकहरुले त्यसैगरी व्यवहार गरेको पाइन्न,’ उनी भन्छिन् । यसले उनलाई के सोच्न प्ररित गर्यो भने के कुनै निश्चिित क्षेत्रमा व्यक्तिहरुले अतिशय अहंकारको बढोत्तरीमा सघाउ पुर्याउँछन् । केही समय अघि भएका अध्ययनहरुले यस सम्भावना प्रति संकेत गरेका छन् । जसमा बैंकरहरुमा पेसामा बिताएको समयसँगै अति आत्मविश्वासको तह पनि बढ्दै गएको देखिन्छ । तर, चेङले सो कुरालाई प्रयोगशालामै पुष्टि गर्ने प्रयास गरिन् ।
सो कुराको परीक्षण गर्न उनले व्यक्तिहरुलाई दुई चरणको परीक्षण अध्ययनमा सहभागी गराइन् । पहिलो चरणमा सहभागीहरुलाई एक्लाएक्लै राखेर मानिसहरुको विभिन्न भाव भंगिमा भएको फोटो हरेर सो फोटोमा भएको अभिव्यक्तिलाई मूल्यांकन गर्न भनियो । सो काममा मानिसहरुले सापेक्षित सफलता नै हासिल गरे अर्थात् उनीहरुले फोटोमा देखिएको अभिव्यक्तिलाई सही रुपमा पहिचान गरे । त्यसपछि सहभागीहरुलाई बाँकी समूहसँग आफ्नो क्षमताको बारेमा मूल्यांकन गर्न भनियो । फेरि त्यही कार्यलाई जोडी–जोडी बनाएर गराइयो ।
यस पटक के पाइयो भने नम्र खालका सहभागीलाई आत्मविश्वासी सहभागीसँग जोडी बाँधिदिँदा उनीहरुले पनि आफ्नो मूल्यांकनलाई बढाउने रहेछन् । ‘यो बडो गजब कुरा थियो,’ चेङ भन्छिन् । दोस्रो चरणको अध्ययन झन् रोचक थियो । यस पटक व्यक्तिको फोटो हेरेर उनको वजन पत्ता लगाउनुपर्ने थियो । यस पटक जोडी बाँधिएन । बरु सहभागीहरुलाई अरु सहभागीको उत्तर उदाहरणको रुपमा दिइयो ।
वास्तवमा सहभागीलाई झुटो उदाहरण दिएर अध्ययन गरिएको थियो । जसले गर्दा भ्रममा परेको व्यक्तिको पहिचान सहज होस् भन्ने उद्देश्य थियो । यहाँ सहभागीले अरु सहभागीको उत्तर तथा प्रस्तुतिलाई चेतावनी वा शंकाको रुपमा हेनुपर्ने थियो तर उनीहरु त्यसैको नक्कलमा लागे । कुनै अतिशय आत्मविश्वासी व्यक्तिसँगको सम्पर्कमा पुग्दा व्यक्तिको मूल्यांकनको तह १७ प्रतिशतले बढेको देखियो । थप प्रयोगहरुमा चेङले के पक्कापक्की गरिन् भने, एकजनाको अति आत्मविश्वास अर्को व्यक्तिमा पनि सर्न सक्छ र एकल स्रोतबाट आएको आतिशय आत्मविश्वास एक व्यक्ति अर्को व्यक्ति गर्दै पूरा समूहमा फैलिन सक्छ ।
यो भरिएर पोखिने शैलीलाई प्रोफेसर चेङले डकुमेन्टमा उतारेकी छन्, त्यो के भने तपाईं एउटा क्षेत्रमा अति आत्मविश्वासी देखिनुभयो भने अर्को क्षेत्रमा पनि अहंकारीका रुपमा प्रस्तुत हुन सक्नुहुन्छ । स्थिति कतिसम्म बिग्रन सक्छ भने आज पलाएको अति आत्मविश्वासको प्रभाव केही दिनपछिसम्म पनि देखिन सक्छ । अध्ययनबाट आएको निष्कर्षले जेल प्रभावित छिन् ।
उनी भन्छन् ‘मलाई लाग्छ यो अनुसन्धान रमाइलो र राम्रोसँग सम्पन्न भएको छ । यसले हामीलाई अति आत्मविश्वासको उत्पत्ति बुझ्न तथा किन यो कुनै समूहमा हावी छ भन्ने बुझ्न मद्दत गर्छ । उनको आकलन छ कि यो सामाजिक रीतिबाट निर्माण भएको हो । ‘अरुका अगाडि आत्मविश्वासको व्यवहार देखाउँदा यसले सांस्कृतिक रुपमा महत्व बढेको वा उपयुक्त भएको दर्शाउँछ ।’
रहस्यमयी संयन्त्र
चेङको अध्ययनको परिणाम अन्य धेरै अध्ययनसँग समान छन्, जुन हाम्रोआफ्नै साझा घटनाको स्मृति, सुन्दरता वा राजनीतिप्रतिको हाम्रो धारणा अनुरुप छन् । ‘तपाईं जोसँग हिमचिम गर्नुहुन्छ उसको व्यवहार र कार्यशैली तथा सोच्ने शैली ग्रहण गर्ने सम्भावना उच्च हुन्छ,’ चेङ भन्छिन् ।
कार्यस्थलमा त्यस्तो किन हुन्छ भन्ने बुझ्न सजिलो हुन्छ । ‘मान्नुस् तपाईं एउटा बैंकर हुनुहुन्छ । तपाईं काममा प्रवेश गर्दा क्षमता तथा ऊर्जाले युक्त हुनुहुन्छ । जति जति तपाईं सो वातावरणमा घुलमिल हुँदै जानु हुन्छ, तपाईं के देख्नु हुन्छ भने मान्छेहरु आत्मविश्वासी बखान गर्छन्, र उनीहरुमा कसरी कुरा गर्ने, कसरी व्यवहार गर्ने भन्ने पनि आत्मविश्वास देखिन्छ ।
अनि तपाईं पनि कालान्तरमा ती व्यक्तिको प्रतिरुप बन्नुहुन्छ,’ उनी भन्छिन् । उनले आफ्नो अध्ययनमा ऊर्जा उत्पादक कम्पनी एनरोनलाई कसरी एउटा कम्पनीमा भएको गतिशीलता व्यापक रुपमा फैलिन्छ भन्ने उदाहरणको रुपमा लिएकी छन् ।
एनरोन कुनै बेला अमेरिकाको सातौं ठूलो कम्पनीको रुपमा थियो र तर सन् २०११ मा आइपुग्दा यो टाट पल्टियो र घोटाला र भ्रष्टाचारका लागि कुख्यात भयो । एनरोनका एक पूर्व कर्मचारीले के भनेका छन् भने, ‘एनरोनका कर्मचारीहरु अहंकारी सोचयुक्त थिए कि भन्ने प्रश्नै आउँदैन किनभने उनीहरु त अरु सबैभन्दा चलाख थिए ।’ त्यसैले एनरोनको ‘अहंकारको संस्कृति’ अहिले कुख्यात बनेको छ ।
‘हाम्रो अध्ययनमा के देखियो भने अति आत्मविश्वासको केही दोष सामाजिक संक्रमणको प्रभावका कारण थियो,’ चेङ भन्छिन्, ‘जसले गर्दा धेरै व्यक्तिहरुले शंकास्पद कदम उठाए र अन्नतः पतनको बाटोमा पुगे ।’ यी परिणामहरुलाई प्रस्तुत गरिसकेपछि चेङको सुझाव के छ भने संस्थाहरुले आफ्ना कर्मचारीको कस्तो खालको व्यवहारलाई प्रश्रय दिइरहेका छन् भन्ने कुरामा पुनर्विचार गर्नुपर्छ । ‘अगुवा तथा व्यवस्थापकहरुले अन्य व्यक्तिमा पर्नसक्ने प्रभावको बारेमा सचेत हुन जरुरी छ किनभने उनीहरुको आत्मविश्वास सजिलै अन्य व्यक्तिमा सर्छ ।’
यी निष्कर्षहरुले हामीलाई निर्णय प्रक्रिया कसरी हुने रहेछ भन्ने पनि संकेत गर्छ । समूहका शान्त प्रकृतिका व्यक्तिले आफू यथार्थवादी हुनुभन्दा आत्मविश्वास गुमाउन पनि सक्छन् । ‘उनीहरुले समूहलाई यथार्थमा फर्कन मद्दत गर्न सक्छन् ।’
(बिबिसीमा आवद्ध डेभिड रब्सन विज्ञान विषयमा कलम चलाउँछन् । उनको ‘द इन्टेलिजेन्ट ट्रयाप : ह्वाइ स्मार्ट पिपुल मेक डम मिस्टेक’ पुस्तक प्रकाशित छ ।)