भाषा शर्मा, काठमाडौं, २५ साउन । देशभरका कारागारहरूमा कैदी बन्दीहरूको संख्या क्षमताभन्दा निकै बढी हुँदा सुरक्षा र प्रशासनिक चुनौतीहरू व्यापक देखिन थालेका छन् । विशेषगरी कैलाली कारागारको पछिल्लो झडपले यस समस्यालाई पुनः उजागर गरेको छ, जहाँ तीन दिनसम्म सुरक्षाकर्मीले भित्र पस्न निरीह भएर कैदीबन्दीको स्वीकृति पर्खिनुपरेको थियो ।
कारागार व्यवस्थापन विभागको तथ्यांकअनुसार कैलाली कारागारमा क्षमताभन्दा लगभग तीन गुणाभन्दा बढी ६८६ जना कैदी बन्दी छन् भने कारागारको क्षमता २३५ जना मात्र हो । त्यहाँ गत शुक्रबार राति कैदीबन्दीका दुई समूहबीच भएको हिंसात्मक झडपमा धनगढी–४ का भरत चौधरीको मृत्यु भएको थियो । चौधरी लागूऔषध मुद्दामा थुनामा थिए । यो घटना पहिलो होइन, विगत वर्षमा पनि त्यस्तै झडप भएका थिए ।
यस्तै, साउन ४ मा सिरहा जिल्ला कारागारमा पनि कैदीबन्दीबीच झडप हुँदा १३ जना घाइते भएका थिए । त्यहाँको क्षमता १५० भए पनि ४५७ कैदी छन् । झडपको मुख्य कारण कारागारभित्र आन्तरिक प्रशासनको नाइके तोक्ने विषयमा विवाद रहेको बताइन्छ ।
देशकै सबैभन्दा पुरानो र ठूलो कारागार मानिने केन्द्रीय कारागार सुन्धारामा समेत कैदीबन्दीका समूहहरूबीच झडप हुने गरेको छ । २०८१ साउन १६ मा खोटाङ कारागारमा भएको झडपमा नाइके र कैदी दुवै घाइते भएका थिए भने २०८० पुस १५ मा बाँकेको बालसुधार गृहमा पनि दुई समूहबीच हिंसात्मक झडप भएको थियो ।
महान्यायाधिवक्ता कार्यालयले पाँच वर्षअघि प्रकाशित ‘हिरासत तथा कारागार अनुगमन प्रतिवेदन २०७६’ मा देशभरका ३७ हिरासत र २४ कारागारहरूको अध्ययन गरेर कारागारहरूमा क्षमताभन्दा धेरै थुनुवाहरू राखिने, भौतिक संरचना कमजोर हुने, खाट र उपचारको अभाव हुने लगायत धेरै समस्याहरू देखाएको थियो । त्यतिबेला सरकारलाई यी समस्याको जानकारी दिए पनि खासै प्रभावकारी सुधार भएका देखिदैन ।
प्रतिवेदनमा उल्लेख छ कि धेरै कारागारमा दैनिक सात सय ग्राम चामल र ६० रुपैयाँ ज्याला पर्याप्त नहुने, कैदीहरूको जरिवाना कटौती रकम पनि कम हुने हुँदा उनीहरूको आधारभूत आवश्यकता पूरा गर्न कठिनाइ छ । त्यस्तै, कैदीलाई औपचारिक शिक्षा, साक्षरता र सीप विकास कार्यक्रम नहुँदा पुनर्संयोजनको अवसर कट्दै गएको छ ।
कारागार व्यवस्थापन विभागका सूचना अधिकारी सन्देशप्रसाद जोशीले पनि कैदी अधिकताको विषयमा ‘वैज्ञानिक मापदण्ड नहुँदा समस्या हुने गरेको’ स्वीकारेका छन् । पुराना कारागारहरूमा क्षमता बढाउँदै लगिएको भए पनि मानवीय आवश्यकताको न्यूनतम मापदण्ड पूरा हुने गरी व्यवस्थापनको कठिनाइ रहेको उनले बताए ।
कति जनाको क्षमता भन्ने वैज्ञानिक मापदण्ड निर्क्यौल नभएको जोशी बताउँछन् । ‘कारागारहरु पुराना हुन् । बीचमा क्षमता बढाउँदै गएको हो,’ उनी भन्छन्, ‘हरेक कारागारमा न्यूनतम रुपमा बस्ने, खाने, सुत्नका लागि व्यवस्था छ । न्यूनतम मानवअधिकारको व्यवस्था पूरा गरिएका छन् ।’ कुन कारागारमा कति क्षमता भन्ने बारेमा वैज्ञानिक आधार र मापदण्ड भने सरकारले बनाउन नसकेको उनको भनाइ छ । कैलालीको घटनाबारे अनुसन्धानपछि धारणा सार्वजनिक गर्ने जोशीले बताए । कारागारहरुमा झडप, असुरक्षा बहसको विषय भएकाले यसलाई अध्ययन गर्नुपर्ने उनको भनाइ छ ।
देशभर ७४ वटा कारागार छन्, जसमा हाल २८ हजार ७१८ कैदीबन्दी छन् । तीमध्ये १५ सय ५० महिला छन् भने विदेशी कैदीबन्दीमध्ये अधिकांश भारतीय नागरिक छन् । सबैभन्दा धेरै कैदी काठमाडौंको जग्गनाथदेवल कारागारमा छन्, जहाँ १५ सय क्षमतामा ३७ सय ७१ कैदी छन् । दोस्रो ठूलो सुनसरीको झुम्का कारागारमा पनि १६ सय क्षमतामा १७ सय ९७ कैदीबन्दी राखिएका छन् ।
अन्य उदाहरणहरूमा झापामा ७९० जनाको क्षमतामा १५ सय ७०, पर्सा १३ सय ३० जनाको क्षमतामा १३ सय १०, ललितपुरको नख्खु ७०० जनाको क्षमतामा १२ सय ९२, विराटनगरको मोरङ कारागार ४ सय ७५ जनाको क्षमतामा ११ सय ७, बाँके ३०० को क्षमतामा ७ सय ३१ कैदी, नुवाकोटमा ७२९ जना छन् भने ६ सय ४० क्षमताको कास्कीमा ६९५ कैदीबन्दी राखिएका छन् ।
अधिकारीहरूका अनुसार, क्षमताभन्दा बढी कैदीबन्दी हुँदा झडप, आन्तरिक विवाद र सुरक्षामा समस्या स्वाभाविक बढ्छ । कारागारमा कैदी र थुनुवालाई अलग गर्ने, कम उमेरका कैदीलाई छुट्टै राख्ने व्यवस्था नहुँदा पनि समस्या झन् जटिल हुने गरेको छ । मुलुकी अपराध संहिताले केही अपराधमा आजीवन कारावासको व्यवस्था गरेकाले ती कैदीलाई छुट्टै संरचना वा विशेष कक्ष बनाउनुपर्ने आवश्यकता छ । तर हाल अधिकांश कारागारमा त्यो व्यवस्था छैन ।
कारागार व्यवस्थापन विभाग र महान्यायाधिवक्ता कार्यालयले नियमित रूपमा कारागार निरीक्षण र सुझाव दिने गरेको भए पनि सरकारको तर्फबाट ती सुझावहरू कार्यान्वयनमा ल्याउन कमजोरी देखिएको छ । यसले कैदीहरूको मानवअधिकार र सुरक्षामा जोखिम निम्त्याइरहेको छ ।
कारागारहरूलाई सवारीसाधनको अभावका कारण कैदीलाई उपचार र अदालत उपस्थितिमा लैजान समेत समस्या छ । यो कुराले समयमै न्यायिक प्रक्रिया र स्वास्थ्य सेवामा अवरोध पुर्याएको छ ।
के गर्नुपर्छ ?
- नयाँ र आधुनिक भवन निर्माण गरी पुराना र क्षमताभन्दा बढी प्रयोगमा रहेका कारागारहरूमा लोड घटाउन आवश्यक छ ।
- कैदीको उमेर, अपराधको प्रकृति र सुरक्षा संवेदनशीलता अनुसार वर्गीकरण गरी अलग कक्ष वा सुविधा उपलब्ध गराउनुपर्छ ।
- कैदीहरूको खाद्यान्न, स्वास्थ्य, शिक्षा र रोजगारका अवसरहरू सुनिश्चित गरी पुनर्संयोजन (रिह्याबिलिटेसन) को कामलाई प्राथमिकता दिनुपर्छ ।
- सरकारले महान्यायाधिवक्ता र कारागार व्यवस्थापन विभागले दिएका सुझावलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्छ ।
- कैदीबन्दीको संख्या नियन्त्रणका लागि वैकल्पिक सजायका उपायहरू (जस्तै सजाय परिपालना केन्द्र, म्याद थप नगर्ने) लाई प्रवर्धन गर्नुपर्छ ।
४० घण्टापछि बल्ल सुरक्षाकर्मी भित्र पस्न पाए
निराजन परियार, कैलाली, २५ साउन । कैलाली कारागारमा हिंसात्मक झडपको ४० घण्टापछि सुरक्षाकर्मी भित्र पसेका छन् । आइतबार दिउँसो मात्रै कैदीबन्दीले प्रहरीलाई भित्र पस्न दिएका हुन् ।
गत शुक्रबार राति भएको हिंसात्मक झडपपछि शनिबार कैदीबन्दीले घाइतेलाई उपचारका लागि बाहिर निकाले पनि प्रहरीलाई भित्र पस्न दिएका थिएनन् । मानवअधिकार आयोगका प्रतिनिधि भने पसेर अवस्थाको जानकारी लिएका थिए ।
कारागार प्रशासनका अनुसार सुरक्षाकर्मीले भित्रको अवस्था अवलोकन र कैदीबन्दीको संख्या गणना गरेका छन् । भित्र हिंसात्मक झडपको खबर पाएदेखि आत्तिएका कैदीबन्दीका आफन्त शनिबार नै बाहिर भेला भएका थिए । आइतबार मात्रै उनीहरूले पनि भेटघाटको मौका पाएका छन् ।
शुक्रबार राति भएको झडपमा एकजनाको मृत्यु भएको थियो भने ४९ जना घाइते भएका थिए । घाइतेको प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । कैलालीको गौरीगंगा चौमालाकी बिरमा बुढाका छोरा कारागारमा छन् । भित्र झडप भएको सुनेर उनी चिन्तित थिइन् । छोरा सकुशल रहेको जानकारी पाएपछि बल्ल ढुक्क भएको उनले बताइन् ।
शुक्रबार राति ब्लक ‘ए’मा रहेको समूहले भित्ता फुटाएर ब्लक ‘बी’ मा रहेकाहरूमाथि आक्रमण गरेका थिए । घटनामा सख्त घाइते धनगढी–४ का भरत चौधरीको मृत्यु भएको थियो । घाइतेमध्ये गोदावरीका आयुश भट्टलाई उपचारार्थ काठमाडौं लगिएको छ भने दुई जना सेती प्रादेशिक अस्पतालको आईसीयूमा छन् ।
यसैबीच कैदीबन्दीको संख्या पुनः गणना गरिएको कारागार प्रशासनले जनाएको छ । मानवअधिकार आयोगका प्रतिनिधिसंगै कारागार प्रशासन, नेपाल प्रहरी, सशस्त्र प्रहरी भित्र पसेर कैदीबन्दीको संख्या यकिन गरिएको हो ।
गणनाअनुसार पुरुष राखिएका ब्लक ‘ए’मा ३९६, ‘बी’मा १९८ र महिला ब्लकमा ५७ जना छन् । शनिबारको आक्रमणमा घाइते भएकाहरूको संख्या ४८ रहेको कारागार प्रशासनले जनाएको छ । शनिबार एक जनाको मृत्यु भएको समेत गरी कारागारमा ७०० जना कैदीबन्दी थिए । आइतबार गणना गर्दा संख्यामा तलमाथि नदेखिएको पाइएको छ ।